Main Menu

टर्कीको वामपन्थी जुलुसमा आतंककारी हमला

अङ्कारा बम हमलामा ८६ को मृत्यु

बम बिस्फोटनको लगतै अङ्काराको सडक

बम बिस्फोटनको लगतै अङ्काराको सडक

असोज २४, काठमाडौं । टर्कीको राजधानी अङ्कारामा शनिवार बिहान दुई सेकेण्डको बीचमा दुई शक्तिशाली बम बिस्फोटनमा ८६ जनाको मृत्यु भएको छ भने १ सय ८६ भन्दा बढी गम्भीर घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार रेलवे स्टेसन नजिक गरिएको उक्त बम हमला सरकार र कुर्दिस बिद्रोहीहरुबीच वर्षौंदेखि चलिरहेको युद्धको विरोधमा टर्कीका वामपन्थीहरुले गरेको जुलुसमाथि गरिएको थियो । टर्कीको इतिहासमै ठूलो मानिएको यस बम हमला आत्मघाती भएको तर अहिलेसम्म त्यसको जिम्मेवारी कसैले लिइनसकेको समाचारहरुमा जनाइएको छ ।

टर्की सरकारले बम विस्फोटनलाई आतङ्ककारी हमला भनेको छ र उसले त्यस हमलालाई भत्सर्ना गरेको छ । बम हमला लगतै टर्किस प्रधानमन्त्री अहमेट दाभुटोग्लुले सरकारी अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरु बोलाई आपतकालीन बैठक गरे ।

बम बिस्फोटनपछि सडकमा छरिएका लाशहरु

बम बिस्फोटनपछि सडकमा छरिएका लाशहरु

प्रत्यक्षदर्शीलाई उध्दृत गर्दै लण्डनबाट प्रकाशित हुने गार्जियन अनलाइन पत्रिकाले बम हमला स्थानीय समयअनुसार बिहान १० बजे भएको जनाएको छ । त्यस अनलाइनका अनुसार बम बिस्फोटन त्यस्तो ठाउँमा गराइयो जहाँ सयौंको सङ्ख्यामा मानिसहरु शान्ति जुलुस सुरु गर्न भेला भइरहेका थिए । टर्की सरकारले आतङ्ककारी हमलाको संज्ञा दिएको उक्त बम विस्फोटनलाई टर्कीस राष्ट्रपति टेयिप इर्डोगनले घोर भत्सर्ना गर्नुका साथै त्यो हमला टर्की देशको एकता र शान्तिबिरुद्धको हमला भएको बताए । उनले भने, ‘म टर्कीको एकता र शान्तिमाथि गरिएको यो अति कठोर हमलाको घोर भत्सर्ना गर्दछु । यस घटना कसले गरायो, कुन उद्देश्यले गरायो र के नाममा गरायो भन्ने कुरासँग म कुनै सरोकार राख्दिन । हामी कुनै पनि आतङ्ककारी हमला र सङ्ठनको विरुद्धमा छौं ।’

टर्कीमा आगामी नोभेम्वर १ तारिखमा संसदीय निर्वाचन हुँदैछ । निर्वाचन नजिक आतङ्ककारी हमला हुनुले यसको गम्भीर नकारात्मक असर त्यस निर्वाचनमा पर्ने विश्लेषण गरिएको छ । राष्ट्रपति इर्डोगनले आतङ्ककारीको पक्षमा नलाग्न आम जनतालाई आह्वान गरेका छन् । त्यस्तै गरी उनले दोषीमाथि कानुन अनुसार कार्वाही गर्ने र पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता जनाए ।

टर्कीका कुर्दहरुले टर्कीको सिमानासँग जोडिएका सिरिया र इराकको भूमिमा रहेका कुर्दहरुसित मिलेर छुट्टै कुर्दिस्तान राज्य स्थापनाका लागि सन् १९८४ देखि युद्ध लड्दै आएका छन् । नेटोको सदस्य हुनुको नाताले टर्कीलाई कुर्दहरु बिरुद्ध युद्ध लड्न युरोपियन युनियन र अमेरिकाले सैन्य सहयोग गर्दै आइरहेका छन् । र, युद्धमा अहिलेसम्ममा ४० हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । टर्कीका जनता युद्धबाट वाक्क भइसकेका छन् र उनीहरु कुर्दिस्तानका लागि लडिरहेको कुर्दिस्त पार्टी पिकेके र टर्की सरकारबीच वार्ता भई शान्ति स्थापना होस् भन्ने चाहना राख्दछन् । र, त्यसका लागि उनीहरु सरकार तथा कुर्द बिद्रोही दुबैलाई दबाव दिन चाहन्छन् । त्यस दबावको अगुवाई टर्कीका वामपन्थीहरुले गरिरहेका छन् । शनिवारको शान्ति जुलुस त्यसैको एक हिस्सा थियो ।

समाचारमा जनाइए अनुसार बम बिस्फोटनमा परी मर्नेहरुको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ । टर्कीको इतिहासमै ठूलो दुःखद् घटनाको रुपमा लिइएको यस बम विस्फोटनमा परेर निधन भएकाहरुको सम्झनामा टर्की सरकारले तीन दिन शोक मनाउने घोषणा गरेको छ ।

(Visited 286 times, 1 visits today)

टिप्पणी

comments