Main Menu

गरिब र श्रमिक वर्गको राष्ट्रपति मदुरोप्रतिको समर्थन जारी

नाकाबन्दीले ल्याएको भेनेजुएलाको संकट

भाद्र २६, काराकास, भेनेजुएला

राष्ट्रपति निकोलस मदुरोको समर्थनमा भेनेजुएलाको राजधानी काराकासको सडकमा भेनेजुएलिन जनता ।

भेनुजुएलामा अहिले चरम आर्थिक संकट भएको र यसको सम्पूर्ण जिम्मेवार त्यहाँको समाजवादी सरकार रहेको अहिले पश्चिमा मिडियाहरुले प्रचार गरिरहेका छन् । अनलाइन मिडिया र टेलिभिजनहरुमा हजारौं भेनेजुएलिनहरु देश छाडी छिमेकी देशहरुमा आश्रयका लागि भागिरहेको समाचार र दृश्यहरु आइरहेका छन् । तर, गैर पश्चिमा मिडियाहरुले पश्चिमाहरुको प्रचार भन्दा फरक तथ्यहरु अहिले बाहिर ल्याएका छन् ।

अरबी टेलिभिजन अलजजिराकी रिपोर्टर एन्डी ग्यालाचरले राजधानी काराकासबाट केही समयपहिले प्रसारित गरेको समाचार अनुसार चरम आर्थिक संकटको बावजुद पनि भेनेजुएलिन गरिब तथा श्रमिक जनताले समाजवादी राष्ट्रपति निकोलस मदुरो र उहाँको सरकारलाई समर्थन गर्दछन् । उनी भन्छन्, ‘कठिनाइ महसुस गर्नेहरु धेरै जसो मध्यम वर्गका हुन् । तर, भेनेजुएलाका गरिबहरु अझै सरकारलाई समर्थन गर्दछन् । उनीहरुका लागि राष्ट्रपतिहरु हुगो चाभेज र निकोलस मदुरोले बैदेशिक हैकमविरुद्ध उन्नाइसौं शताव्दीमा सिमोन बोलिभारले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिइरहेका छन्’ ।

अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुका अनुसार भेनेजुएलाको सत्तासिन राजनीतिक दल ‘युनाइटेड सोसियलिस्ट पार्टी अफ भेनेजुएला, पिएसयुभि’को नेतृत्वमा रहेको समाजवादी सरकारलाई असफल बनाई त्यहाँको समाजवादी कार्यक्रमलाई ध्वस्त बनाउनका लागि अमेरिकाले गरेको आर्थिक नाकाबन्दीको कारणले अहिलेको आर्थिक संकट गहिरिएको हो । भेनेजुएलाको मुख्य राष्ट्रिय उत्पादन तेल हो । र, उसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो तेल बिक्री गरेर मुलुकलाई चाहिने खाद्यान्न, औषधीलगायतका दैनिक उपभोग्य वस्तुहरु आयात गर्दछ । तर, अमेरिकी नाकाबन्दीको कारणले न उसले पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न सकेको छ, न त आफ्ना जनताको आधारभूत आवश्यकता पूर्तिका लागि खाद्यान्न, औषधी तथा अन्य दैनिक उपभोग्य वस्तुहरु आयात गर्न सकेको छ । त्यसले गर्दा बजारमा उपभोग्य वस्तुहरुको चरम अभाव हुन पुग्यो भने राष्ट्रिय मुद्रा हजारौं गुणामा अबमुल्यन हुन पुग्यो । अहिले मुद्रास्फितीको चरम समस्यालाई समाधान गर्न राष्ट्रपति मदुरोले नयाँ किसिमको मुद्रा नयाँ मुल्यमा जारी गर्नुभयो । तर, त्यसले पनि मुद्रा स्फितीलाई न्युनीकरण गर्न सकेको छैन । यति हुँदाहुँदै पनि भेनेजुएलिन गरिब एवं श्रमिक जनताको समर्थन भने राष्ट्रपति निकोलस मदुरोप्रति नै रहेको अलजजिराले जनाएको छ ।

वर्ड सोसियलिस्ट वेभ साइट, डब्लुएसडब्लुएसले जनाए अनुसार अहिले अमेरिकाले भेनेजुएलाको वर्तमान समाजवादी सरकारलाई सैनिक ‘कू’ गरी ढाल्नका लागि गोप्य योजनाहरु बनाइरहेको छ । केही समयअगाडि पनि राष्ट्रपति मदुरोको सरकारलाई अपदस्थ गर्न भेनेजुएलाका दक्षिणपन्थी पुँजीवादी विपक्षीहरुलाई हिँसात्मक सडक आन्दोलन गर्न अमेरिकाले उक्साएको थियो । त्यस आन्दोलनमा विपक्ष पार्टीहरुले आफ्ना सयौं भिजिलान्ते गुण्डाहरुलाई सार्वजनिक सम्पत्ति नष्ट गर्न आगो लगाउने र प्रहरीहरुमाथि हिंसात्मक आक्रमण गर्न लगाई मुलुकभरि अराजक फैलाउने प्रयास गरेका थिए । तर, ती सबै प्रयासहरु भेनेजुएलाका गरिब तथा श्रमिकहरुको सरकारप्रति समर्थनको आन्दोलनले निस्तेज भए । त्यस्तै गरी गत अगस्तमा एक सार्वजनिक कार्यक्रममा उपस्थित राष्टपति मदुरोमाथि ड्रोन हमला गरी हत्या गर्ने प्रयास पनि गरियो । तर, त्यस असफल आक्रमण लगतै हजारौं भेनेजुएलिन जनता सडकमा उत्रेर राष्ट्रपति मदुरोको समर्थनमा प्रदर्थनमा उत्रे । अहिले भेनेजुएलामा चरम आर्थिक संकट छ, तर भेनेजुएलिन जनता अमेरिकासँग नझुक्ने प्रण गर्दै त्यस संकटलाई झेलिरहेका छन् । अमेरिकी ट्रम्प प्रशासनको साम्राज्यवादी नीतिका कारणले भेनेजुएलाले अहिले भोग्नुपरिरहेको चरम आर्थिक संकट टार्न भेनेजुएलाका समाजवादीहरुलाई विश्व समुदायको सहयोग र समर्थनको खाँचो छ ।

(Visited 206 times, 1 visits today)

टिप्पणी

comments