Main Menu

क्यानाडामा बन्दुक आक्रमण, दुईको मृत्यु १२ घाइते

साउन ७, टोरोन्टो, क्यानाडा
उत्तरी अमेरिकी देश क्यानाडाको सबभन्दा ठूलो शहर टोरोन्टोको एक फराकिलो व्यस्त सडकमा गए राती एकजना बन्दुकधारीले भिडमाथि अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको स्थिति गम्भीर भएको बिबिसिले जनाएको छ ।

समाचारमा जनाइए अनुसार आक्रमणकारी बन्दुकधारी पनि मारिएका छन् । तर, उनी प्रहरी कार्वाहीमा मारिएको वा अरु कसैद्वारा मारिएको वा उनले आफै आत्महत्या गरेको हो खुल्न आएको छैन । आक्रमण टोरोन्टो शहरको डानफोर्थ सडकमा आइतवारको साँझ सडकमा हिँडिरहेका मानिसहरुमाझ भएको जनाइएको छ ।

प्रत्यक्ष देख्नेहरुका अनुसार सुरुमा कालो टोपी र कालै लुगा लगाएको गोरो वर्णका एकजना मानिस हतारहतार सडक क्रस गर्छ र झोलाबाट बन्दुक झिकेर भटाभट सडकका मानिसहरुलाई हान्छ । वरपरका रेस्टुरेन्टहरुमा कफि खाइरहेका मानिसहरुले गोलीको आवाज सुन्छन् र सबैको भागाभाग हुन्छ । कोही सडकमा त्यतिकै ढल्छन् भने कोही सडकमा केहीमा अल्झिएर ढल्छन् । गोली लागी मर्ने दुईजना, घाइते हुने १२ जना र अन्य सबै नै आइतवार साँझको रमाइलो मनाइरहेका मानिसहरु भएको समाचारमा जनाइएको छ । आक्रमणकारीले किन गोली चलायो ? उसको उद्देश्य के थियो ? केही प्रष्ट भइसकेको छैन ।

क्यानाडामा छिमेकी संयुक्त राज्य अमेरिकाको तुलनामा अत्यन्त न्यून मात्रामा मात्र बन्दुक आक्रमण हुने गरेको आंकडाले देखाउँछ । तर, सन् २०१४ यता भने त्यो आँकडा क्रमशः बढ्दै आएको छ ।

क्यानाडामा संयुक्त राज्य अमेरिकामा झैं बजारमा सजिलै बन्दुक किन्न पाइन्छ । र, बन्दुक साथमा राख्ने मानिसहरुको सङ्ख्या पनि ठूलो छ । बन्दुक सहज उपलब्ध गराउन मिल्ने नमिल्ने बहस क्यानाडमा चर्को छ । प्रधानमन्त्री जस्टिन त्रुडिउको सत्ताधारी लिबरल पार्टी बन्दुक राख्न अनुज्ञा दिनुअगाडि व्यक्तिको पृष्ठभूमि र इतिहासलाई कडा रुपमा चेक गर्न चाहन्छ । अनुज्ञा माग गरेको व्यक्ति स्वयंको र उसको परिवारसँग हिँसाको इतिहास छ छैन हेरिनुपर्ने उनीहरुको माग छ । तर, बन्दुक वितरणमा कडा नीति अझै सरकारले लिन सकेको छैन । अहिलेको घटनाले क्यानाडामा बन्दुकको नीतिलाई कडा गर्ने मतलाई बढाउला कि नबढाउला भन्ने सवालको टुङ्गो भविष्यले नै बताउला ।

(Visited 153 times, 1 visits today)

टिप्पणी

comments