Main Menu

सेनाको विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

army-airplane-accident-pilot-deadजेष्ठ १६, भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।

अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।

सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,” भाटले भने । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ । नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायब निरीक्षक भाटले बताए ।

(Visited 85 times, 1 visits today)

टिप्पणी

comments