Main Menu

उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा…

candidate-forgets-symbolजेष्ठ १६, भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो ।

राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए–मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ ।

वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना– ८ गते बिहान सम्पन्न भयो । तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सकेनन् । श्रेष्ठको चुनाव चिन्ह थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलका अनुसार चुनाव चिन्ह ब्याडमिन्टन र कर्कमा एक मत पनि आएन ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत भक्तपुरका चार नगरपालिकामा सम्पन्न निर्वाचनमा शून्य मत प्राप्त गर्ने बाबुकृष्ण श्रेष्ठ एक प्रतिनिधि पात्र मात्र होइन । उनीजस्तै एक मत पनि प्राप्त नगर्ने अरु पनि उम्मेदवार छन् । सो नगरपालिकाको प्रमुखका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने उपप्रमुखमा ६ जनाले ।

उक्त नगरपालिकामा शून्य मत प्राप्त गर्ने अर्का नगर प्रमुख पदका उम्मेदवार रोमन बज्राचार्य पनि छन् । उनको चुनाव चिन्ह चमेरो थियो । बज्राचार्यले निर्वाचनको प्रचारप्रसारको क्रममा कतै पनि आफ्नो प्रचार सामग्री समेत राखेनन् । निर्वाचनमा आफैंले आफूलाई मत नदिनुको कारणबारे उनीसँग प्रतिक्रिया माग्दा बोल्न चाहेनन् ।

बज्राचार्यले यसलाई समाचार बनाउनुपर्ने र यस बारेमा कुनै प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको बताए । त्यसैगरी मध्यपुर थिमिको वडा नं– ७ का वडा अध्यक्ष पदका कङ्गारु र गमबुट चिन्हका उम्मेदवारले पनि शून्य मत पाएका थिए ।

मध्यपुर थिमिमा १० भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको सङ्ख्या नगरप्रमुखमा २ जना, वडा अध्यक्षमा ११ र वडा सदस्यमा ३५ जना छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नगरप्रमुखका उम्मेदवार बिरालो चिन्हका महाप्रसाद पराजुलीले एक, ब्याट्री चिन्हका सरिता दुवाले दुई मत प्राप्त गरेका थिए । निर्वाचनमा १० भन्दा कम मत ल्याउने वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार अधिकांश राष्ट्रिय जनमोर्चा, नेकपा माले र सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनका उम्मेदवार रहेका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिकामा शून्य मत ल्याउने उम्मेदवारको सङ्ख्या ११ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार भक्तपुर नगरपालिकाका वडा अध्यक्षमा उम्मेदवारी दिने १० जना र वडा सदस्यमा उम्मेदवारी दिने एक गरी कुल ११ उम्मेदवारले शून्य मत प्राप्त गरेका हुन् ।

कार्यालयले उपलब्ध गराएको विवरण अनुसार भक्तपुर नगरपालिका–२ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टि टेबल चुनाव चिन्हका सूर्यनारायण फाँजू, वडा नं. ३ का लसुन चुनाव चिन्हका हरिसुन्दर लवजू, ४ का जाँतो चुनाव चिन्हका विश्वराम त्वायना, ५ का ओखर चुनाव चिन्हका नारायणभक्त भेलेले शून्य मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नं– ६ का भूइँकटर चुनाव चिन्हका विद्यान धुसा, चुलेसी चुनाव चिन्हका पूर्णभक्त सुवाल, ७ का टडी चुनाव चिन्ह प्राप्त गरेका रोमश्वर प्रजापति, ८ का डाक्टर चुनाव चिन्हका कृष्णप्रसाद कोजू, ९ का सोली चनाव चिन्हका विष्णुभक्त कुसी र १० का ह्याट चुनाव चिन्हका भरतप्रसाद भद्राले शून्य मत प्राप्त गरेका हुन् ।

त्यसैगरी वडा नं– १० का वडा सदस्यका स्वतन्त्र उम्मेदवार मोहन कुमार ह्योगोजूले पनि शून्य मत प्राप्त गरेका छन् । उनको चुनाव चिन्ह बाघ थियो ।

(Visited 296 times, 1 visits today)

टिप्पणी

comments