Main Menu

भारतीय संस्थापन र मधेसी मोर्चाबीच अघोषित एकता !

नाकाहरुमा आयात–निर्यात करिब शून्य

संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु सिमानाका वीरगन्जमा धर्ना दिँदै

संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु सिमानाका वीरगन्जमा धर्ना दिँदै

असोज ९, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाली नाकाहरुमा भारतको कारणले नभई मधेसी आन्दोलनका कारणले मालवाहक गाडीहरु आउजाउ हुन नसकिरहेको बताए पनि उसले गत दुई दिनदेखि नाकाहरुमा अस्वभाविक सुरक्षा कडाइ गरी अवरोध खडा गरिरहेको व्यापारीहरुको भनाइ रहेको छ । अहिले भारतर्फबाट नेपाल भित्रिनका लागि नाकाहरुमा आइपुगेका अत्यावश्यक सामग्री बोकेका सयौं मालवाहक गाडीहरु भारतीय पक्षबाट भएको अस्वभाविक सुरक्षा जाँचको कारणबाट सीमावर्ती भारतीय शहरहरुमा अलपत्र परिरहेको कुरा नेपाली भन्सार अधिकारीहरुले बताएका छन् । दैनिक सयौं मालवाहक गाडी भारततर्फबाट नेपाल भित्रीने काकडभित्ता, जोगबनी, वीरगञ्ज, सुनौली–भैरहवा, नेपालगञ्ज आदि कुनै पनि नाकाबाट दुई दिन यता मुश्किलले दुई चारवटा मालवाहक गाडी नेपाल भित्रिएको बताइन्छ ।

समाचार अनुसार सुनौली–भैरहवा नाकामा भारतीय सुरक्षा जाँचकीले दैनिक मुश्किलले साना ठूला गरी १० वटा गाडीहरु मात्र नेपालतर्फ पठाइरहेको स्थानीय नेपाली भन्सार अधिकारीहरुको गुनासो रहेको छ । यसअघि गाडीको नम्बर प्लेट मात्र हेरेर पठाउने गरिरहेकाहरुले अहिले भने नानाप्रकारका जाँचको निहुमा एउटै गाडीलाई सुरक्षा जाँच गर्न एक डेढ घण्टा लगाउने गरेको बताइन्छ ।

उता पूर्वमा भारतीय सीमावर्ती शहर जोगबनीबाट विहीवार र शुक्रवार कुनै पनि मालवाहक गाडी नेपाल छिर्न नपाएको स्थानीय भन्सार अधिकारीहरु बताउँदछन् । ती अधिकारीहरुले जोगबनीमा अहिले नेपालतर्फ भित्रिन पाँच सयभन्दा बढी मालवाहक गाडीहरु लाइन लागेर बसिरहेको बताएका छन् ।

नाकाहरुमा आयात–निर्यातका मालवाहक गाडीहरु आउजाउमा भारततर्फबाट अवरोध खडा भइरहेको समाचार सार्वजनिक भइरहँदा शुक्रवार कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले काठमाडौंस्थित भारतीय राजदूत रणजित रेलाई परराष्ट्रमन्त्रालयमा बोलाई त्यसबारे छलफल गरेको राससले जनाएको छ ।

सिमानाकामा धर्ना बसेकाहरुबीच सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बल

सिमानाकामा धर्ना बसेकाहरुबीच सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बल

उता आन्दोलनरत मधेसवादी पार्टीका नेता–कार्यकर्ताहरुले वीरगन्जलगायत थुप्रै नाकाहरुमा धर्ना दिई भारतबाट नेपालमा र नेपालबाट भारतमा मालवाहक गाडीहरु आउजाउमा पूरै अवरोध गरिरहेका छन् । उनीहरुले यसअघिका मधेस आन्दोलनहरुको बेला सरकारले गरेका २२ बुँदे र ८ बुँदे सम्झौता पालना गर्ने बचन नदिँदासम्म कुनै हालतमा पनि आन्दोलन नरोक्ने बताएका छन् । सीमानाका तथा राजमार्ग केन्द्रित अवरोधका गतिविधिहरुबाट नै सरकार तथा सत्तारुढ दलहरुलाई झुकाउन सकिन्छ भन्ने रणनीतिमा उनीहरु लागेको बुझिन्छ । मधेस आन्दोलनलाई भारतीय सत्ता पक्षले खुला समर्थन गरेको र नेपाललाई अघोषित नाकाबन्दी गरी उनीहरुलाई सहयोग गरेकोमा मधेसी नेताहरु भारतीय सत्तालाई धन्यवाद दिन चाहिरहेका छन् । तर, गत असोज ५ गते सद्भावना पार्टीका कायकर्ताहरुले चीनको झण्डा जलाइदिँदा अहिले उनीहरु अप्ठेरोमा परेको जनाइन्छ ।

भारतीय पक्षबाट सीमानाकामा सुरक्षा जाँचमा अस्वभाविक कडाइ गरी आयात–निर्यातमा अवरोध खडा गर्ने र मधेसवादी पार्टीहरुले आफ्ना कार्यकर्ताहरुलाई धर्ना बस्न लगाई सीमानाका पूरै बन्द गर्ने प्रयत्न गर्नुले भारतीय सत्ता पक्ष र नेपाली मधेसवादी पार्टीहरुबीच अघोषित एकताको छनक मिलेको विश्लेषण गरिन्छ ।

(Visited 218 times, 1 visits today)

टिप्पणी

comments