Main Menu

बांगलादेशतर्फ जाँदै गरेका रोहिन्ज्या चढेको डुंगा दुर्घटना हुँदा १० बालबालिकासहित १२ को मृत्यु

असोज २३, ढाका

boat-accident-12-rohingya-die

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने क्रममा कम्तीमा १२ जना रोहिन्ज्याको ज्यान गएको छ ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर पार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ । 

कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित १ महिला र अर्का १ पुरुष गरी १२ जनाको शव भेटिएको बंगलादेशको प्रहरीले जनाएको छ । 

सो नदी किनारमा करिब ५ लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा त्यहाँ बसिरहेको जनाइएको छ । 

सोही शिवीरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ । 

गएको अगष्ट २५ देखि रोहिन्ज्याको बाहुल्यता रहेको म्यानमारको राखाइन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि अहिलेसम्म ती समुदायका १०० जनाभन्दा बढीको ज्यान गइसकेको एक अधिकारीले जनाएका छन् । यसरी भागेर नदी तर्ने क्रममा कतिपय सो नदीले बगाएकोले शव भेटिएको छैन ।

उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बंगदेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन् । 

उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै दाता समूह एवम् विश्व समुदायलाई बंगलादेशले आग्रह गरिरहेको छ । 

शरणार्थी शिविरमा हैजाको जोखिम कायमै 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिन्ज्या सुमदायका नागरिक रहेका शिवीरहरुमा हैजाको उच्च जोखिम अझै कायमै रहेको बताएको छ । 

म्यानमारबाट भागेर बंगलादेशमा आएका लाखौँ शरणार्थी बसेको सो शिवीरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले यसअघि नै गरेको थियो । तर अहिले पनि ती शिवीरमा स्वस्थ खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएकोले हैजाको प्रकोप फैलिनसक्ने खतरा अहिले पनि उच्च नै रहेको बताइएको छ । 

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी आसपासमा शिवीर बनाएर बसेका लाखौँ शरणार्थीले बडो कष्टपूर्ण जीवनयापन गरिरहेका समाचारहरु पनि व्यापक मात्रामा आइ नै रहेका छन् । उनीहरुलाई ७० भन्दा बढी शिवीर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थानका साथै औषधोपचारको पनि उनीहरुलाई कमी छ । 

यसै कारणले उक्त शिवीरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको थियो । उक्त चेतावनीको करिब १५ दिनपछि पनि परिस्थितिमा खासै सुधार नआएकोले हैजाको उच्च जोखिम कायमै रहेको सो संगठनको भनाई छ । 

अहिले नै उनीहरुमा सफा खानेपानीको अभावका कारण पानीजन्य रोगको प्रकोप देखिएको छ । यसमा निगरानी राख्नुका साथै आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा छ– उक्त संगठनले भनेको छ । 

ती शिवीरलाई लक्ष्यगरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेश सरकारले पनि स्वास्थ्य सुविधाको सामान्य प्रबन्ध गरेको छ । तर ती प्रयासहरु पर्याप्त नभएको बताइन्छ । 

(Visited 115 times, 1 visits today)

टिप्पणी

comments