Main Menu

सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा

भदौ १०,  काठमाडौँ । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १ सय ३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम भएका छन् ।

मुलुकमा हाल ७ सय ५३ स्थानीय तह कायम रहेकोमा त्यसमध्ये महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २ सय ७६  र गाउँपालिकाको संख्या ४६० रहेको छ ।

उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

६ हजार ६ सय २७ जनप्रतिनिधि

स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट प्रमुख र उपप्रमुखमा ७७/७७ ,  अध्यक्ष र उपाध्यक्षमा ५९/५९, एक हजार २ सय ७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।

भदौ २१ मा मनोनयन दर्ता

निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ ।

नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्ट्रिय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी तथा बाढी र डुबानको चपेटा खेपिरहेका त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाएर सबै राजनीतिक दल अहिले प्रदेश नं २ का गाउँगाउँमा पुगिसकेको त्यस क्षेत्रका जिल्ला निर्वाचन कार्यालयबाट थाहा भएको छ ।

मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा असार १४ गते भएको निर्वाचनबाट १ सय ७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४ सय २३ उम्मेदवार विजयी भएका छन् । तीमध्ये पुरुष १६ हजार ७ सय ९३ र महिला ११ हजार ६ सय ३० रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बदर मत प्रतिशत घटाउन २ नं प्रदेशमा सडक नाटकसहित मतदाता शिक्षाका कार्यक्रम तथा सञ्चारकर्मीका लागि आचारसंहिताको पालनासम्बन्धी कार्यक्रम शुरु गरिसकिएको जानकारी दिए ।

‘भय र त्रास समाप्त भइसकेको छ’

राजपाका महासचिव केशव झाले भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजयी हासिल गर्ने विश्वास लिएको बताए । उनले भने, “प्रचारप्रसार र उम्मेदवार छनोट प्रक्रिया शुरु भइसकेको छ, घोषणापत्र बनाउने कार्यलाई अहिले तीव्र तुल्याइएको छ ।”

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली नेकपा (एमाले)का १२ हजार ८ सय ४८, नेपाली काँग्रेसका नौ हजार ७ सय १९, नेकपा(माओवादी केन्द्र)का चार हजार ३ सय १३, संघीय समाजवादी फोरम नेपालका ३ सय ८२, नेपाल लोकतान्त्रिक फोरमका २ सय ९५, राप्रपाका २ सय ५७, राष्ट्रिय जनमोर्चाका १ सय ८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सात, नेकपा (माले)का चार र नेपाल परिवार दलका एक उम्मेदवार विजयी भएका छन् ।

बाढीपहिराको दुःख बिर्सँदै

एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सम्पूर्ण शक्ति प्रदेश नं २ को निर्वाचनमा केन्द्रित भइसकेको जानकारी दिएका छन् । उनले भने, “नेकपा (एमाले)ले लिएको अडान र अघि सारेको सोचलाई आम मतदाताले राम्ररी बुझिसकेका छन् ।”

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बाढीपहिराको पीडा खेप्नु परे पनि स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनप्रति मतदाता सकारात्मक र उत्सुक देखिएकाले निर्वाचनको वातावरण विस्तारै बन्दै गएको प्रतिक्रिया दिए । मुलुकभर एकै पटक निर्वाचन गर्नुपर्नेमा २ नं प्रदेशमा तेस्रो चरणमा पुर्याइएको प्रति भने मतदाताको असन्तुष्टि रहेको उनको भनाइ थियो ।

काँग्रेका नेता रमेश लेखकले पार्टीका तर्फबाट त्यस क्षेत्रको निर्वाचनका लागि सबै तयारी भएको तथा अधिकांश जिल्लामा उम्मेदवारी मिलेको हुँदा घोषणा गर्न मात्र बाँकी रहेको प्रतिक्रिया दिए । उनले भने, “पार्टीको पक्षमा राम्रो वातावरण बनेको छ, विस्तारै सबै नेता तथा कार्यकर्ताको त्यस क्षेत्रममा पुगेपछि चुनाव प्रचारप्रसार व्यापक हुनेछ ।”

माओवादी केन्द्रका नेता एवं सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्वाचनका लागि चाहिने आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको जनाउँदै त्यस क्षेत्रमा निर्वाचनका लागि प्रचारप्रसार शुरु भइरहेको बताए । उनले भने, “हाम्रो समस्या, भावना र मर्म माओवादी केन्द्रले बुझ्छ भन्ने मनोवैज्ञानिक प्रभाव मतदातामा देखिएकाले हाम्रा लागि ठूलोखाले हराभराको माहोल छ ।”

 

रासस

(Visited 85 times, 1 visits today)

टिप्पणी

comments