Main Menu

संशोधन प्रस्तावमा सहमति जुटाउन प्रम देउवाद्वारा छलफल सुरु

 

असार २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गरेका छन् ।

सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी (राजपा) का बीच सदनमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन शुक्रबार अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो ।

यस क्रममा प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गरेका छन् । ती शीर्ष नेताका बीचमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गरेको राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

“पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी मैले प्रधानमन्त्रीलाई दिएँ ।” अध्यक्ष थापाले भने ।

नेका, माओवादी केन्द्र, राप्रपा केही मधेसवादी दल मिलेर केही महिना अगाडि व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

(Visited 97 times, 1 visits today)

टिप्पणी

comments