Main Menu

तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ? – भाग २

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी  राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको दोस्रो भाग यहाँ प्रस्तुत गरिन्छ । पहिलो भागको लागि यहाँ क्लिक गर्नुहोस् । – सम्पादक)

tenzing-norgay-biography-part-2

सगरमाथा आरोहणको लागि व्रिटिशहरुको मरिहत्ते !

स्वीस आरोहण दलको यो प्रयास र यति हदको सफलताले व्रिटिशहरुले अब प्रष्टसँग बुझे – अब सगरमाथा आरोहणको प्रयासमा आफ्नो एकाधिपत्य तोडियो । त्यसैले, सन् १९५३ मा उनीहरुले पुनः सगरमाथा आरोहणको प्रयास पनि गरे । परिवर्तित सन्दर्भमा व्रिटिशहरु मात्र हैन, सबै विदेशीहरुका लागि नेपालको सीमा खुला गरिएको सन्दर्भमा त्यसबेला व्रिटिश आरोहण दलका पछाडि सगरमाथा आरोहण गर्न जाने अन्य विदेशी आरोहण दलहरु पालो पर्खेर बसेका थिए । व्रिटिशहरुले बुझेका थिए – यस पटक पनि सगरमाथा आरोहण हुन सकेन भने अब अरु कुनै पनि मुलुकले यो सम्मान उछिट्याउन सक्नेछ ।

सन् १९५३ मा व्रिटिशहरुले सगरमाथा चढिछाड्ने हदको मरिहत्ते गर्नुको अर्को कारण पनि थियो । त्यो हो– संसारभरि नै व्रिटिश आधिपत्य तोडिँदै गएको बेला आफ्नो रानीको राज्याभिषेकको मौका पारेर सगरमाथाको आरोहण गरी पुनः एक पटक व्रिटिश सर्वोच्चता साबित गर्ने ! त्यसैले यस पटक व्रिटिशहरुले सगरमाथा चढिछाड्ने मरिहत्ते गरेका थिए ।

को को थिए आरोहणमा ?

व्रिटिशहरुले यस अभियानलाई कति महत्व दिएका थिए भने उनीहरुले अन्तिम समयमा आएर यस आरोहण दलका नेता नै समेत बदलेका थिए । वास्तवमा, सन् १९५३ मे महिनामा आएको यो टोली त्यसबेलाका प्रसिद्ध बेलायती पर्वतारोही, जसले यसअघि पनि सगरमाथा चढ्ने प्रयास गर्दै आएका थिए, इरिक शिप्टनको नेतृत्वमा सगरमाथा आरोहण गर्न आएको टोली थियो । तर पछि इरिकका ठाउँमा कर्णेल जोन हन्टलाई ल्याइयो ।

हन्ट ठाउँठाउँ चहार्ने मानिस थिए । उनी आरोहीका रूपमा त्यति प्रसिद्ध थिएनन् । तर हन्ट कुशल संयोजक थिए । उनले आफ्नो आरोहण दलमा न्युजिल्यान्डका पर्वतारोहीहरु एडमन्ड हिलारी र जर्ज लोवेका साथ त्यसबेलाका चर्चित नेपाली पर्वतारोही तेञ्जिङलाई पनि समेटे । हन्टको समूहमा चार्ल्स इभान्स (हन्टपछिका समूह नेता), जर्ज बान्ड (समूहमा सबैभन्दा कान्छा २२ वर्षे आरोही), टम बौर्दिल्लोन, अल्फ ग्रेगोरी, विल्फ्रिड नोयस, डा. माइक वार्ड, माइकल वेस्टमाकोट र चार्ल्स वाइली थिए । समूहका अर्का सदस्य डा. ग्रिफिथ पघलाई आरोहीका लागि शरीर विज्ञानीका रूपमा लिइएको थियो । डा. पघले अघिल्लो वर्ष चोयु हिमाल आरोहणका बेला भौतिक पूर्वाधार जस्तै, आरोहीका लागि कपडा, पोषण, अक्सिजनको मात्रा (जति उचाईमा गयो, त्यसअनुसार अक्सिजन लिने काम निर्धारण गर्नुपर्ने भएकाले) का बारेमा हेरेका थिए । उनको यो काम संसारकै सबैभन्दा सर्वोच्च शिखर सगरमाथा आरोहण प्रयासको यस अभियानमा कम महत्वपूर्ण थिएन ।

मूहका सदस्य टम स्टोबार्ट आधिकारिक फिल्म निर्माताको रुपमा सहभागी भएका थिए । त्यसैगरी, जेम्स मोरिस चाहिँ बेलायती पत्रिका द टाइम्स अफ लन्डनका समाचारदाता थिए । उनलाई सांकेतिक भाषा प्रयोग गरी आरोहणको समाचार बेलायतमा जारी महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक कार्यक्रमसम्म पुर्याउने जिम्मेवारी दिइएको थियो । सगरमाथा आरोहणको यस प्रयासलाई बेलायतको रोयल जियोग्राफिकल सोसाइटी र जोइन्ट हिमालयन कमिटी आफ द अल्पाइन क्लबले प्रायोजन गरेको थियो । 

यस आरोहण दलका सदस्यहरुले अक्सिजन, विशेष ढाँचामा निर्माण गरिएका जुत्ता तथा पोशाक अनि बोकेर हिँड्न मिल्ने रेडियोयन्त्रहरु प्रयोग गरेका थिए । आरोहणका लागि विभिन्न आधार शिविरहरु खडा गरिएका थिए ।

शिखरको छेवैसम्म पुगेपछि…

यस पटक जसरी भए पनि सगरमाथाको शिखर चुम्ने विश्वासका साथ शिखरतर्फ अगाडि बढेको उक्त व्रिटिश टोलीका सदस्यहरुमध्ये चार्ल्स इभान्स र टम बौर्दिल्लोन २८ हजार ७ सय ५० फिटको उचाईमा मे २६ का दिन पुगे । अब सगरमाथा करीब ३०० फिट पर मात्र थियो । यो भनेको गत वर्ष स्विस टोली सरगमाथाको सर्वोच्च क्षेत्रमा पुगेको स्थानभन्दा पनि अलि माथि थियो । यसरी यसअघिसम्म मान्छे पुगेको स्थानभन्दा अझै माथि पुग्न सक्नु नै उनीहरूका लागि एउटा ठूलो विजय अनि गर्वको कुरा थियो ।

अब इभान्स र बोर्दिल्लोन सगरमाथाको शिखरतर्फ बढ्ने तरखरमा जुटे । तर दुर्भाग्यको कुरा, यी दुई पर्वतारोहीहरुले बोकेका अक्सिजनका सिलिण्डरमध्ये अक्सिजन उपलब्ध गराइरहेको एउटा संयन्त्रमा गढबढी आएपछि ठूलो समस्या आइपर्यो । अब उनीहरुले आफ्नो आरोहण प्रयासलाई अघि बढाउन नसक्ने भए । त्यसैले, बढो दुःख मान्दै आरोहण परित्याग गरे । 

तेन्जिङ र हिलारी जुर्मुराए !

चार्ल्स इभान्स र टम बौर्दिल्लोनले आरोहण त्यागेपछि त्यसै समूहबाट शिखरमा पुग्नसक्ने सक्षम आरोहीका रूपमा एडमन्ड हिलारी र तेञ्जिङ शेर्पाको नाम लिइयो । यी दुई साहसी पर्वतारोही सगरमाथा विजयको उत्साह बोकेर त्यस दिशामा अगाडि बढ्न जुर्मुराए । उनीहरुलाई जसरी भए पनि शिखरमा पुर्याइछाड्नका लागि साउथ कोलभन्दा माथि २७ हजार ९ सय फिटमा एउटा शिविर खडा गरियो । मे २८ तारिखका दिन उज्यालो हुनुभन्दा पहिले शरीर तताउनेलगायतका तयारी पूरा गरिए । शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनुपर्ने भएकाले कुकरमा हिउँ पगालियो । बिहानको ६ बजेर ३० मिनेट जाँदा सबै तयारी पूरा गरी एडमन्ड हिलारी र तेञ्जिङ शेर्पा शिखरतर्फ लम्किए । 

शिखरतर्फ अगाडि बढ्दै जाँदा…

व्रिटिश आरोहण दलमा समावेश भएर सगरमाथा विजय अभियानमा सातौं पटक जुटेका तेन्जिङ र उनका साथमा रहेका न्यूजील्याण्डका पर्वतारोही अब सरगमाथाको शिखरमा पुगिछाड्ने दृढलक्ष्यका साथ, शिखरतर्फको दुरुह, कठीन र विकट यात्रामा अगाडि बढे । शिखरतर्फको यात्रा सुगम थिएन । आरोहण प्रयासको सबैभन्दा कठीन र चुनौतीपूर्ण क्षण त अब आइपुगेको थियो । तर तेन्जिङले पर्वतारोहणको खतरा तथा त्यससँग आफूलाई कसरी समन्वय गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेका थिए । पर्वतारोहणको क्रममा आउने समस्याहरुलाई जबरजस्ती मिच्न खोज्ने हैन, त्यसलाई सम्मान गरेर त्यसबाट पन्छिने तथा पर्खिने बाटोहरु उनलाई राम्ररी थाहा थिए । विशेष गरी, पर्वतारोहण गर्दा कुन बेला के गर्नुपर्छ भन्ने कला, निर्णय लिने क्षमता तथा नेतृत्व गर्ने तरिकाको बारेमा उनलाई राम्रो जानकारी थियो ।

तेन्जिङसँगै सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीले भनेको छन्, “तेन्जिङ अत्यन्तै कुशल पर्वतारोही थिए र उनी सदैव अन्य पर्वतारोहीहरुका लागि उत्साह र आदर्शका स्रोत रहनेछन् ।”

त्यसबेला, आजभोलि जस्तो सगरमाथा आरोहण गर्नका लागि चार वटा आधार शिविर नभएर ९ वटा आधार शिविरहरु हुने गर्थे । नवौं आधार शिविर सगरमाथाभन्दा करीब १ हजार फिट तल खडा गरिन्थ्यो । यो भनेको आजभोलिको चौथो आधार शिविरभन्दा करीब २ हजार फिट माथि हो । तर त्यसबेला पहिलो आधार शिविर आजभोलिको आधार शिविरभन्दा निकै तल खडा गरिएको हुन्थ्यो ।

तेन्जिङले ढुंगा टिपेर गोजीमा हाले !

सगरमाथा आरोहणको क्रममा जसो तसो तेन्जिङ र हिलारी नवौं शिविरसम्म पुगे । त्यहाँ केही सुस्ताएपछि उनीहरु पुनः अगाडि बढे । यसरी अगाडि बढ्ने क्रममा उनीहरु दुबैजना थाकेर लोत भइसकेका थिए । त्यसैले उनीहरु पुनः सगरमाथाको ढुंगे पहरामा सुस्ताउन थाले । सुस्ताउने क्रममै तेन्जिङले यसो माथितिर हेर्दा देखे– सगरमाथाको चुचुरो नजिकै छ, अलिकति बल गरे अब त्यहाँ पुग्न गाह्रो छैन । यो सोचाइले उनको थकान छुमन्तर भयो । यी दुई साहसी पर्वतारोहीहरु पुनः शिखरतर्फ बढ्न थाले । 

शिखरतर्फको कठीन यात्रामा अगाडि बढ्ने क्रममा अब उनीहरु चुचुरोभन्दा करीब १०० फिट मुन्तिर आइपुगे । त्यहाँको नांगो चट्टानमा दुईवटा पाल टाँग्न मिल्ने स्थान थियो । त्यहाँ उनीहरु केही बेर सुस्ताए । संसारको सर्वोच्च शिखरको चट्टान संसारलाई देखाउन तेन्जिङले त्यहाँबाट ढुंगाका दुई वटा टुक्रा टिपेर आफ्नो गोजीमा हाले ।

जब तेन्जिङ खुसीले चिच्याए !

आखिरमा, तेन्जिङको कुशल पथप्रदर्शनले संसारकै सबैभन्दा उच्च स्थान सगरमाथाको शिखरमा मानवको पाइलालाई पुर्याएरै छाड्यो । नेपालको एउटा दुर्गम गाउँमा जन्मेका उत्साही शेर्पा तेन्जिङ र न्यूजिल्याण्डका मौरीपालक एडमण्ड हिलारी अन्तत्वोगत्वा मे २९, १९५३ का दिन अर्थात् वि.सं. २०१० साल जेठ १६ गते करीब ११ः३० बजेतिर संसारको सर्वोच्च शिखर सगरमाथामा पुगिछाडे । 

सगरमाथाको चुचुरोमा पाइला टेकेपछि तेन्जिङ खुसीले चिच्याए, ‘आखिरमा हामीले सगरमाथा चढिछाड्यौँ !’

तर तेन्जिङ अनि हिलारी दुबैले अक्सिजन मास्क लगाइराखेको हुनाले तेन्जिङले के भने, त्यो हिलारीले बुझ्न सकेनन् । हिलारीले त्यतिबेलासम्म पनि आफूहरुले संसारको सर्वोच्च शिखरमाथि विजय हासिल गरिसकेको कुरा अनुभव गर्न सकेका थिएनन् । हिलारीले एक ठाउँमा उल्लेख गरेका छन्, ‘सगरमाथाको चुचुरोमा पुगिसक्दा पनि मलाई विश्वास थिएन, हामीले सगरमाथा आरोहण गरिसक्यौँ । म चुचुरोमा उभिएर सगरमाथा आउन अझ कति बाँकी छ भनी सोच्दैथिएँ ।’

सगरमाथाको चुचुरोमा पुगेपछि तेन्जिङले हिलारीलाई ग्वाम्मै अंगालो मारेर आफूहरुले सगरमाथामाथि विजय प्राप्त गरेको संकेत गरे । बल्ल हिलारीले आफूहरुले सगरमाथा आरोहण गर्न सकेको कुरा बुझे । त्यसपछि तेन्जिङले र हिलारी केहीबेरसम्म अंगालोमै आबद्ध भएर आफ्नो यस ऐतिहासिक खुसीलाई बाँडे ।

(सगरमाथाको सफल आरोहणपछिको तेन्जिङको कथा, अन्तिम भाग आउँदो सातामा -सम्पादक)

(Visited 568 times, 1 visits today)

टिप्पणी

comments