Main Menu

कविता

बन्दी छोराको पत्र

कृष्ण सेन ‘इच्छुक’

letter-of-prisoned-son-krishna-senआमा ! यो अँधेरो कालकोठरीभित्र
तपाईंको मायालु न्यानो काखदेखि
म धेरै टाढा छु
देशका धेरै धेरै सन्ततिहरुका साथमा
बन्दी जीवनका अति यातना र कष्टपूर्ण घडीहरु खप्दै
म मेरा प्रिय संगी
र, आत्मीय स्वजनहरुदेखि पनि धेरै टाढा छु ।

मेरो शिरमा
स्नेहपूर्ण कोमल हातहरु सुम्सुम्याउँदै
आमा ! तपाईंले गहिरो ममताका
शीतल स्पर्शहरु छर्न सक्नुहुन्न
तपाईंको समुद्रजस्तै
विशाल मातृत्वको प्रशान्त सागरमा
अथाह डुबेर म पनि
पूर्णिमाको चन्द्रझैं अगाध रमाइरहन सक्तिँन ।

तर तैपनि आमा !
म जति टाढा रहूँ तपाईंदेखि
तपाईंको प्रेमाकुल मुटुको अंगालोदेखि
अनि मेरो असंख्य प्रियजनहरुदेखि
मेरो मन सधैं तपाईंकै प्यारो काखमा हुन्छ
मेरो मन सधैं–सधैं मित्रहरुकै रमाइलो साथमा हुन्छ ।

भावनाहरुको मृदुल संसारमा
तल तल चाहनाहरुको स्वर्ग सजाएर मैले
एक एक घडी र पलाहरु सहजै गनेर बिताएको छु
मेरा अघि बन्दी जीवनको भयावह कठोर यथार्थ छ
तैपनि आगामी स्वर्णिम दिनकै उपासनामा
यी कटु नारकीय क्षणहरुलाई पनि मैले
प्रतिक्षण तपाईंको सपनाझैं सुन्दर बनाएको छु ।

अन्यायपूर्ण बन्धनहरुभित्र आमा,
मेरो न्यायपूर्ण बोलीहरु जबरजस्ती खोसिए पनि
लाखौंलाख मुक्तकण्ठहरु गीत भएर घन्किरहेकै छन् त्यहाँ
मेरा शिखरहरु छुने कदमहरु नेल हालेर बाँधिए पनि
लाखौंलाख अपराजेय पाइलाहरु जीत भएर लम्किरहेकै छन् त्यहाँ
मेरा सगर थाम्ने हातहरु हत्कडीले बाँधिए पनि
लाखौंलाख पौरखी हत्केलाहरु निर्माण भएर जुटिरहैकै छन् त्यहाँ
हो, आमा ! त्यसैले
यी चिसा–चिसा छिडींका अँधेरा दिनमा पनि
म अतिसय उजेला आशाहरुले भरिएको छु
म अतिसय चम्किला विश्वासहरुले चुलिएको छु
तपाईंको मधुर सपना विपना बन्छ
हाम्रो चीर सपना जरुर विपना बन्छ ।

तिनै विपनाहरुको अर्चनामा
मेरो रगत देशकै लागि बगोस् आमा !
म जहाँ मरुँ, देशकै लागि मरुँ
मुक्तियुद्धको हवन–कुण्डमा
मेरो जीवन पवित्र समिधा बनोस्
मेरो प्राण प्रज्ज्वलित अग्नि बनोस्
र, म जैले मरुँ, देशकै निम्ति मरुँ ।

म मरे पनि
देशका जम्मै सन्ततिहरु
तपाईंकै प्रिय पुत्र हुन् आमा,
तपाईंकै सपनामा
ती आज सुनबुट्टे विपना कुद्दैछन्
संसार सजाउने तिनका रहरहरुमा
तपाईंले आषिश थप्दै जानोस्
जिन्दगी फुलाउने तिनका संकल्पहरुमा
तपाईंले विश्वास भर्दै जानोस्
कर्मपथका ती योद्धाहरुलाई
तपाईंले ममता बाँड्दै जानोस्
तपाईंका पुत्रहरु आँधीसँग जुध्न सक्छन्
तपाईंका पुत्रहरु समयसँग भिड्न सक्छन्
ती त तीव्रगामी गतिका अग्रगामी बाहकहरु हुन्
काँधमाथि तिनले सम्पूर्ण ब्रम्हाण्ड बोक्न सक्छन् ।

त्यसैले गति रोकिंदैन
अँधेरो युगको कायाकल्प हुन्छ आमा !
इतिहास फेरिन्छ÷इतिहास फेरि रचिन्छ
र, फेरि नयाँ युगको नवीन यात्रा शुरु हुन्छ
र, फेरि नयाँ जीवनको नौलो कथा शुरु हुन्छ ।

(Visited 154 times, 1 visits today)

टिप्पणी

comments