Main Menu

शिक्षा क्षेत्रको सुधार गर्न अखिल (क्रान्तिकारी) को माग

education-reform-akhil-krantikari

असार २१, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले १०+२ विद्यालय शिक्षा क्षेत्रको सुधारको माग गर्दै शिक्षा विभागलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संविधानले विद्यालय शिक्षा मौलिक हकको रुपमा स्थापित गरे पनि विद्यालय शिक्षामा आम जनताको पहुँचको प्रश्न ज्यूँ का त्यूँ रहेको धारणा राख्दै सो ज्ञापन पत्र अखिल (क्रान्तिकारी)ले शिक्षा विभागमा बुझाएको हो ।

 

ज्ञापनपत्रमा १०+२ मा दिइने ३ प्रतिशत र शिक्षण संस्थाले दिने २ प्रतिशत छात्रवृत्तिलाई बढाएर १० प्रतिशत बनाउनुपर्ने माग गरिएको छ । यसरी छात्रवृत्ति दिइँदा प्रक्रिया सबै पारदर्शी हुनुपर्ने पनि अखिल (क्रान्तिकारी)को माग रहेको छ ।

 

त्यस्तै, शिक्षण संस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिए पनि विभिन्न बहानामा शुल्क असुल्ने प्रवृत्तिको अनुगमन गरी कडा कारवाही गर्न पनि माग गरिएको छ ।

ज्ञापन पत्रमा विदेशी नाम भएका शिक्षण संस्थाहरुको नाम परिवर्तन गरिनुपर्ने र ऐन विपरित ‘अन्तर्राष्ट्रिय’ शब्द राखिएका विद्यालयहरुको नामबाट सो शब्द हटाइनुपर्ने माग राखिएको छ ।

 

विद्यालयहरुले मनपरि ढंगले भर्ना र मासिक शुल्क लिने, जरिवानाको नाममा अनावश्यक शुल्क लिने र स्टेशनरी, ड्रेस लगायतको नाममा व्यापार गर्ने प्रवृत्ति बढेको हुँदा त्यस्ता विद्यालयहरुलाई पनि कारवाही गरिनुपर्ने अखिल (क्रान्तिकारी)को माग छ ।

शिक्षा विभागका महानिर्देशकका नाममा हिजो बुझाइएको ज्ञापन पत्रमा विद्यार्थीलाई विज्ञापनको साधन बनाउने र भड्किलो तथा खर्चिलो विज्ञापन गर्ने विद्यालयहरुलाई कारवाही गरिनुपर्ने माग छ ।

त्यस्तै, डिसिप्लेन इन्चार्जका नाममा विद्यार्थीमाथि हुने शारीरिक तथा मानसिक ज्यादती भएको भन्दै त्यस्तो व्यवस्था खारेज गरिनुपर्ने र ए लेभलको नाममा सञ्चालित शिक्षण संस्थालाई राज्यद्वारा नियन्त्रण गरिनुपर्ने पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका मागको सम्बोधन नभए कडा संघर्षमा उत्रने अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

ज्ञापन पत्र :

(Visited 215 times, 1 visits today)

टिप्पणी

comments