Main Menu

सकियो प्रत्येक्षतर्फको मतगणना, ८० सिटसहित एमाले पहिलो

मंसिर २७, काठमाडौं

election-result-finalized-uml-80-seatsपहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै (१६५ वटै) निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा ६ महिला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले)का १६८, नेकपा (माओवादी केन्द्र)का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ महिला उम्मेदवार विजयी भएका छन् ।

आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म ६० लाख २६ हजार २६ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले २१ लाख ९३९, नेपाली काँग्रेसले २० लाख १८ हजार ४४५, नेकपा (माओवादी केन्द्र) ले ८ लाख ७ हजार ७२३ र संघीय समाजवादी फोरम नेपालले २ लाख ६९ हजार १९५ मत प्राप्त गरेका छन् ।

दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४० हजार १०७, विवेकशील साझा पार्टीले १ लाख ३५ हजार १५८, नयाँशक्ति पार्टी, नेपालले ५८ हजार ३५८, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)ले ४५ हजार ८३० र राष्ट्रिय जनमोर्चाले ३५ हजार ५२४ तथा अन्य दलले २ लाख ५ हजार ३०३ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

(Visited 150 times, 1 visits today)

टिप्पणी

comments