विनाश बेहोरेको शहरको चित्र–कथा
साढे चार वर्षपछिको फुकुसिमा
असोज २५, काठमाडौं । सन् २०११ को भूकम्प र त्यसपछिको सुनामीबाट क्षतविक्षत फुकुसिमा दाइइची पावर प्लान्टनजिकको क्षेत्रको अहिलेको अवस्था हेर्दा लाग्छ, त्यहाँ समय रोकिएको छ । विपत्तिको समयमा शहरलाई जस्तो छोडिएको थियो, अहिले पनि त्यस्तै छ । फरक मात्र केमा छ भने अहिले त्यहाँ मानव हस्तक्षेपको साटो प्रकृतिले हस्तक्षेप गरेको छ । रेडियोधर्मी पदार्थबाट प्रदुषित अनगिन्ती टनका माटोलाई कालो झोलाहरूमा प्याक गरी त्यसै छाडिएका छन्; कार, घर तथा त्यहाँका बासिन्दाहरूले विपत्तिको समयमा छोडेर गएका सामानहरू सबै अग्ला–अग्ला घाँस तथा स्वस्फूर्त रुपमा उम्रिएका रुखहरूले ढाकिएका छन् ।
सन् २०११ को मार्च ११ मा उत्तरपूर्वी जापानको टोहुकुमा गएको ९ म्याग्निच्युडको महाभूकम्प र त्यस भूकम्पबाट सिर्जित ५० फिट अग्लो सुनामीले फुकुसिमा पावर प्लान्टमा क्षति पुगेको थियो । क्षतिबाट त्यहाँको वातावरणमा रेडियोधर्मी विकिरण फैलन सक्ने खतराका कारण फुकुसिमा प्लान्टबाट २० किलोमिटर वरिपरिका बस्तीहरू खाली गरिएका थिए ।
विपत्तिको साढे चार वर्षपछि, अहिले सहर मृत अवस्थामा छ । १ लाख ६० हजार विस्थापितमध्ये १ लाख २० हजार आफ्नो घर फर्कन पाएका छैनन् । तीमध्ये थुप्रैलाई अब आफ्नो घर कहिल्यै फर्कन नपाउने हो कि भन्ने डर छ ।
पोल्यान्डका व्यावसायिक फोटोग्राफर तथा चलचित्रकर्मी आर्काडिउज पोड्नियसिन्स्की गत महिना मात्रै प्रभावित क्षेत्रको अवस्था आफ्नै आँखाले हेर्नको लागि फुकुसिमा भ्रमण गर्न गएका थिए । ‘मेरो उद्देश्य भनेको निषेधित क्षेत्रको अवस्था जस्ताको तस्तै प्रस्तुत गर्नु थियो ।’ ४३ वर्षीय पोड्नियसिन्स्की भन्छन् । ‘फुटाबा, नामी र टोमियोका शहरहरू भूत–शहरहरू जस्तै छन् । ती शहरहरूको शून्यता डरलाग्दो छ । ती शहरहरूले लाखौँ मानिसहरूलाई प्रभावित पारेको त्रासदिको कथा भनिरहेका छन् ।’
भूकम्प तथा सुनामीबाट प्लान्टमा क्षति पुगेपछि त्यहाँका तीनवटा रियाक्टरहरू बन्द गरिएका थिए । केही दिनमै त्यहाँ रहेका तीनवटै कोरहरू पग्लेका थिए । जम्मा चारवटा रियाक्टरहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।
शहरका बासिन्दा तथा कामदारहरूलाई जापानी अधिकारीहरूले हटाउँदा आफ्ना सबै सामानहरू त्यसै अलपत्र छोड्नुपरेको थियो । सुपरमार्केटका र्याकहरूमा अझै उपभोग्य वस्तुहरू छरपस्ट छन् । भूकम्पको समयमा विद्यालयहरूमा के पढाइ भइरहेको थियो, बोर्डहरूमा अझै अक्षरहरू त्यस्तै छन् । सडकमा गाडीहरू त्यस्तै अवस्थामा छन् भलै ती सडकहरू अब सडक रहेनन्; तिनलाई प्रकृतिले आफूमा पुनः समाहित गरेको छ ।
अहिले २० हजार कामदारहरूले ती शहरहरूका सडकहरू, घरहरू सफा गर्दैछन् । हरेक घरका भित्ताहरू, छानाहरू सफा गरिँदैछन् ताकि त्यहाँका बासिन्दाहरू आफ्नो घर फर्कन सकुन् । यद्यपि, विकिरणबाट प्रदुषित माटोलाई अझै ठेगान लगाइएको छैन । दसौँ हजार प्लास्टिकका पोकाहरूमा प्रदुषित माटो राखिएको छ ।
पोड्नियसिन्स्कीका अनुसार उनले भेटेका धेरैले आफू कहिल्यै घर फर्कन नपाउने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् । ‘सरकारले अबको ३० वर्ष भित्रमा रेडियोधर्मी विकिरणयुक्त प्लास्टिकका ती पोकाहरू हटाइसक्ने आश्वासन दिए पनि त्यसमा उनीहरूको विश्वास छैन ।’ पोड्नियसिन्स्की भन्छन्, ‘उनीहरूलाई के चिन्ता छ भने रेडियोधर्मी प्रदुषण त्यहाँबाट कहिल्यै पनि हट्दैन ।’
निषेधित क्षेत्रका धेरै सहरहरूमा भ्रमण गर्न समेत नपाइने गरिएको छ । रेडियोधर्मी विकिरणबाट प्रदुषित भएका कारण त्यहाँ प्रवेश गर्न विशिष्ट पोषाक र उपकरणहरू बोक्न अनिवार्य गरिएको छ । ती क्षेत्रहरूमा प्रवेश पाउन निकै कठिन भएको अनुभव पोड््नियसिन्स्कीको छ । फुकुसिमामा दुई हप्ता बिताउँदा मात्र ‘सही मानिसहरू’सँग भेट भएको र ती क्षेत्रहरूमा प्रवेश पाएको पोड्नियसिन्स्की बताउँछन् । यद्यपि, अझै ‘रेड जोन’ वा ‘अरेन्ज जोन’ नाम दिइएका क्षेत्रहरू छन्, जहाँ कसैलाई पनि जान दिइएको छैन । ती क्षेत्रहरूमा प्रवेश पाउनको लागि फुकुसिमामा फेरि फर्किने पोड्नियसिन्स्की बताउँछन् ।
‘मलाई अरेन्ज जोन र रेड जोनहरू हेर्ने इच्छा छ; सबैभन्दा बढी प्रदुषित क्षेत्रहरू । ती क्षेत्रहरूमा समय यस्तो किसिमले रोकिएको छ, मानौँ दुर्घटना हिजो मात्र भएको थियो,’ पोड्नियसिन्स्की भन्छन् । ‘रेड जोनमा रहेका प्रत्येक सहरहरूमा प्रवेश पाउनका लागि छुट्टाछुट्टै प्रवेशाज्ञा चाहिन्छ । आधिकारिक तथा विशिष्ट कारण भएका व्यक्तिहरूलाई मात्र प्रवेशाज्ञा दिइन्छ । पर्यटकलाई अनुमति दिइन्न । पत्रकारहरूलाई समेत प्रवेश दिइन्न । अधिकारीहरू निकै चनाखो रहन्छन् । भ्रमणको कारणबारे, अध्ययनको विषय तथा विपत्तिप्रतिको धारणासमेत सोधखोज गर्छन् ।’
फुकुसिमाको दुर्घटनाको कारण अवश्य पनि भूकम्प र त्यसपछिको सुनामी नै हो । तर दुर्घटनाको दोष भने प्राकृतिक विपत्तिलाई लगाउन मिल्दैन । दोषी त हामी नै हौँ । ‘दुर्घटनाको भविष्यवाणी गर्न सक्थ्यौँ, र त्यसै अनुरुप दुर्घटनालाई रोक्न सक्थ्यौँ,’ पोड्नियसिन्स्की भन्छन् ।
(डेलिमेल (www.dailymail.co.uk) मा प्रकाशित भएको फोटोग्राफर पोड्नियसिन्स्कीको फोटो–स्टोरीमा आधारित)