Main Menu

१३ दिनको काजक्रिया ५ दिनमा सिध्याउने क्रम बढ्दै

फागुन १६, काठमाडौँ

funeral-ritual-5-days

परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार ५ दिनमा सिध्याउने क्रम बढ्न थालेको छ ।

फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार ५ दिनमै काजक्रिया सके ।

ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका उनी ८८ वर्षीय पिता पनि ५ दिनमै क्रिया सक्न सहमत भएकाले सजिलो भएको बताउँछन् । ५ दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए ।

“मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ । बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ । यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानुपर्छ,” अध्यक्ष कार्कीले भने ।

उनी सचिव रहेको कार्की समाजले सदस्यका बीच एक वर्ष छलफल गराई संस्थागत रुपमा ५ दिनमा मृत्यु संस्कार सक्ने निर्णय गरेको छ । कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरेको कार्कीले सुनाए । एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।

५ दिनमा क्रिया सक्ने पुरोहित लेखनाथ दाहाल पनि सहमत भई १३ दिनका सबै कर्म ५ दिनमा सकिएको हो । पुरोहित दाहाल यसअघि आफूले पूर्वमन्त्री तेजबहादुर थापाको काजक्रिया पनि ५ दिनमै सकेको बताउँछन् ।

“मैले १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको हुँ । आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेँ । ५ दिनमा ६ जनाको क्रिया कर्म सकेँ । मैले ११ हुँदा १२ महिना लगाएर क्रिया गरेको पनि देखेको थिएँ । समयसँगै मृत्युसंस्कार पनि परिवर्तन हुनुपर्छ,” उनले भने ।

यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार ५ दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि ५ दिनमा सकिएको थियो ।

वि.सं. २०७२ मा संस्कार सुधार समाज स्थापना भई ५ दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई ५ दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको दाबी गर्छन् ।

५ दिनमा काजक्रिया सक्ने पद्धति शास्त्रसम्मत नभएको भन्ने धर्मशास्त्रविद्को संख्या पनि धेरै छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम ५ दिनमा काजक्रिया सक्ने र ३ महिनामा बच्चा जन्माऔँ भन्ने विषय उस्तै भएको बताउँछन् ।

“पाँच दिने/तीन दिने क्रिया कर्म पद्धति शास्त्रविरुद्ध छ,” उनी भन्छन्, “मन नलाग्नेले नगरे पनि पहिले जस्तो राजदण्ड दिने, कारबाही गर्ने व्यवस्था छैन । पाँच दिने/तीन दिने पद्धतिको अशास्त्रीय विषय ल्याउनु जरुरी छैन । ‘श्रद्धया यत् दियते तत् श्राद्धम्’ अर्थात् श्रद्धाले जे दिइन्छ, त्यही श्राद्ध हो । आत्मा शान्तिको लागि विधिवत् १३ दिनको काजक्रिया हुनुपर्छ ।”

काजक्रियामा दिनको विवाद आत्मवादी र अनात्मवादीबीचको बहस भएको गौतमको भनाइ छ । दाहसंस्कार शरीरको शान्तिका लागि र काजक्रिया आत्मा शान्तिका लागि गरिने शास्त्रीय वचन रहेको छ ।

संस्कार सुधार एकैपटक गर्न नसकिने संस्कृतिविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्व प्रमुख प्रा. डा. वीणा पौडेल ५ दिनमा मृत्यु संस्कार सक्ने विधि समाजले मान्न समय लाग्ने बताउँछिन् ।

“मेरा पिता पत्रकार रामराज पौडेलले आफ्नो क्रिया गर्नुपर्दैन भनी लिखित रुपमै दिनुभएको थियो,” उनी भन्छिन्, “तर मेरा दाजुभाइले यसलाई पचाउन सक्नुभएन । समाजले पनि पचाउने अवस्था थिएन । यसैले संस्कार परिवर्तन गर्न समय लाग्छ । आजको भोलि सम्भव छैन ।”

५ दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ३ दिनमै सिध्याउने गरी छलफल शुरु गरेको छ । एक वर्ष अघि प्रतिष्ठान र राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत भएको सदस्य सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

  • पूर्णप्रसाद मिश्र
(Visited 378 times, 1 visits today)

टिप्पणी

comments