Main Menu

बढ्दैछ लोकप्रियता ‘नेपाल संवत्’को

कात्तिक ३, काठमाडौँ 

nepal-sambat-popularity-increasing

कीर्तिपुरमा आज बिहान नेपाल संवत ११३८ मनाउँदै स्थानीय । फोटो – आकाश महर्जन / मूल्याङ्कन

विशेषगरी नेवार (नेवा:) समुदायले प्रत्येक वर्ष कार्तिक शुक्लपक्षको प्रतिपदा (हिन्दूहरुको गोवर्द्धन पूजा या नेवारहरुको म्ह:पूजा) का दिन नयाँ वर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ ।

सो समुदायका नयाँ तथा परिपक्व पुस्तामा उक्त संवतलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न देखिएको जोश र जाँगरले संवत् लोकप्रिय बन्दै गएको हो । यस वर्ष ११३८ ने.सं. मनाउनका लागि चित्तरञ्जन नेपालीको संयोजकत्वमा नागरिक स्तरबाट समिति समेत गठन गरिएको छ ।

वि.सं.को कात्तिक शुक्ल पक्षको दिनमा यस संवतका प्रवर्तक शंखधर साख्वाले केही जनताको केही ऋणी तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नयाँ संवत् प्रचलनमा ल्याइएको बताइन्छ ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार शंखधर भन्ने एक व्यापारी थिए, व्यापार गर्दागर्दै उनी धेरै धनी भएपछि गरिब जनतालाई ऋणमुक्त गरेका थिए । कान्तिपुरका एकजना साधारण नागरिक साख्वाले चलाएको संवत नेपालको मौलिक संवत भएपनि कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ ।

कार्तिक शुक्ल पक्ष प्रतिपदाको सूर्योदसँगसँगै नेपाल सम्वतको नयाँ वर्ष सुरु हुन्छ । नव वर्षलाई नेपाल भाषामा ‘न्हू दँ’ भनिन्छ । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्रशमशेरको कार्यकालसम्म प्रचलनमा रहेको विश्वास छ ।

करिब एक दशक अघि शंखधरलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरिएको थियो । नेपालमा मानदेव संवत् र नेपाल संवत्लाई मौलिक संवतका रुपमा लिइएको छ । यस संवत्को शुरुवातका सन्दर्भमा मानदेव संवत् ३०४ साल पूरा भएको भोलिपल्टदेखि नै भएको विश्वास छ ।

भिक्षु तपस्सी धम्मका अनुसार मानदेव संवत् ३०४ सम्म व्यवहारमा प्रयोग भएको देखिन्छ । पछि गएर प्रचलनमा आउन नसकेपछि मानदेव संवत्को स्थान नेपाल संवत्ले लिएको विश्वास गरिएको छ ।

मानव सभ्यताको उदयक्रमसँगै काल गणनाको अध्ययन शुरु भएको हो । सभ्य समाज निर्माणका लागि इतिहासको अध्ययन तथा अनुसन्धानको खाँचो हुने र त्यसका लागि काल गणना महत्वपूर्ण मानिन्छ ।

उपत्यकाका सम्पूर्ण जनताको ऋण तिरेर कान्तिपुरका एकजना साधारण नागरिकले नेपाल संवत् चलाएको समय भनेको राजा राघवदेवको समय हो भनी वंशावलीमा पाइने अधिकारकर्मी सुजीव ब्रजाचार्यले बताए । भक्तपुरका राजा राघवदेवको आज्ञामा सो संवत् केही कार्यालयमा चलाइएको थियो ।

चन्द्रमासमा आधारित सो संवत् विभिन्न प्राविधिक कारण देखाई राज्यद्वारा प्रचलनमा ल्याउन अहिलेसम्म आनाकानी भइरहेछ । नेपाल सम्वतका विज्ञहरु भने यसलाई केही सुधार गरी राम्ररी नै प्रचलनयोग्य बनाउँन सकिने तर्क गर्छन् ।

(Visited 211 times, 1 visits today)

टिप्पणी

comments