Main Menu

लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु

mahakalinach-restartedसाउन २६, भक्तपुर । इशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन भएर ७ वर्षअघि बन्द भई गतवर्षबाट पुन: सञ्चालन भएको महाकाली नाच नगदेशमा यस वर्ष गएरातिदेखि शुरु भएको छ ।

आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताए ।

लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले शुरु गरेको यो नाच गाईजात्राको भोलिपल्ट साँझबाट सञ्चालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट शुरु भएर चारघण्टासम्म चल्ने गर्छ । युवापुस्ता रहेको नाचमा आठ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको कोजूको भनाइ थियो ।

मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु. ८ देखि १० लाख खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गर्ने तयारी भएको महाकाली गण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिए । नाच सञ्चालनका लागि स्थानीय बासिन्दा, चन्दा दाता र मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेको छ ।

महाकाली नाचमा महाकाली १, महालक्ष्मी १, कौमारी १, सिंह १, बेता , भूत ४ भैरव २, कवं २, ख्याक २, माकः (बाँदर) २, म्ह्यखा १ र मैसासुर दैत्य १ गरी १८ वटा देवगणको नाचमा सहभागिता रहेको हुन्छ ।

यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा ८ कुखुरा, दुई बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले जानकारी दिनुभयो ।

तन्त्रमा आधारित यो नाचका नर्तक (कलाकार)हरुले पोशाक र मुकुण्डो लगाएर नृत्य गर्छन् । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शन गरिन्छ ।

त्यसैगरी मध्यपुरथिमिमा ८ वर्षअघि नै लोप भई विगत २ वर्षदेखि स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरव नाच गएरातिबाट शुरु भएको छ ।

मध्यपुरथिमी नगरपालिका तुलननी र कुमाननीका स्थानीय बासिन्दाको पहलमा लायकु दरबारबाट भैरव नाच शुरु भएको नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । 

(Visited 227 times, 1 visits today)

टिप्पणी

comments