Main Menu

स्वास्थ्यमन्त्रीले तीव्र गतिका अनुगमन टोलीहरु देशभर खटाए

स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल । (फाइल फोटो)

साउन १६, काठमाडौं । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आज बिहानै मन्त्रालयका सचिव र अन्य उच्च स्तरका अधिकारीहरुलाई बोलाई उपत्यकाका केन्द्रीय सरकारी अस्पताल र अन्य अस्पतालहरुमा सेवा प्रवाहको अवस्था के कस्तो छ त्यसको उच्चस्तरीय अनुगमन गरी रिपोर्ट पेश गर्न साँझ ५ बजेसम्मको म्याद दिई द्रूत गतिको जिम्मेवारी सुम्पे अनुरुप साँझबाट धमाधम रिपोर्ट आउँन थालेको कुरा मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मन्त्री पोखरेलले आफ्नो मन्त्रालय मातहतका अधिकारी तथा विज्ञहरुलाई कुल तीन टोलीमा बिभाजित गरी आजका लागि तीव्र अनुगमन टोली बनाएका थिए । ती तीन टोलीहरुमध्ये टोली नं.१ मा डा. पुष्पा चौधरी प्रमुख विशेषज्ञको रुपमा रहने गरी महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ, उपमहाशाखा प्रमुख रामकृष्ण लामिछाने, वरिष्ठ जनस्वास्थ्य प्रशासक गिरीराज सुवेदी र वरिष्ठ नर्सिङ प्रशासक कल्पलता सुब्बा समावेश भए । यस टोलीले काठमाडौं जनस्वास्थ्य अनुगमनको सिलसिलामा वीरअस्पतालको अनुगमन गरेको छ ।

त्यस्तै गरी टोली नं. २ ले ललितपुर जनस्वास्थ्यको अनुगमन गर्ने सिलसिलामा पाटन अस्पतालको अनुगमन गर्यो । त्यस टोलीमा डा.बिनोदमान श्रेष्ठ प्रमुख विशेषज्ञ, तथ्याङ्क निर्देशक सत्य आचार्य, नर्सिङ प्रशासक कविता अर्याल र जनस्वास्थ्य प्रशासक भिमप्रसाद सापकोटा सम्मिलित भए ।
मन्त्रालय स्रोतले जनाए अनुसार भक्तपुर जनस्वास्थ्य कार्यालय अन्तर्गतका भक्तपुर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रको अनुगमनका लागि अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण सिंहको अगुवाइमा भवनाथ खतिवडा, उप सचिव अनुगमन तथा मूल्याङ्कन महाशाखा, कृष्णप्रसाद सुवेदी, मानव अङ्ग प्रत्यारोपण चिकित्सा सेवा महाशाखा र लक्ष्मी मरारिसी, नर्सिङ्ग अधिकृत, मानव अङ्ग प्रत्यारोपण चिकित्सा सेवा महाशाखा सम्मिलित टोली नं. ३ बनेको थियो । त्यस टोलीले पनि आफ्नो रिपोर्ट मन्त्रीलाई आजै पेश गरिसकेको छ ।

अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालयका लागि मानव स्रोतको पोस्टिङ (पूर्णता, रिक्तता, संघीय संरचनामा व्यवस्थापन), गत आर्थिक वर्षको खर्चको स्थिति, संघीयता कार्यान्वयन र निःशुल्क औषधीको उपलब्धताको अवस्था गरी ४ बुँदे निर्देशन समावेश थियो । त्यस्तै गरी अस्पतालका लागि जनशक्तिको अवस्था, मुख्य प्रवाह भइरहेका सेवाहरु, अवरुद्ध भएका सेवाहरु, सेवाका लागि आवश्यक उपकरणहरु, उपलब्ध नभएका तथा बिगे्रका उपकरणहरु, सरसफाइको स्थिति (ट्वाइलेट, परिसर, वार्ड), ईमर्जेन्सी सेवाहरु, फार्मेसी सञ्चालन एवं फार्मेसीमा भएका औषधीहरु, सामाजिक सेवा इकाईको क्रियाशीलता/निःशुल्क कार्यक्रमहरु, जनताले सेवा प्राप्त गर्दाको waiting time (OPD को लागि, अपरेशनको लागि र diagnostic को लागि), नेतृत्व र व्यवस्थापनको प्रभावकारीता/चुस्तता, सेवा प्रवाहको समय एवं कर्मचारीको कार्य समय, सम्बन्धित ठाउँका गुनासा समस्या (कर्मचारी एवं सेवाग्राही) र सेवा शुल्क गरी जम्मा १५ वटा क्षेत्रहरु अनुगमनका विषयको रुपमा छनौट गरिएको थियो । यी १५ क्षेत्रहरुका साथै स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले अस्पतालहरुको पछिल्लो एक वर्षको आम्दानी र खर्चको हिसाब किताबको रिपोर्ट पनि मागेका थिए । त्यस अनुसारको रिपोर्ट पनि आज साँझसम्म आइसकेको मन्त्रालय स्रोतले जनायो ।

स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीले जनाए अनुसार आज उपत्यकाभित्रका सरकारी जनस्वास्थ्य कार्यालयहरु र अस्पतालहरुको अनुगमनका लागि जे निर्देशन पत्र तयार गरी दिइएको थियो त्यही मुताविकको निर्देशन पत्र तयार गरी मन्त्री पोखरेलले भोलि देशभरका जनस्वास्थ्य कार्यालयहरु तथा अस्पतालहरुमा अनुगमनका लागि आजै निर्देशन पत्र जारी गरिसकेका छन् । र, भोलिका लागि खटिने टोलीहरुले पनि दिनभरको अनुगमनपछि साँझ ५ बजे मन्त्रीलाई रिपोर्ट पेश गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।

 

(Visited 389 times, 1 visits today)

टिप्पणी

comments