Main Menu

माओवादी बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठ्यो

साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा आज पुनः मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई अगाडि सारिनुपर्ने कुरा उठेको छ । चुनावी समीक्षा गर्ने क्रममा आजको बैठकमा सो पार्टीका नेता एवं पूर्वमन्त्री गिरीराजमणि पोखरेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि पहल गर्नुपर्ने आफ्नो धारणा राखे । उनले पार्टीमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उठिरहेको आवाज ठीक भएको बताए । उनले अहिलेको चुनाव अत्यन्त खर्चिलो भएको, र त्यसैले निर्वाचनमा पाएको मतका आधारमा राज्यले खर्च व्यहोर्ने मोडेलमा जानुपर्ने बिचारसमेत व्यक्त गरे ।

बैठकलाई सम्वोधन गर्ने क्रममा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले अहिले स्थानीय निर्वाचनमा जेजति मत पार्टीलाई प्राप्त भयो ती सबै संगठनको बलले मात्र आएको हो भने । उनले निर्वाचनको बेला माइक्रो म्यानेजमेन्ट गर्न नसक्दाले पनि अपेक्षित नतिजा ल्याउन नसकिएको बिचार व्यक्त गरे । उनले नेकपा एमालेको सवालमा आफ्नो धारणा व्यक्त गर्दै त्यो पार्टी साम्राज्यवाद र विस्तारवादले खडा गरेको प्रतिक्रियावादी पार्टी भएको बिचार व्यक्त गरे ।

कृष्णबहादुर महरा

महासचिव महराभन्दा अगाडि बोलेका माओवादी नेता गिरीराजमणि पोखरेलले भर्खरै सम्पन्न दुई चरणको स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै अहिले माओवादी केन्द्रले प्राप्त गरेको मत सांगठनिक मत भएको बिचार व्यक्त गरे । उनले अहिले पाएको मतलाई ०६४ सालको संविधानसभाको चुनावमा पाएको मतसँग दाँज्नु नहुने बताए । ‘त्यतिखेरको मत भनेको माहोलको मत हो । जनयुद्ध र जनआन्दोलनको रापतापले ०६४ सालमा माओवादीको पक्षमा अभूतपूर्व माहोल नै निर्माण भएको थियो ।’ उनले भने ।

बैठकमा नेता पोखरेलले भने, ‘अहिलेको चुनावमा एमालेले बीचको मत तान्यो । उसले असन्तुष्ट काङ्ग्रेसीहरुको मत पनि तानेको छ ।’

आफ्नो पार्टीको सम्बन्धमा समीक्षा गर्दै उनले भने, ‘अहिले मूल रुपमा संगठन कमजोर हुनु नै चुनावमा पार्टीको स्थिति नराम्रो हुनुको कारण बनेको छ । चुनावमा उम्मेदवारलाई तीनखाले विषयले बिजय वा पराजय बनाउँछ । १. पार्टीको सांगठनिक स्थिति, २. उम्मेदवारको सामाजिक व्यक्तित्व, र ३. कार्यक्रम । संगठन बलियो छ, उम्मेदवारको सामाजिक व्यक्तित्व राम्रो छ र कार्यक्रम जनताको मनछुने खालको छ भने त्यहाँ बिजयको सम्भावना रहन्छ ।’

गिरीराजमणि पोखरेल

नेता पोखरेलले बैठकमा आफ्नो पार्टीले राप्रपासँग पनि चुनावी तालमेल गरेको कुरा सैद्धान्तिक रुपले नै गलत भएको बिचार व्यक्त गरे । त्यस्तै गरी उनले कांग्रेससँगको तालमेल पनि आफ्नै कार्यकर्ताहरु र कम्युनिस्ट मनपर्ने जनताले नरुचाएको बताए । उनले माओवादी अहिले महत्वपूर्ण मोडमा आइपुगेकोले दीर्घकालीन ढङ्गले योजनाहरु बनाई अगाडि बढ्नुपर्ने बिचार व्यक्त गरे । त्यस्तै गरी बैठकमा नेता पोखरेलले दीर्घकालीन रुपमा समाजवादी कार्यदिशालाई नै अगाडि बढाउनुपर्ने र त्यस अनुरुप शिक्षा, स्वास्थ, आवास, रोजगार र बौद्धिक विकासलाई ग्यारेन्टी दिने कार्यक्रम हुनुपर्ने बिचार व्यक्त गरे । यसका लागि सडक, सदन र सरकार सबैलाई प्रयोग गर्नुपर्ने उनले आफ्नो धारणा बैठकमा राखे । पार्टीको अर्को मुख्य विषय भनेको राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने हुनुपर्ने उनको बिचार रह्यो । उनले बैठकमा मुलुकमा रहेका बिभिन्न वर्ग, उत्पीडित एवं पिछडिएका समुदायहरुमाझ जुन बिभेदको स्थिति छ, यसलाई हल गरिनुपर्ने बिचार व्यक्त गरे ।

नेताहरु गिरीराजमणि पोखरेल र कृष्णबहादुर महरापछि बैठकमा अन्य नेताहरु मणि थापा, टोपबहादुर रायमाझी र अमिक शेरचणले बोलेको कुरा पेरिसडाँडा स्रोतले बतायो ।

बैठकमा अर्का नेता मणि थापाले जनआन्दोलनपछिको दश वर्षलाई समीक्षा गरिनुपर्ने माग गरे । उनले पार्टी निर्माणका लागि संगठनात्मक कार्यदिशा सही बनाउनुपर्ने, बिचारधारात्मक काम र त्यससँग प्रकाशनको कामलाई जोडिनुपर्ने बिचार व्यक्त गरे ।

बैठकमा अन्तिम वक्ताको रुपमा आज वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बोलेको र  भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्र पार्टी स्रोतले बताएको छ ।

(Visited 133 times, 1 visits today)

टिप्पणी

comments