Main Menu

थपिने भयो दुई नयाँ खोप

 

two-new-vaccines-addedसाउन ६, काठमाडौँ । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिए ।

‘‘पहिले पोलियोविरुद्व आइपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावका कारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको हो ।’’ उनले भने ।

आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने नयाँ खोप ६ हप्ता र १४ महिनाको उमेरमा गरी दुई पटक लगाउनुपर्छ ।

‘ग्लोबल एलाइन्स फर भ्याक्सिन’ एण्ड एमिनाइजेसन (गाभी)को सहयोगमा दुबै खोप सुरु गर्न लागिएको हो । नेपालमा बालबालिकालाई लगाइने ११ प्रकारका खोपमा पनि गाभीले ७० प्रतिशत सहयोग गर्दैआएको छ ।

झाडापखाला विरुद्वको खोप रोटा भाइरस पनि यसै वर्षबाट कार्यान्वयनमा ल्याउने तयारी गरिए पनि खोप ल्याएर राख्ने स्टोर कोल्ड चेन तयार नभएको अधिकृत श्रेष्ठले बताए ।

सन् २०१६ मा नै रोटा भाइरसको खोप सञ्चालनमा ल्याउने भनिए पनि व्यवस्थापकीय तयारी नहुँदा ढिलाइ हुँदैआएको छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । देशका ८७ प्रतिशत बालबालिका खोपको पहुँचमा रहेको भनिए पनि २०१६ मा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ ।

अहिले पनि १०० जनामा १० बालबालिकाले कुनैपनि खोप पाएका छैनन् । त्यसैगरी ६६ हजार बालबालिका खोपको पहुँचमा पुगेपनि सबै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

आगामी ३ वर्षभित्र कलेरा र टाइफाइडविरुद्व खोप भित्र्याउने तयारी गरिहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त बताउँछन् ।

राष्ट्रिय खोप कार्यक्रम नेपालका बालबालिकालाई खोपको पहुँचमा पुर्याई देशलाई खोपको अभावका कारण हुने मृत्युदर रोक्ने महत्वपूर्ण तथा प्रभावकारी कार्यक्रम बन्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गगठनले २४ प्रकारका खोपलाई सूचिकृत गरेपनि नेपालमा ११ प्रकारका खोप मात्र उपलब्ध छ । खोप कार्यक्रम नेपालको सफल स्वास्थ्य कार्यक्रममध्येको एक हो । ६ लाख ६० हजार बालबालिकाका लागि दिइने निःशुल्क खोपका लागि वार्षिक रुपमा रु. २ अर्ब खर्च हुँदै आएको छ । यसमा प्रत्येक बालबालिकालाई रु. ५ हजार खर्च हुन्छ ।

(Visited 118 times, 1 visits today)

टिप्पणी

comments