Main Menu

नुवाकोटमा दोषी ठहर हजार कैदी अझै फरार

 

nuwakot-prisoner-escapeसाउन ७, नुवाकोट । अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् ।

विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट १ हजार ३७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित रु. १ करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ ।

फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका १ हजार कैदी अझै फरार रहेका छन् । फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन् ।

आव २०७३/७४ मा ४७५ जना दोषी ठहर भएका कैदी पक्राउ गरी उनीहरुबाट ३६५ वर्ष १ महिना ७ दिनको कैद भुक्तानी गरिएको स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।

पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ रु. २९ लाख २९ हजार लगत कट्टा गरिएको छ । न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार विष्टले बताए ।

अदालतको फैसला कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट मुलुकभरको प्रहरी संगठनमा गएको वर्ष उत्कृष्ट हुँदै सम्मानितसमेत भएको थियो ।

(Visited 90 times, 1 visits today)

टिप्पणी

comments



« (Previous News)