Main Menu

एक कविता

(प्रशिद्ध कवि बितेका भूपी शेरचनले ‘सडक–बालक’बारे लेखेको चर्चित कविता ‘एक कविता’ आजको शनिवार साहित्यमा प्रस्तुत गरिन्छ । –सम्पादक ।)

bhupi-sherchan-poem-1

  • भूपी शेरचन

‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रवन्ध
न बासको ठेगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधैं असंख्य पाउनमुनि कुल्चिएर

कसैको बासनाको द्रूतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरिक्षमा
विना कुनै स्पेश सूट !
‘अस्क्सिजन मास्क’
र सुरक्षित संचालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकूशल ओर्लियो
नयाँ सडकको पेटीमा झुत्रो प्यारासुट ओढेर

यो शिशु जन्मियो यिशुजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’बोकेर ।

पुसको जाडो
रौं ठाडो हुने रात
उदास, उजाड, फुटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ भुत्रो बोरा र पुराना अखबार ओढेर
अबवार : जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’को समाचार
मन्त्रीज्यूबाट उद्घाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चित भई सुत
एक दिन यस्तो पनि आउँनेछ
जब तिम्रा यी अखवार र झुत्रे बोराका
लुगा पनि
झुण्ड्याइने छन् – म्यूजियममा
कालु पाँडेजस्तै
कालु पाँडेको लुगासँग
र त्यसबेला लेख्नेछ इतिहासकारेले
‘उहिले–उहिले’को नेपालमा
दुईथरिका मानिस थिए
एक थरि
जो अखवारमाथि पल्टनथे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,
अर्कोथरि
जो त्यही खबरको न्यानो ओढेर
पुन–माघको जाडो काट्थे बेखबर भएर
…उहिले–उहिलेको नेपाल
एउटा बासी अखवारजस्तो थियो ।

 

(Visited 281 times, 1 visits today)

टिप्पणी

comments