Main Menu

सहमतिका साथ अघि बढौँ – अध्यक्ष ओली

parties-agreement-oliजेष्ठ १३, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राखे ।

देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गरे ।

एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गरे । निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उनको भनाइ थियो ।

एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिए । उनले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह गरे ।

नवनिर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने प्रण गरे । ३ वर्षभित्र महानगरका सबै वडामा कालोपत्रे, खानेपानीको व्यवस्था गर्ने बताउँदै उनले महानगरमा निर्वाचित भएपछि अब आफू सबैको साझा भएकाले सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेरअघि बढ्ने धारणा राखे ।

नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउन सबैसँग एकताबद्ध भएर अघि बढ्ने विचार व्यक्त गरिन् ।

पूर्व मन्त्रीद्वय खगराज अधिकारी र किरण गुरुङले पार्टी एकढिक्का भएर अघि बढेकाले नै एमालेलाई सफलता मिलेको बताए ।

(Visited 120 times, 1 visits today)

टिप्पणी

comments