Main Menu

पाइपबाट पेट्रोल ल्याउनको लागि काम शुरु

फागुन २५, वीरगञ्ज

नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ ।

सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन् । १५ महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् । त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले बताए । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।

भारत सरकारको इण्डियन आयल कर्पाेरेशन (आइओसी)को करिब ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ । नेपालतर्फ रक्सौल–अमलेखगञ्जसम्म ३६.७ किमी र भारत मोतीहारी रक्सौलसम्म ३३.२ किमी गरी ६९.९ किमीको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि वीरगञ्जमा पाइप आउन थालेको हो । प्रतिमहिना रु. २ लाख ३० हजारका दरले वीरगञ्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा भाडामा लिएर भण्डारणस्थलमा सो पाइप भण्डारण गरिएको छ । पाइपलाइन प्रयोगमा आएपछि प्रतिघण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्ने र चुहावट नियन्त्रणमा समेत रोकिने विश्वास परियोजनाले लिएको छ । पाइपलाइन सञ्चालन भएपछि नेपाल सरकारले बेहोर्दै आएको रु. १ अर्ब ५० करोड ६ वर्षसम्म बचत हुने बताइएको छ । यसले पेट्रोलियम ढुवानी लागत सस्तो हुने तथा चोरी, चुहावट, मिसावट तथा ट्राफिक जामजस्ता समस्या हट्नेछन् ।

पाइपलाइनबाट एक पटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ । वीरगञ्जको शंकराचार्यद्वारबाट ३ किमी गण्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको दायाँबायाँ भागमा पाइप ओछ्याउने योजना छ । भारत महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इञ्च तथा मोटाइ ०.२१९ इञ्च छ ।

(Visited 89 times, 1 visits today)

टिप्पणी

comments