Main Menu

वहस पृथ्वी जयन्ती र पृथ्वीनारायण शाह

खसआर्य, राजावादी एवं गोर्खालीकाले गौरवको र जनजातिहरुले कालो दिन मनाए

पुस २८, काठमाडौं

परम्परा अनुसार पृथ्वीनारायण शाहलाई घृणाले कीर्तिपुर स्थित एउटा गाडिएको ढुङ्गामा थुक्दै अभियन्ताहरु ।

एकात्मक सामन्ती शाहवंशीय राजतन्त्रलाई माओवादी जनयुद्धको जगमा सङ्गठित र सञ्चालित ६२-६३ को जनआन्दोलनले राज्यसत्ताको तहमा जरैदेखि उखेलिदियो । नेपालमा साङ्ठनिक रुपले बलियो एकात्मक सामन्ती राजतन्त्रको स्थापना पृथ्वीनारायण शाहले नै गरेका हुन् । पछि यसलाई पूर्वमा तिस्ता र पश्चिममा काँगडासम्म नेपाललाई विस्तार गर्नमा उनका उत्तराधिकारीहरुले गरे ।

पृथ्वीनारायण शाहले गोर्खाबाट आई षडयन्त्रमुलक खेल खेली सोझा तत्कालीन वैभवशाली नेपाललाई आफ्नो कब्जामा लिएको कुरा इतिहासको ब्याख्यामा स्पष्ट झल्किन्छ । यही कारणले नै होला रैथाने काठमाडौंवासीले पृथ्वीनारायणलाई दिलैदैखि कहिल्यै आदर गर्न सकेका छैनन् ।

राज्य विस्तारको क्रममा पृथ्वीनारायणले पूर्व र पश्चिमका गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि आदिवासी जनजातिका राज्य एवं तिनीहरुका जनतालाई जुन षडयन्त्र र अपमानजनक अमानवीय व्यवहार गरे त्यसैको कारणले पनि होला आदिवासी जनजातिहरुले कहिल्यै पृथ्वीनारायणलाई आदर गरेनन् ।

नेपाल फेरि टुक्रिन त सक्दैन, तर इतिहासका पात्रलाई उसले जितेको आधारमा महान भन्नुले हारेकाहरुलाई कस्तो चोट पर्छ भन्ने कुरा हेक्का राख्नु जरुरी हुन्छ ।

गणतन्त्र आए सँगसँगै शाहवंशीय एकात्मक सामन्ती राजतन्त्र स्थापना गरेका पृथ्वीनारायणको जन्मजयन्ती मनाउने हिजोको चलनलाई क्रान्तिकारी नेपाली जनताको चाहना अनुसार नै अन्त्य गरिसकेकोमा अहिले आएर राजतन्त्रवादी राप्रपा पनि सत्तामा रहेको नेपाली काङ्ग्रेसको सरकारले पृथ्वी जयन्ती पुन: मनाउने चलन सुरु गरेपछि यो फेरी एकात्मक शासन चलाउने अभ्यास पो हो कि भन्ने शङ्का पनि गर्न थालिएको छ । जे होस् अहिले यो महा वहसको विषय बनेको छ ।

इतिहासमा नेपाल भनेको मुख्यत: काठमाडौं खाल्डो नै थियो । इतिहासमा किराती साहसिक व्यक्तित्व यलम्बरले काठमाडौं खाल्डोमा बस्ती बसालेको विश्वास गरिन्छ । र, वस्ती बसालेपछि उनै नेपाल अथवा अहिलेको काठमाडौं खाल्डोका पहिला राजा भएको इतिहास छ ।

गाई पाल्ने गोपालहरुको पहिलो वस्ती अहिलेको थानकोटमा भएको प्रमाण ऐतिहासिक अवशेषहरुले बताउँछन् । गोपालहरुले पछि बस्ती बिस्तार नै गरेपछि गोपालवंशीय राजाहरुको राज्य काठमाडौं खाल्डोमा भयो र ब्यबस्थित शासन त्यसबेलादेखि चलेको बिश्वास गरिन्छ।

पछि भारतबाट आएका लिच्छविहरुले गोपालवंशीहरुलाई हराई लिच्छवि शासन र उनीहरुलाई पनि हराई पछि मल्लहरुले नेपाल (काठमाडौं) खाल्डोमा शासन गरेको इतिहास छ । नेपाल खाल्डो नै नेपाल भए पनि यसको सीमा उपत्यका बाहिर पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चारैतिर फैलिएको इतिहासमा उल्लेख पाइन्छ ।

लिच्छवि र मल्लकालीन नेपाल समृद्धिको पहिचान भएको अहिलेसम्म पनि ज्यूँदो रहेको कलाकृतिले बताइरहेको छ ।

तर, अहिलेसम्म पनि नेपाल स्थापना गर्ने यलम्बर, जो किराती थिए, उनलाई नेपाल निर्माताको रुपमा मान्दा इतिहासलाई न्याय हुने कुरामा ध्यान कसैको गएको छैन ।

महा वहसको थालनी

अहिले फेसबुक पेजहरुमा खस आर्य (जो पृथ्वीनारायणको जात, धर्म र संस्कृतिसँग मिल्छन्) हरु, हिजोका पञ्चहरु र गोर्खालीहरुले पृथ्वीनारायण महान हुन् भनी गौरव र श्रद्धाञ्जली व्यक्त गर्ने शब्दहरु भरिरहेका छन् । त्यसरी व्यक्त गर्नेहरुमा सर्वसाधारणदेखि कांग्रेस, कम्युनिस्टलगायत अन्य दलहरुका नेता कार्यकर्ताहरुसमेत परेका छन् । उदेग लाग्दो कुरो त हिजो एकात्मक सामन्ती राजतन्त्रबिरुद्ध जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेका डाक्टर बाबुराम भट्टराई (जो खस आर्य समुदायका र गोर्खाका रैथाने हुन्) र नारायणकाजी श्रेष्ठ (जो जनजाति नेवार समुदायको भए पनि गोरखाका रैथाने हुन्) देखि अहिलेका वाम गठबन्धनका शिर्षस्थ नेता खड्ग ओलीसमेत पृथ्वी नारायणको गुणगान गाउँनेमा अगाडि आएका छन् ।

डा. बाबुराम भट्टराई

नेपाली इतिहासका एक महान् व्यक्तित्व पृथ्वीनारायण शाह ( इ सं १७२३ – १७७५ ) को २९६ औं जन्मजयन्तीको उपलक्ष्यमा वहाँप्रति हार्दिक सम्मान र सबैमा हार्दिक शुभकामना !

नेपाल राज्यको भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाहले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट सबै नेपालीले सकारात्मक रूपमा ग्रहण गर्नुपर्दछ। साथै उनकै भाषामा ‘चार वर्ण छत्तीस जातको फूलवारी’ नेपाललाई एक्काइसौं शताब्दीको नयाँ परिवेशमा सही संघीयताको प्रवन्धन मार्फत् इन्द्रधनुषी राष्ट्रीय-राज्यको रूपमा भावनात्मक रूपले समेत एकतावद्ध गर्न विशेष ध्यान दिनुपर्दछ।

नारायणकाजी श्रेष्ठ प्रकाश

नेपालको एकीकरणका प्रमुख नायक पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्दाञ्जली ।

खड्ग ओली

विभिन्न टुक्रामा विभाजित भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रो पिता–पुर्खाहरुले गरेको’ स्मरण गर्दै उनले त्यसकै कारण ‘आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं ।

माथि उल्लेखित तीन नेताभन्दा अलि फरक बिचार माओवादी केन्द्रका नेता प्रचण्डले व्यक्त गरेका छन् ।

सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको भए पनि उनले सामन्ती राज्य विस्तार गरेको कुरा प्रचण्डले बताएका छन् ।

उनी भन्छन्, ‘नेपालको केन्द्रिकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।’

प्रचण्डले ‘पृथ्वीनारायणले राष्ट्रिय एकताको नेतृत्व गरे वा राज्य मात्र विस्तार गरे’ भन्ने कुरो बहसकै विषयको भएको बताए ।

‘पृथ्वीनारायणलले भुरेटाकुरे राज्यहरुलाई केन्द्रिकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ,’ प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहले राज्य विस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सहि निष्कर्षमा पुग्न सकिन्छ ।’ (एभरेस्टदैनिकडटकम बाट)

खस आर्य भएर पनि आफनो फेसबुक पेजमा पूर्व शिक्षामन्त्री एवं माओवादी युवा नेता डि आर पौडेलले अलि फरक बिचार व्यक्त गरेका छन् । उनी लेख्छन्,

देउवा र राजतन्त्रबीचको साइनो !
पटकपटक देउवा प्रधानमन्त्री भएकै बेलामा राजाले किन उनलाई अपदस्त गर्थे भन्ने रहस्य बल्ल उजागर भयो । गणतन्त्र आएको दश बर्ष बितेपछि संघीयता सहितको संविधान जारी भएर त्यसको कार्यान्वयन गर्न सत्तामा पुगेको देउवा नेतृत्वको सरकारले राजतन्त्रप्रति मोह र भक्ति देखाउँदै कथित राष्ट्रिय एकता दिवसको संज्ञा दिएर पृथ्वीनारायण शाहको जन्मोत्सव मनायो, राष्ट्रपतिसमेतलाई त्यहाँ ल्याएर बिटुलो बनायो, त्यतिबेला राजाले देउवालाई अपदस्त गर्नेभन्दा पनि देउवाकै ईच्छानुसार कदम चाल्ने र सत्ता हातमा लिने रहेछन् भन्ने पुष्टि भयो ।
सरकारको यो कदमसँगै १८ भाइ बिनाविभागीय मंत्रीहरुको पनि देउवामोह भङ्ग भएको छ । (देउवाले काम त दिएका थिएनन्, भोलीदेखि दाम पनि नलिने रे)

पृथ्वी जयन्ती पुन: मनाउने सरकारको निर्णय र पृथ्वीनारायण शाहलाई गौरवको विषय बनाउने बिचारको विपक्षमा आफ्नो फेसबुक भित्तामा पोखिएका केही प्रतिनिधि बिचारहरु यहाँ प्रस्तुत गरिन्छ ।

बिकेश श्रेष्ठ

पृथ्वी नारायण शाहले नेपाल एकीकृत गर्यो भनेर सम्मान गर्ने हो भने विश्व एकीकरण गर्न खोज्ने हिटलरलाई किन सम्मान नगर्ने ? के पृथ्वी नारायणले सवैको सहमतिमा विभिन्न राज्यलाई मिलाएर एउटै राज्य वनाएको हो र ?  उनले सेनाको बलमा विभिन्न राज्यमाथि आक्रमण गर्दै हजारौं मान्छे मार्ने , लमजुड०का राजालाई संझौंता गर्ने भनेर त्रिशुलीको किनारमा बलाई षड्यन्त्रमूलक तरिकाबट हत्या गरी लमजुड० कव्जा गर्ने जस्ता कयौं अपराध गर्दै कीर्तिपुरका जनताको नाक र कान काट्ने जस्ता अपराधपूर्ण काम गरे । पृथ्वीनारायणले आफनो समयको हतियार प्रयोग गरेर हजारौं जनता मारे भने हिटलरले पनि आफ्नो समयको विकसित हतियार प्रयोग गरी लाखौं मारे । यदि पृथ्वीनारायणको पालामा हिटलरले पाएको जस्तो ग्यास च्याम्वर पाएको हुँदो हो त अरूको भन्न सकिन्न, कीर्तिपुरका सारा जनता ग्यास च्याम्वरमै सखाप हुने निश्चित थियो ।

गोबिन्द छन्त्याल

पृथ्वीनारायण शाहलाई किन प्रत्येक बर्ष थुक्छन् र सराप्छन् ?

पृथ्वी नारायण शाहको जन्मदिवसको अवसरमा प्रत्येक वर्ष किर्तिपुरमा सामुहिक भेला भई पृथ्वीनारायण शाहलाई थुक्ने प्रचलन रहेको छ ।

वेइमानी गरी युद्ध जितेको र युद्धपश्चात पनि क्रुरतापूर्वक नाक कान काटेको कारण शाहलाई युद्धअपराधीको रुपमा घृणा गर्ने चलन चलेको हो ।

पृथ्वी नारायणको सहि फोटो कस्तो थियो कतै पाइँदैन । अहिले देखिने फोटो काल्पानिक फोटो हो, जसलाई वालकृष्ण समको निर्देशनमा अमर चित्रकारले कोरेका हुन । त्यस्तै गरी गोर्खामा भएको गोर्खा दरबार पनि वि.स. २०२८ सालमा भब्य बनाइएको हो । लोकतन्त्र पश्चात पृथ्वीनारायण शाहको जन्मदिनको छुट्टिलाई कटाएको थियो, जसलाई नेपाली जनताले स्वागत गरेका थिए । पृथ्वीनारायणको बारेमा जे इतिहास पढाइएको छ त्यो सत्य होइन । उनी मगरको रगत मिसिएका र उनले हिन्दूको विरुद्धमा पनि काम गरेको इतिहास छ, तर केही हिन्दूहरु उनको बचाउ गर्न लागेको देखिन्छ । इतिहास बुझेर लाग्नु वेश । उनको इतिहास बुझ्न अब टाढा जान पर्दैन ।

राम शरण सायमी

देश लथालिङ्ग भयो भन्दैमा बितिसकेका अैरेगैरे खलनायकहरुलाई नायक बनाउन खोज्नु झन खतरनाक साबित हुनेछ ।

कुनै पनि परिवर्तन , कुनै पनि ऐतिहासिक घटना प्रसंशनीय वा अप्रशंनीय हुनलाई त्यस्तालाई स्विकार्न वा बिरोधमा उभिन, त्यसपछिका र त्योभन्दा अगाडिका अबस्थालाई अध्ययन गर्नु अति जरुरी हुन्छ ।

संदर्भ पृथ्वीनारायण शाह :
१.१ पृथ्वीनारायणले जित्नु अगाडिको नेपालमा ७ वटा विश्व सम्पदाहरु थिए ।
पृथ्वीनारायण शाहले जित्नुभन्दा अगाडिको लिच्छविकालिन नेपालदेखि मल्लकालिन नेपाल के कस्तो अबस्थामा थियो सबैले बुझ्न जरुरी छ। लिच्छविकालिन नेपाल स्वर्णयुग कहलाउन सफल भएको थियो भने मल्लकाल पनि कहाँ कम थियो र ? पृथ्वीनारायणशाहले जित्नुअगाडि नै यो अहिलेको नेपालको १० वटा विश्व सम्पदाहरुमध्ये ७ वटा (कान्तिपुर,ललितपुर ,भक्तपुरका ३ दरबार स्क्वायर , चाँगुनारायण, बौद्ध , पशुपति , स्वयम्भू ) यही काठमाडौं उपत्यकाभित्र थिए । बाँकि ३ वटा – लुम्बिनी , चितवन राष्ट्रियनिकुञ्ज र सगरमाथा । पृथ्वीनारायण शाहले जिति सकेपछि त्यो पनि यहीँकै सिकर्मी ,दकर्मी लगी नुवाकोटको ९ तल्ले दरबारबाहेक अरु के नै बनाए र ?
पृथ्वीनारायण शाहले यो नेपाल खाल्डो जितिसके पछिको हाम्रो नेपालको अबस्था कस्तो थियो र त्ससपछि अहिलेसम्मको नेपालको अबस्था कस्तो छ ? सर्बबिदितै छ । कुनै पनि ऐतिहासिक घटना वा परिवर्तन जसरी निम्त्याएको भए पनि , त्यसपछिका घटनाक्रमहरु राम्रो भएको भए, मन नपरे पनि त्यसलाई स्वीकार्ने हुने हुन्छ । होइन भने त्यस्को बिरुद्धमा उभिदिने हो । अभियान र आन्दोलन निरंतर गरिरहने हो ।
१.२ एकीकरण होइन जबर्जस्तीकरण थिए ।
अबिकसित गोरखालाई त्यागेर सुबिधा सम्पन्न ठाउँमा सुबिधा भोग्न, त्यो ताकाको गोरखा वरपरको सबैभन्दा बिकसित ठाउँ काठमाडौं उपत्यका कब्जा गर्न हुनेनहुने सबै हतकण्डा अपनाएर पृथ्वीनारायणले नेपाल खाल्डो जितेका थिए । देश र जनताका लागि होइन, आफ्नो मोजमस्तिका लागि पसेका थिए नेपाल उनी । सुबिधा सम्पन्न नेपाल खाल्डोमा शासन गर्ने नियतले पसेका पृथ्वीनारायण शाहले काठमाडौं खाल्डोमा हमला गरी यहाँका मल्ल राजाहरुलाई पराजित पारिदिएका थिए । पछि सेनाको क्षमता बलियो भइसकेपछि एकीकरणत होइन, गोरखा राज्यलाई बिस्तार गरिएको मात्र हो । राज्य बिस्तार गर्नु भनेको एक राज्यले अर्को राज्यको आर्थिक, राजनैतिक, सैनिकहरुलाई नियन्त्रणमा लिने हो । एकीकरण भनेको सबैलाई समेटेर, बिचार बिमर्श गरेर गरिने बिषय हो । बिना सहमति , बिना सरसल्लाह गरिएको राज्य बिस्तार कसरी “एकीकरण” भयो ? मात्र त्यो “जबरजस्तीकरण” थियो ।

१.३ संदर्भ यौटा, हेर्ने दृष्टिकोण भने दुई बेग्लाबेग्लै ?

सानातिना राज्यहरुमा बिभाजित भारतमा शासन गर्ने नियतले पसेका अङ्ग्रेजहरुले कब्जा गरी एक सिंगो विशाल भारतलाई जन्म दिए । त्यत्रो ठूलो सिंगो बिशाल भारतको जन्मदाता अङ्ग्रेजहरुलाई बिस्तारबादी / उपनिवेशवादी भनिने । अनि त्यस्तै काम गरेका पृथ्वीनारायण शाह मात्र कसरी एकीकरण गर्ने राष्ट्रनिर्माता बने?
भारतीयहरुको लागि अङ्ग्रेजहरु बिदेशी थिए र भए भने गोर्खालीबाहेकका अरु सानातिना आफ्नै स्वतन्त्र राज्य खडा गरी बसेका यहाँका मूलबासी गैर गोर्खालीहरुका लागि पृथ्वीनारायण शाह मात्र कसरी स्वदेशी भए ?
भारतीयहरुले क्रान्ति गरी अङ्ग्रेजहरुलाई धपाउन सफल भए । फरक यति मात्र हो नेपालका मूलबासीहरु पृथ्वीनारायण शाहलाई धपाउन सफल भएनन् ।
यौटै बिषयलाई फरक दुई दृष्टिकोणले सोच्नु कति सम्म मनासिब होला ? यस्ता एकतर्फी कुराहरु मात्र हामी सोझा सिधा नेपालीलाई कसले र किन पटकपटक दोहोर्‍याई दोहोर्‍याई सिकाईदैछ हाम्रो नेपाली समाजमा ? पृथ्वीनारायण शाहका जानाजानी लुकाउन खोजेका यस्ता इतिहासका पन्नाहरु पल्टाउने समय आइसकेको छ ।

१.४ पृथ्वीनारायण शाह अमानवीय राजा थिए ।

काठमाडौं खाल्डो जिति सकेपछि, कान्तिपुर र ललितपुरका सारा मल्लहरुलाई, भेटेसम्म खोजीखोजी मारेका थिए । कति त डरले, थर फेरि प्रधानाङ्ग बन्न पुगेका थिए । भक्तपुरका आफ्नै मीतेरीको पिता तत्कालीन भक्तपुरका राजा रणजीत मल्ललाई समेत अन्धोपारी काशीबास पठाएका थिए । सिध्दीनरशिंह मल्ललाई त खाना खान स्विकारेन भनेर बन्दीगृहमै प्वालहरु ताली दफन गरीदिएका थिए ।
आत्मसमर्पण गरिसकेका कीर्तिपुरका बासिन्दाहरुको नाक काटिदिएका थिए । कति मात्र कीर्तिपुर बासिका नाक कातेका होलान् ? गन्हाई बसि नसक्दा, काटिएका नाकहरु त्यो बेलाको दुर्गम क्षेत्र थानकोट क्षेत्रमा फ्याकिएको थियो । त्यो ठाउँलाई अहिले “न्हाय् द्वोँ” भनिन्छ । नेपालभाषामा “न्हाय्” को अर्थ नाक हो भने “द्वोँ” को अर्थ ढिस्को हो । मतलब नाकको ढिस्को ।

राईहरुलाई ज्यूंदै जलाईदिएका थिए त , किरातीहरुलाई ज्यूंदै बोरामा कोची अरुण नदीमा बगाई दिएका थिए र चेलीबेटी छोरीहरुलाई बलात्कार गरी योनीमा खुर्सानी दलिदिएका थिए ।
कति अमानवीय थिए हाम्रा कथित राष्ट्र निर्माता ?

१.५ पृथ्वीनारायणले मात्र नेपाल बिस्तार गरेका होइनन् । नेपालको सिमाना पृथ्वीनारायण शाहले मात्र बिस्तार गरेका होइनन्, त्यो भन्दा पहिले पनि पटकपटक भइसकेको अबस्था इतिहासमा उल्लेख नभएको होइन । किन पृथ्वीनारायण शाहलाई मात्र यत्रो प्रसंशा ? अरु पात्रहरुको नाम किन लुकाउन खोजियो ?
त्यही परापूर्वकालदेखि स्थापित भूभागलाई आधार बनाई मेचीदेखि महाकाली सम्मको सिमा छुत्याई सुगौली सन्धी मार्फत अङ्ग्रेजहरुले बृहत् नेपाललाई खुम्च्याई दिएका थिए । पृथ्वीनारायण शाहले बिस्तार गर्नु अघिको भूभाग पनि यति मात्रै हो भनेर अङ्ग्रेजहरुले स्विकारेको ऐतिहासिक तथ्य नभएको भए आजको हाम्रो नेपाल योभन्दा पनि नि:सन्देह सानो हुन्थ्यो होला । इतिहासको विभिन्न कालखण्डमा विभिन्न कारणले एकीकृत नेपाल बिभाजित भएका थिए ।

१.६ बहुधर्माबलम्बीय नेपाललाई हिन्दू राष्ट्र वा असलि हिन्दूस्थान बनाउन खोज्ने अरु कोही होइन राष्ट्र निर्माता कहलिएका पृथ्वीनारायण शाह थिए ।

भारत अङ्ग्रेजहरुले कब्जामा परिसकेकोले, उल्टो यो हाम्रो बहुधर्माबलम्बीय देश नेपाललाई असलि हिन्दूस्थान बनाउन खोजियो । उनको ४ वर्ण ३६ जातको फुलबारी के हो बुझ्न जरुरी छ । ४ बर्ण, अरुकुनै धर्ममा नभएको, हिन्दू धर्ममा मात्रै उल्लेख गरिएका बर्णहरु – ब्राह्मण, क्षेत्री, वैश्य, सुद्र, मानिसमानिस बिचमै विभेद राख्ने , ब्राह्मण माथिल्लो जात,  सुद्र तल्लो अछुत जात भनेर छुट्टयाउने बर्णाश्रमलाई स्थापित गर्ने कस्तो ठूलो काम गरेका होलान् उनले ?

१.७ काठमाडौंका रैथानहरुलाई बिस्थापित गर्ने पहिलो ब्यक्ति पृथ्वीनारायणशाह थिए ।
यौटै सानातिना अपराधको लागि पनि काठमाडौं उपत्यका बाहिरका भए १/२ बर्षको जेल सजाय दिन्थे , काठमाडौंका रैथानेहरुलाई सार्वजनिक खुल्ला ठाउँमा लगी फाँसी दिइन्थे । दरबारमा कार्यरत त्यो बेलाका काठमाडौंबासीलाई एकचोटी सखाप गर्दा Revolt वा पासा पल्टिने डरले, तिनीहरूलाई तिनीहरूकै आफन्तहरुको नाक कान काटेर ल्याउने जस्ता अमानवीय आदेश दिन्थे पृथ्वीनारायण शाहले ।

देशभक्त जनगणतान्त्रिक मोर्चा भक्तपुर

 पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्‍यो भन्नु कोलमबसले अमेरिका पत्ता लगायो भन्नु र बेलायतले भारत एकीकारण गर्‍यो भन्नु उस्ताउस्तै हो । इतिहासमा ती सबैले आफ्नो स्वर्थको लागि लुट्पात र हत्या माचाएका थिए ।  
– तुल्सीदास महर्जन

(Visited 719 times, 1 visits today)

टिप्पणी

comments