Main Menu

प्यूठानमा परम्परागत सराँय नाच प्रतियोगिता सम्पन्न

कात्तिक ६, प्यूठान

pyuthan-traditional-saraya-danceपरम्परागत सराँय नाच आइतबार प्यूठानका विभिन्न स्थानमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगिताको रुपमा आयोजना गरिएको उक्त नाचमा जिल्लाका विभिन्न स्थानबाट १४ टोली सहभागी भए ।

स्थानीयहरुका अनुसार आजभन्दा झण्डै ६ सय वर्ष अघिदेखि यहाँ सराँय नाच चल्दै आएको इतिहास छ । हिन्दू धर्माम्बलीहरुले विश्वास गरेको कथा अनुसार तत्कालीन भित्रिकोट राज्यका राजाले भित्रिकोटबाट ‘वाहाँ नामक राक्षसलाई लखेट्दै डल्ले भन्ने स्थानमा ल्याएर हत्या गरेका थिए’ । र, त्यसैको सम्झनामा सराँय नाच गर्दै आएको स्थानीय हिन्दू धर्माम्बलीहरुको विश्वास रहेको छ ।

नाचमा नृत्य गर्ने व्यक्तिले खुँडा र तरवार हातले फन्नाउँदै ‘ऊ खोई, ऊ खोई ?’ भन्दै मान्छेहरुको बीचबाट कुशलतापूर्वक आफ्नो कलाकौशल प्रदर्शनी गर्छन् ।

‘राक्षसले धेरै दुःख दिएको र उक्त राक्षसलाई ठूलो शक्ति लगाएर मार्न सफल भएको’ विश्वासको आधारमा त्यसै उपलक्ष्यमा लगातार ३ दिन बिभिन्न स्थानमा विजय जुलुस मनाएझैँ गरी चितिखोला र पाठशाला भन्ने थानहरुमा दोस्रो र तेस्रो दिन सराँय नाच गर्ने गरिन्छ ।

विगतमा परम्पराको रुपमा स्वाभाविक रुपमा हुने यो नाच केही वर्षयता प्रतियोगितात्मक शैलीमा हुन थालेको हो ।

यस वर्षको प्रतियोगितामा प्रथम भएको पुण्यखोलाले १ लाख, दोस्रो भएको साँपडाँडाले ७५ हजार, तेस्रो भएको थापडाँडाले ५० हजार पुरस्कार प्राप्त गरे । त्यस्तै, सान्त्वनास्वरुप सहभागी सबै टोलीलाई २०–२० हजार पुरस्कार प्रदान गरिएको थियो । सान्वना पुरस्कार पाउने टोलीहरु स्याउलीवाङ्ग, दाखाक्वाडि, मरन्ठाना, प्यू.न.पा. ८ धर्मावती, जुम्रीकाँडा, मरन्ठाना सारिवाङ्ग, रजवारा, प्यू.न.पा. विजुवार, सिर्जनशील यु. समूह जुम्री, माजकोट र जुम्रीकाडाँडा रहेका छन् ।

उक्त प्रतियोगितामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी गोबिन्द पोखरेलले प्रत्येक टोलीलाई ४/४ हजार प्रोत्साहान रकम प्रदान गरे । त्यस्तै गरी प्यूठान नगरपालिकाका मेयर अर्जुन कक्षपतिले गत वर्ष छापडाँडाको टोलीलाई प्रोत्साहान स्वरुप वाद्यवादन सामग्री किन्न सहयोग रकम प्रदान गरेकोमा यो वर्ष विजयनगरलाई र आगामी वर्ष पुण्यखोलाको टोलीलाई सहयोग रकम प्रदान गर्ने घोषणा गरे । सहयोग घोषणा गर्ने क्रममा प्रेस सेन्टरका उपाध्यक्ष एवं इमूल्याङ्कनका कार्यकारी सम्पादक कमल गिरीले पनि प्यूठान नगरपालिका वडा नं.९ र १० का लागि १५/१५ हजारको दरले पञ्चे वाजाको वाद्यवादन सामग्री किन्न रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

(Visited 232 times, 1 visits today)

टिप्पणी

comments