Main Menu

अन्तर्वार्ता

म सामुहिक नेतृत्वमा विश्वास गर्छु– रञ्जित तामाङ [अन्तरवार्ता]

ranjit-tamang-interview(रञ्जित तामाङ भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय अध्यक्ष हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट यस बिद्यार्थी संगठनको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलन नेतृत्वका लागि निर्वाचनका कारणले चर्चाको विषय बन्यो । अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक लोकप्रिय निर्वाचन मार्फत् केन्द्रीय नेतृत्व चयन गरियो । रञ्जित तामाङ त्यही पहिलो निर्वाचनबाट निर्वाचित केन्द्रीय अध्यक्ष बनेका हुन् । २०३९ माघ १९ गते झापाको तोपगाछीमा जन्मेका बिद्यार्थी नेता तामाङ २०५५ सालमा अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन् । उनले आफू जन्मेको तोपगाछिस्थित अनुरत्न माविबाट २०५६ सालमा एसएलसि उत्तीर्ण गरेका थिए । अखिल क्रान्तिकारीमा लागेपछि २०५८ देखि ६० सालसम्म मुलुकमा तत्कालीन सरकारले थोपरेको संकटकालको समयमा उनी जेल परेका थिए । उनी २०६१ सालमा अखिल क्रान्तिकारीको झापा जिल्लाको अध्यक्ष एवं केन्द्रीय समिति सदस्य बने । २०६३ सालमा नेता तामाङ अखिल क्रान्तिकारीको काठमाडौं जिल्लाको अध्यक्ष बने । त्यस्तै गरी उनी २०६७ सालमा केन्द्रीय समितिको सचिव बने र त्यसपछि २०७१ बाट केन्द्रीय समितिको उपाध्यक्ष हुँदै भर्खरै सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्षमा निर्वाचित भए । बिद्यार्थी नेता रञ्जित तामाङसँग मूल्याङ्कन अनलाइनका लागि पत्रकार कमल गिरीले लिएको अन्तर्वार्ता संक्षेपमा यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

मूल्याङ्कन – यसपालिको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नेतृत्वको लागि पहिलो चोटि भएको निर्वाचनको कारणले पनि आम मिडियामा बढी चर्चाको विषय बन्यो । साथै निर्वाचनमा तपाईं र तपाईंका प्रतिद्वन्द्वी अर्का चर्चित बिद्यार्थी नेता अनिल शर्माबीचको प्रतिस्पर्धाले २१ औं राष्ट्रिय सम्मेलनलाई एक खालको ऐतिहासिक नै बनायो । निर्वाचनमा तपार्ईंले त बाजी मार्नुभयो नि ! यो नतिजा तपाईंलाई कस्तो लागिरहेको छ ?

रन्जित तामाङ – यो स्वभाविक छ कि हामी निर्वाचनको नयाँ प्रक्रियामा गएकाले बाहिर अलि चर्चा परिचर्चा बढी नै भयो । विगतमा हामीले निर्वाचनको प्रक्रियाबाट भन्दा पनि राजनीतिक आन्दोलनको आवश्यकताको आधारमा नेतृत्व चयन गर्दै आयौं । तर, बदलिंदो समय र सन्दर्भमा हामीमाथि धेरै प्रश्नहरु उठे । संगठनहरुमा राजनीतिक नेतृत्वमा मौलाउँदै गरेको नातावाद र कृपावादको आधारमा नेतृत्व चयन गरिने प्रथा चल्न थाल्यो, जुन अत्यन्त अलोकप्रिय सावित भयो । त्यस्तो नेतृत्व असक्षम र अयोग्य समेत हुन पुग्यो । क्रान्तिकारी बिद्यार्थीहरुमाझ त्यस्तो प्रकृयाबाट चयन भएका नेतृत्वप्रति अविश्वास र शंकाका प्रश्नहरु उठ्न थाले । त्यसैले निर्वाचन विधिद्वारा नै नेतृत्व छानिनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।

अखिल क्रान्तिकारीमा नेतृत्व चयनको सवालमा सुरुमै मेरो र अनिलजी बीच छलफल भएको थियो । हामीहरुबीच उहाँ र म जसले भए पनि एकजनाले नेतृत्व सम्हाल्नै पर्नेछ भन्ने सहमति भयो । र, स्वस्थ प्रतिस्पर्धाको बाटोबाट नेतृत्व चयन गर्ने प्रकृयाको थालनी गरेर जाउँ भन्ने भयो । त्यस अनुसार हाम्रो निर्वाचन अत्यन्त सौहार्दपूर्ण रुपमा सम्पन्न पनि भयो । क्रान्तिकारी बिद्यार्थी आन्दोलनमा यो चुनाव उदाहरणीय बनेको छ ।

मूल्याङ्कन – तपाई प्रतिस्पर्धाबाट अध्यक्ष बन्नुभएको छ । त्यस हिसाबले तपाईंलाई धेरै चुनौति हुनसक्छ । नतिजा नै आउने गरी तपाईं कसरी अगाडि बढ्नुहुनेछ ?

रञ्जित तामाङ – अध्यक्षको जिम्मेवारी सम्हाल्ने कुरा स्वभाविक रुपमा नै चुनौतिपूर्ण हुन्छ र छ । तथापि म एक्लैले यो चुनौतिको सामना गर्ने होइन । सिङ्गो केन्द्रीय समितिले गर्ने हो । राष्ट्रिय सम्मेलनमा प्रतिनिधि पर्यवेक्षक भएर सहभागी भएका सबै बिद्यार्थी साथीहरुको धारणा, बिचार अनुसार र सम्मेलनले पारित गरेका विधान तथा प्रतिवेदनको परिधिभित्र रहेर सम्मेलनले तय गरेका कार्यनीति र कार्यदिशा अनुसार कार्यक्रमहरुलाई अगाडि बढाउने हो । मैले के विश्वास गरेको छु भने सिङ्गो केन्द्रीय समिति र पदाधिकारी टीम मेरो साथमा हुनेछन् । हामीले सम्मेलनमा प्रतिनिधि पर्यवेक्षकहरुबीच के प्रतिवद्धता व्यक्त गरेका छौं भने हामीले अखिल क्रान्तिकारीलाई नम्बर एकको संगठन बनाउनेछौं । त्यस्तै गरी शैक्षिक क्षेत्रमा अहिले विद्यमान विसंगतिलाई हटाउनको लागि बिद्यार्थी आन्दोलन उठाउन सक्षम संगठनको रुपमा हामीले यो संगठनलाई विकास गर्नेछौं भन्ने पनि हामीले प्रतिवद्धता व्यक्त गरेका छौं र यो उद्देश्य हासिल गर्न हामी सक्षम हुनेछौं भन्ने कुरामा हामी विश्वस्त छौं ।

मूल्याङ्कन – अरु बिद्यार्थी सङ्गठनहरुमा चुनावी प्रकृयाबाट नेतृत्व छान्ने प्रणाली अगाडिदेखि नै रहँदै आयो । उनीहरुमा यसबाट उत्पन्न हुने घटना परिघटनाहरुलाई पचाउने क्षमता देखिन्छ । तर, क्रान्तिकारी बिद्यार्थीमा अहिले भर्खर सुरु भएको यो प्रथा उनीहरुले पचाउन सक्लान् ? चुनावमा ध्रुवीकृत भएका बिद्यार्थी नेता कार्यकर्ताहरुलाई तपाईंले कसरी एकतावद्ध गरी अगाडि बढ्नुहुन्छ ?

रञ्जित तामाङ – हामीले साझा प्रतिवद्धता बनाएर नै निर्वाचनमा गएका हौं । त्यसैले निर्वाचनमा भएको ध्रुवीकरण अब रहँदैन । निर्वाचनको परिणामलाई हामी सबैले स्वीकारेका छौं । निर्वाचनको बेलामा पनि हामीले सबै प्रतिनिधि पर्यवेक्षकहरुलाई भनेका थियौं कि हामी केन्द्रीय समितिमा सबै प्रकारका मनोविज्ञान र मनोभावनालाई समेटेर अगाडि बढ्छौं । यो सम्मेलन एकताको सम्मेलन हो । त्यसैले एकतामा आएका सबै साथीहरु नै केन्द्रीय समितिमा समेटियून् भन्ने भावना प्रतिनिधि पर्यवेक्षकहरुको मनोभावना रह्यो, जुन निर्वाचनको परिणाममा अभिव्यक्त पनि भयो । यति हुँदाहुँदै पनि केही साथीहरु निर्वाचनबाट समेटिन छुटेका छन् । तिनीहरुलाई समेट्न म प्रयासरत छु ।

वास्तवमा निर्वाचनमा जानुपर्छ भन्ने कुरा सम्मेलनमा एक्कासी आएको होइन । हामीले केही वर्ष अगाडिदेखि नै यस कुरालाई छलफलमा ल्याई एक प्रकारको समझदारी बनाउँदै आएका हौं । र, त्यही समझदारीले सम्मेलनमा मूर्त रुप लिएको हो । अहिले सम्मेलनले निर्वाचन मार्फत् नेतृत्व निर्माण गरेको छ । यसलाई लिई कोही पनि आत्तिनुपर्ने छैन । म सबै प्रकारको मनोभावनालाई समेटेर अगाडि बढ्नेछु । म कसैलाई कुनै वैरभाव नराखी संगठनका कार्यक्रमहरुमा सबैलाई समान सहभागी, जिम्मेवारी र भूमिका दिई अगाडि बढ्छु । मैले गणेश प्रवृत्तिको होइन कुमार प्रवृत्तिको आधारमा साथीहरुलाई जिम्मेवारी दिने, उत्तरदायित्व बहन गराउने र मूल्याङ्कन गर्ने गर्छु । र, यसैको आधारमा पुरस्कृत र कार्वाही गर्ने गर्छु । मैले कुरौटे होइन काम गर्नेलाई संगठनको मूल जिम्मेवारी दिने गर्छु ।

म सामुहिक नेतृत्वमा विश्वास गर्छु । संगठनमा सबैलाई समेटी अखिल क्रान्तिकारीलाई एकीकृत र सवल बिद्यार्थी संगठनको रुपमा विकास गर्न म प्रतिवद्ध छु ।

मूल्याङ्कन – तपाईंका मुख्य प्राथमिक एजेन्डाहरु केके हुन् ?

रञ्जित तामाङ – सार्वजनिक शैक्षिक संस्थाको सुधार र स्तर उन्नतिमा विशेष जोड दिनेछु । शिक्षा ऐन मार्फत आएका संरचना अनुरुपका शैक्षिक क्षेत्रहरुलाई व्यवस्थित गर्नको निम्ति तिनीहरुलाई प्राथमिकतामा राखेर यो कामलाई कार्यान्वयनका लागि अगाडि बढ्न दवाब दिने कार्यक्रमलाई अगाडि बढाउनेछु । विश्वविद्यालय र कलेजहरुबाट बेरोजगारहरु उत्पादन भई बिदेश पलायन हुने स्थितिलाई रोक्नका लागि आत्मनिर्भर अर्थतन्त्र अंगाल्नका निम्ति सरकारलाई दवाब दिने कार्यक्रमलाई म अगाडि ल्याउनेछु । टेक्निकल र भोकेसनल शिक्षा दिने संस्थाहरु निर्माण गरी त्यसमा सबै प्रकारका जनताको पहुँच हुने स्थिति निर्माण गर्नका लागि पनि सरकार तथा सम्बन्धित निकायहरुमा दवाब सिर्जना गर्ने कार्यक्रम ल्याउने पनि मेरो प्राथमिकतामा पर्दछ । त्यस्तै गरी संविधानले तय गरे अनुरुप आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क रुपमा संचालन गर्न सरकारलाई दवाब दिन पनि म भूमिका खेल्दछु । यी कुराहरुसँगसँगै हाम्रो संगठनलाई मुलुककै नम्बर एकको बनाउन पनि म भूमिका खेल्दछु । शैक्षिक रिनको सम्बन्धमा सरकारले हामीसँग गरेका सहमतिहरुलाई अक्षरशः कार्यान्वयन गराउनका लागि पनि म भूमिका खेल्दछु ।

(Visited 414 times, 1 visits today)

टिप्पणी

comments