Main Menu

रसुवामा पहिरोमा परी ४ जना बेपत्ता,अन्य ४ घाइते

 

rasuwa-landslide-kills-4साउन २३, नुवाकोट । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका ४ जना हराइरहेका छन् भने घाइते अवस्थामा ४ जनालाई उद्धार गरिएको छ ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनकी बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । पहिरोमा परी अन्य ४ जना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन ।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

(Visited 156 times, 1 visits today)

टिप्पणी

comments