Main Menu

कि कसो ?

आयल निगमको जग्गा

सुरेश किरण

नेपाल आयल निगमले हालै एउटा ठूलै प्लट जग्गा खरिद गरेको रहेछ । जग्गा के खरिद गर्यो जग्गैको विवाद शुरु भयो । किनभने निगमले जो जग्गा खरिद गरेको हो त्यो अत्यन्त महंगोमा किनेको रहेछ । अहिले निगमलाई महंगोमा किन जग्गा किनेको भन्ने आरोप लागेको छ । यसको साथसाथै नयाँ कुरा के भइदियो भने निगमले किनेको जग्गा हालै आएको वर्षातले गर्दा पानी मै डुब्न पुगेछ । अब यसमा पनि आरोप लागेको छ, पानीमा डुब्ने जग्गा किन किनेको ?

वास्तवमा निगमले किनेको जग्गामाथि लागेको आरोप यही दुईटा प्रश्नले समाधान गर्छ । यसमा लामो कुरै गर्नु पर्दैन । किनभने निगमले जो जग्गा किनेको हो, त्यो अहिले पानीमा डुबेको छ । वास्तवमा निगमले किनेको जग्गाको मूल्य बढ्नुको कारणै यही हो । पानी । यो त जग्गा मात्र होइन, पानी समेत किनेको भयो । पानी समेत किने पछि पानीको अलग पैसा लाग्दैन ?

वास्तवमा पानी समेत भएको जग्गा किनेर निगमले अत्यन्त बुद्धिमानी गरेको छ । किनभने निगमको काम त तेल बेच्ने हो । तेल बाहिरबाट ल्याउनु पर्छ । बाहिरबाट ल्याउनु पर्ने यस्तो सामान भोलि के हुन्छ कसलाई के थाहा ? खाडी मुलुकमा तनाव बढ्यो भने तेल आउन बन्द हुन सक्छ । भारतले नाकाबन्दी लाइदियो भने तेल बन्द हुन सक्छ । अरु के कुरा, नेपालकै ट्यांकरवालाले हडताल मात्रै गरिदयो भने पनि तेल बन्द हुन्छ । ट्यांकरले तेल ल्याइ नै दिए पनि पम्पवालाले हडताल गर्यो भने तेल बन्द हुन्छ । अब कथंकदाचित यस्तो अवस्था आइदियो भने आयल निगमले तेलको सट्टा पानी भए पनि बेच्न पाउने भयो नि ! आखिर बेच्ने भनेको त्यही न हो जो आफूसँग छ । भोलि तेल बेच्न पाएन भने आयल निगम फेरि घाटामा जान सक्छ । त्यस्तो अवस्थामा पानी बेचेर भए पनि निगमलाई घाटामा जानबाट जोगाउन सकिने भयो । निगमसँग आफ्नै ट्यांकर छँदैछ क्या रे । त्यसमा तेलको सट्टा पानी राखेर बेच्न सकियो भने त्यो पनि मारामारै चल्न सक्छ । काठमाडौंमा अचेल तेलको ट्यांकरभन्दा पनि पानीको ट्यांकर बढी कुदिरहेको भेटिन्छ । अतः आयल निगमले पनि तेल र पानी दुवै बेच्ने हो भने फाइदा पनि दोब्बर हुने भयो ।

वास्तवमा यही सोचेर निगमले पानी सहितको जग्गा किनेको हुनुपर्छ, जो महंगो हुनु स्वाभाविकै हो । अब यस्तो कुरा नबुझ्नेहरूले यसमा लफडा निकाल्छन् भने निकालिरहुन् । निगमले किन टाउको दुःखाउनु !

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments