Main Menu

कि कसो ?

कमरेड दीपक मनांगे

comrade-dipak-manangeअन्ततः एमालेले कमरेड दीपक मनांगेलाई टिकट दिएरै छोड्यो । तर, कमरेड मनांगेलाई टिकट दिन एमालेलाई गाह्रो चाहिँ साह्रै गाह्रो भयो । किनभने उनलाई टिकट दिनकै लागि मनांगमा पहिला अर्का उम्मेदवारलाई आफ्नो आधिकारिक उम्मेदवार उठाउनुपर्यो । त्यसपछि कमरेड मनांगेलाई ‘बागी’ बनाउनुपर्यो । मनांगे ‘बागी’ बनेपछि आधिकारिकलाई नाम फिर्ता लिन लगाउनुपर्यो । अनि त्यसपछि बागीलाई नै आधिकारिक बनाउनुपर्यो । यसरी एउटा घुमाउरो बाटो भएर मनांगेको हातमा टिकट पार्नुपर्यो । अथवा भनौं एउटा नाटक गर्नुपर्यो । कमरेड प्रचण्डले बोल्न मिलेको भए यस्तो नाटकलाई ‘कलाविहीन नाटक’ भन्नुहुन्थ्यो होला । यतिबेला उहाँले पनि बोल्न मिलेन ।

चुनाव ताका टिकट लिनेहरूको घुइँचै हुन्छ । त्यसैले टिकट लिन गाह्रो हुन्छ । टिकट नपाएर कार्यकर्ताहरू निराश भएका हुन्छन् । तर, कमरेड मनांगेको हकमा भने त्यस्तो भएन । उहाँलाई टिकट लिन कुनै गाह्रो भएन । बरु एमालेलाई उनलाई टिकट दिन पो धेरै गाह्रो भयो । अरुलाई टिकट लिन गाह्रो हुन्छ, कमरेड मनांगेलाई टिकट दिन गाह्रो भयो । बडो घुमाएर टिकट दिनुपर्यो । यसमा कार्यकर्ताले पनि केही भन्न पाएन । किनभने एमालेले शुरुमा त टिकट नदिएकै हो । अब जसलाई टिकट दिएको हो उसैले मनांगेलाई समर्थन गरेपछि कसको के लाग्छ ? अध्यक्ष केपी ओलीको त केही लाग्दैन भने अरुको लाग्छ ?

तर, उनलाई टिकट दिन जुन नाटक गरिएको हो, त्यो चाहिँ बडो रोचक थियो । यो नाटक कति कलारहित वा कलासहित थियो त्यसमा कमरेड प्रचण्डको भनाई त आएन । तै पनि नाटक रोचक भने थियो । शायद कमरेड केपी ओलीको निर्माणाधीन चलचित्र ‘रातो सूर्य’ मा यसलाई विशेष रुपमा समावेश गरिन्छ होला । यति रोचक नाटक जसले रचेको भए पनि त्यो बेजोड छ । आखिर एमालेमा नाटककारहरूको कमी छैन भन्ने कुरा यसैबाट थाहा हुन्छ ।

जहाँसम्म कमरेड दीपक मनांगेलाई टिकट दिइएको प्रशंग छ, मानिसहरूले भन्ला दीपक मनांगेलाई संरक्षण दिन एमालेले टिकट दिएको हुनुपर्छ । तर, कुरा त्यो होइन । दीपक मनांगे आफै एक ठूला डन हुन् । उनलाई एमालेको संरक्षण चाहिँदैन । एमाले मात्र के कसैको पनि संरक्षण चाहिँदैन । बरु एमाले आफैले उनको संरक्षण लिन पो टिकट दिएको हो । अहिले दीपक मनांगेलाई एमालेको संरक्षण चाहिएको होइन, बरु एमालेलाई नै दीपक मनांगेको संरक्षण चाहिएको छ । टिकट त त्यही कारणले पो दिएको हो । कुरो बुझ्नुभो होला नि !

  • सुरेश किरण
(Visited 278 times, 1 visits today)

टिप्पणी

comments