Main Menu

कि कसो ?

निंद हराम

सुरेश किरण

भर्खरै एउटा रिपोर्ट सुन्नमा आयो, भारतले अहिलेसम्म परीक्षण गरेका सम्पूर्ण मिसाइलहरूमध्ये जम्मा ३० प्रतिशत मात्रै सफल भएको छ रे ! एउटा अन्तर्राष्ट्रिय स्तरकै सञ्चार माध्यमले प्रशारण गरेको समाचार हो यो ।
सुनेर मेरो ‘निंद हराम’ भएको छ । अर्थात् यो समाचार सुनेदेखि मलाई राम्ररी निद्रा लाग्न छोडेको छ । हुन त क्षेप्यास्त्र जो असफल भएको हो त्यो हाम्रो मिसाइल होइन । त्यो भारतको मिसाइल हो । भारतीय मिसाइल असफल हुँदैमा हामीलाई निद्रा नलाग्नुपर्ने कारण छैन ।

तर, कुरो त्यतिमा सीमित छैन । अहिले हामी सुन्दैछौँ, चीन र भारतबीच सा¥है खराब सम्बन्ध चलिरहेको छ । यो खराब सम्बन्ध झनझनै खराब हुँदै गइरहेको छ । के थाहा भोेलि यी दुई देशबीच युद्धै पो चल्ने हो कि ? पहिले पनि युद्ध गरी सकेकै देशहरू हुन् । फेरि अर्को युद्ध नहोला भनेर कसरी भन्ने ? एकचोटी युद्ध भइसकेपछि फेरि दोश्रो हुन कति नै बेर लाग्छ र ! तर यहाँनेर एउटा कुरा के चाहिँ बुझ्नु जरुरी छ भने अहिले यी दुई देशबीच युद्ध भयो भने त्यो पहिलेको जस्तो युद्ध हुने छैन । यो अर्कै पाराको युद्ध हुनेछ । पहिलेपहिले जस्तो बन्दूक बोक्दै मैदानमा कुदेर जाने युद्ध अहिले हुँदैन । अहिले त मिसाइलमाथि मिसाइल हानेर युद्ध गरिन्छ । चीनले पनि मिसाइल नै हान्छ, भारतले पनि मिसाइल नै हान्छ । होऽऽ निद्रा नलाग्ने कुरो यहींनेर छ । केही गरी भारतले चीनतिर ताकेर हानेको मिसाइल आकाशमा उड्दाउड्दै खराबी आइदियो भने त्यो त सिधा नेपालमा पो आएर खस्ने भयो । त्यस्तै चिनियाँ मिसाइलको मात्रै के भरोसा । चिनियाँ सामानको ग्यारेन्टी नभएजस्तै चिनियाँ मिसाइलको पनि ग्यारेन्टी छैन । भारततिर भनेर हानेको त आकाशमा उड्दाउड्दै स्पीड पुगेन भने भारतको सट्टा नेपाल मै खस्न बेर छैन ।

भर्खरै खबर आयो, भारतको जम्मा ३० प्रतिशत मिसाइल मात्रै सफल छ रे । अर्थात उसले चीनतिर ताकेर १०० वटा मिसाइल हान्यो भने ७० वटा त नेपालमा खस्ने सम्भावना रहेछ, खराबी आएर । अनि कसरी निद्रा लाग्नु !
त्यसैले म त प्रार्थना गरिरहेको छु । चीन र भारतलाई युद्धै नगर्नु हामी भन्न सक्दैनौं । भनेर पनि के काम, हामीले भनेको टेर्ने भए पो ! त्यसैले केही गरी यी दुइ देशबीच युद्ध भयो भने, र त्यो युद्धमा मिसाइल हानाहान भयो भने एकले हानेको मिसाइल सिधै अर्को देशमा गएर ठीक ठाउँमै खसुन् । एउटै मिसाइल खेर नजाओस् । मेरो त यही प्रार्थना छ । चीन भारत दुवै हाम्रा छिमेकी हुन् । दुवैको मिसाइल खेर नजाओस् । सही ठाउँमा खसोस् । अलिकति मात्रै गल्ती भयो भने पनि नेपालमा खस्न बेर छैन । भगवानसँग हाम्रो यति नै प्रार्थना छ । यतिबेला भगवानसँग यो बाहेक अरु के नै प्रार्थना गर्न सकिन्छ र !

(Visited 202 times, 1 visits today)

टिप्पणी

comments