Main Menu

पढेरभन्दा लडेर जानेको कुरा काइदा

ki-kaso-manoj-1

  • मनोज गजुरेल

पढेरभन्दा लडेर जानेको कुरा काइदाको हुन्छ । त्यसो त पाकाहरु परेर जानेको कुरालाई प्रभावकारी ठान्दछन् । तर लडाइँको अगाडी न पढाइको ज्ञान टिक्दछ, न त परेर जानेको बुद्धिले काम दिन्छ । साँच्चै भन्ने हो भने, लडाइँले पढाइको सातो खान्छ, पढाइले लडाइँको चाकडी गर्छ । धरोधर्म, पढाइको पछाडि लागेर जानेको जानकारीभन्दा लडृर सिकेको ज्ञान नै अमर रहन्छ ।

लड्नु भनेको भीरबाट बल्ड्याङ् खानु हो – हामीले पढेर सिकेको यही नै हो । तर अहिले चुनावमा हामफाल्नुलाई लड्नु भनिन्छ, सत्ता पाउनलाई मारमुग्री गर्नुलाई पनि लड्नु नै भनिन्छ । अब भन्नोस् त, उहिले तपाईंले पढेको कुरो अहिले काम लाग्यो त ? काम कुरो एकातिर, बन्दुक बोकी रोल्पातिर भनेजस्तो । पढेर एकथोक सिकियो, अहिले त्यत्रो ज्ञान अर्थन बर्थ गोबिन्दगाई – भुँडीमा मुसा घाँटीमा टाई भनेजस्तो भएको छ ।

स्कुलमा घोक्रो फुट्ने गरी कराउँदै पढियो – माल माने सामान भनेर । सामान भन्नाले भाँडाकुँडादेखि लत्ताकपडासम्म बुझियो । अहिले मालको मतलब कि रुपैँया हुन्छ, कि भने युवती देख्नासाथ ‘क्या माल छ यार’ भन्ने गरिन्छ । म त बडो अलमलमा पर्दछु । मालको अर्थ रबर जस्तो तन्किएर मान्छेसमेत माल बनेका हुन् कि हाम्रो दिमाग साँगुरिएर सुक्दै गएको हो हँ ?

तपाईं पनि एकपटक लडेर त हेर्नोस्, आफैं भन्नुहुनेछ, पढ्नुभन्दा लड्नु नै ठूलो विश्वविद्यालय रहेछ । पढेको ज्ञान सर्वोत्तम हुने भए दश किलोको टाउको भएको मेरो मःमः पार्टनर खप्परध्वजको गिदीमा किरा नै पर्दैनथ्यो । पढाइकै कुरा गर्दाखेरी, उसको फिस बुझाएको बिल भर्पाई हेर्दा यस्तो लाग्छ, ऊ नै नेपालको सबैभन्दा ठूलो विद्वान हो । साँच्चै भनौँ भने, प्रमाणपत्र र सर्टिफिकेट हेर्दा नपढेको भन्न मिल्दैन, बानीव्यहोरा हेर्दा पढेको भन्न मिल्दैन । अब तपाईं नै भन्नोस्, पढाइ ठूलो हुने भए मेरो मःमः पार्टनर खप्परध्वजको यो गति हुन्थ्यो होला त ?

एकदिन खप्परध्वजले मलाई फोन गर्यो । मैले सोधेँ – ‘के छ यार, खबर ?’ उसले जवाफ दियो, ‘अरु त सबै राम्रो छ, तर पैसा कमाउन सकिएन यार ।’

मैले भने – ‘त्यति राम्रो पढाइ छ । जागिर त पाइहाल्छन् नि ।’

खप्परले भन्यो – ‘जागिर सागिर नखाने म । बरु अहिले स्कुलमा राम्रो प्रोफिट छ रे, एउटा गज्जबको स्कुल पो खोल्नुप¥यो ।’
स्कुल माने विद्यालय । विद्यालय माने विद्या लेनदेन गर्ने ठाउँ । तपाईं हामीले पढेको यही नै हो । तर मभन्दा धेरै ज्ञान लिएको खप्पर भने पैसा कमाउनलाई विद्यालय खोल्छु भन्छ । मलाई असह्य भएपछि सोधेँ – ‘तँ त शिक्षा दान हो पो भन्ने गर्थिस् । तर कहिलेदेखि दाम भनेर पढ्न थालिस् ?’

खप्परले जवाफ दियो – ‘यो ज्ञान मैले पढेर होइन, लडेर पाएको हो ।’

मैले पुनः सोधेँ – ‘लडेर रे ? कसरी नि ?’

उसले लामो स्वास तान्यो र भन्यो – ‘जागिरका लागि धेरैपटक मैले लडेको छु । लोकसेवामा सातपटक भिडेँ, सोर्स नपुगेर सातै पटक लडेँ । दूरसञ्चारमा दुईपटक ट्राई मारेँ, दुबैपटक गुल्टिएँ । एनजिओमा निवेदन हालेँ, आफन्त नभएर पछारिएँ । जति पटक जहाँ भिडेँ, त्यति नै पटक त्यही ठाउँमा लडेँ र लडिरहेँ ।’

अनि लामो स्वास तान्दै खप्परले कुराको बिट मा¥यो – ‘यही लडाइँले मलाई सिकायो – शिक्षा दान होइन, दाम रहेछ !’

तपाईंको बारेमा मलाई थाहा भएन, म चाहिँ खप्परको यस तर्कसँग शतप्रतिशत सहमत छु । हामीले पढेअनुसार विद्यालयमा प्रधानाध्यापक हुन्थे । अंकलहरुले सोध्ने गर्नुहुन्थ्यो – ‘बाबुको स्कुलको हेडसर को हो ?’

अहिले सर मिसको कुरै हुँदैन । ‘ए बाबु, तिप्रो स्कुलको साहू को हो ?’ यस्तो प्रश्न सोध्छन् । विद्यालयको संचालक समिति पनि हुँदैन अहिले, स्कुलमा बिजनेस पार्टनरहरु मात्रै हुन्छन् ।

मेरो भतिज डब्लुसँग मलाई भयंकर गर्व थियो । एकदिन उसको जवाफले म यसरी पछारिएँ, अहिलेसम्म उठ्न सकेको छैन । भयो के भने, उसलाई मैले सोधेँ – ‘बाबु, खुकुरी भनेको कस्तो हुन्छ ?’

डब्लुले जवाफ दियो – ‘खुकुरी पनि शिखर र याक जस्तै त हो नि ।’

मैले भोलिपल्ट फेरि सोधेँ – ‘माउण्ट एभरेष्ट कहाँ छ बाबु ?’

उसले सिधा जवाफ दियो – ‘माउण्ट एभरेष्ट ह्विस्की पसलमा पाइन्छ क्या ।’

मैले पढेको ज्ञान ‘भाँडमे जाएछ’ भन्ने कुरा मलाई लागिसकेको थियो । पर्सिपल्ट केही राम्रो सिक्यो कि भन्ठानेर भतिजलाई सोधेँ – ‘बलवाल कस्तो हुन्छ त ?’

जवाफमा भतिजले आफ्नो बाबुको सिरानीबाट खैनीको प्याकेट निकाल्दै बोल्यो – ‘यी यही त हो नि बलवान ।’

अझै भन्नुहुन्छ – पढेको ज्ञान काम लाग्छ भनेर ?

नैतिकता भन्ने शब्दलाई नै लिनोस् । इमान्दारिता, राम्रो व्यवहार, असल चरित्रलाई नैतिकता भनेर गुरुले पढाउनु भएको थियो । आज त्यही अर्थमा बुझ्नुभयो भने तपाईं जानुभयो गोलखाँडी । नीति कताकता गएपछिको अवस्था नै नैतिकता हो । अहिले आज्ञाकारी मान्छे अनैतिक हुन्छ । नैतिक शिक्षालाई व्यवहारमा लागू नगर्नु नै नैतिकता हो ।

चोक, चौतारो, सडक, पुल, बाटोघाटो, विद्यालय, बजार, कार्यालय, कलकारखाना, आदि स्थानमा नैतिक शिक्षा दिनेखाले सूचना त देख्नुभएकै होला । जतिखेर म पढाईलाई प्रमुख ठान्दथेँ, यी सबै सूचनाहरुलाई नैतिक शिक्षा मान्दथेँ । तर, एकदिन जब लडेँ, तब लडाइँ नै मेरो जीवनको ठूलो गुरु बन्न पुग्यो ।

विश्वविद्यालय जाँदै थिएँ – गेटै छेउमा एक्कासी पछारिन पुगेँ । कारण कलेजका विद्यार्थीहरुले त्यस ठाउँमा सुरिनटार बनाएका रहेछन् । सुरिनटारकै भित्तामा नैतिक शिक्षाको सूचना टाँस गरिएको थियो – यहाँ दिशा पिसाब नगरौँ, सबै मिली सफा राखौँ । अहिले मलाई अर्को शिक्षा पनि प्राप्त भयो – पढेको ज्ञान व्यवहारमा लागू गर्नु अनैतिक काम हो । नैतिक कार्य हुँदो हो त विश्वविद्यालयका विद्यार्थीहरुले नैतिक शिक्षालाई धोती त लगाइदिँदैनथे होला ।

जहाँ फोहोर नफाल्नु भनेको छ, त्यहाँ सगरमाथाभन्दा अग्लो डङ्गुर थुप्रिएको हुन्छ । धुम्रपान निषेध भनिएको ठाउँ र इँटाभट्टाबीच फरक देखिँदैन । बिस्तारै सवारी चलाउनोस् भन्ने सूचनाकै मुनी दैनिक गाडीहरु गुल्टिन्छन्, स्टेयरिङ कन्ट्रोल नभएर ।
उहिलेका कुरा खइलिए भनेर धेरैले भनेका छन् । तर कहाँनिर खुइलिए त भनेर सोध्ने हो भने सबैले भन्न सक्दैनन् । साँच्चै भन्ने हो भने उहिलेका कुरा खुइलिएको चाहिँ हाम्रो पढाइमा नै हो । उहिलेका कुरा अहिले काम लाग्ने भए ढाल माने हतियार छेक्ने एउटा कवच नै हुन्थ्यो, कण्डोम वा कामसूत्र हुँदैनथ्यो । सिताराम भनेको दशरथ बाजेका छोराबुहारी हुन्थे, दुधको नाम सिताराम हुँदैनथ्यो । भगवानको चाकडी गर्नु पूजा हुन्थ्यो, साबुनको डल्लो हुँदैनथ्यो ।

मलाई सुन्नोस्, अहिले पढाइ सडाइ भएको छ । लडाइँले पढाइलाई पछारिरहेको बेला शिक्षामा आमूल परिवर्तन जरुरी छ । सबैभन्दा पहिले मान्छेलाई नैतिक बनाउनुपर्छ, त्यसपछि मात्रै लडाइँभन्दा पढाइको महत्व बढ्नेछ । नैतिक शिक्षाको पुरानो परम्परा असफल भएकोले नयाँ तरिकाको शिक्षा दिइनुपर्दछ । आउनोस्, नैतिक शिक्षाको नयाँ रुपको बारमा थोरै कुरा गरौँ ।

यहाँ पिसाब फेर्न मनाही छ भन्ने शिक्षा फेल भइसकेको छ । त्यसैले ‘यो सूचनाको ठाउँमा अत्यधिक चिलशिल कमिला पाइने क्षेत्र’ भन्ने हो भने यो सूचना ज्यादा प्रभावकारी हुनसक्छ ।

पार्किङ् निषेध भन्ने कुरो पनि सबैले बुझ्दैनन् । बरु, ‘के तपाईंको दुई सय रुपैयाँ चिलाएको छ ? – ट्राफिक प्रहरी’ भनने हो भने नैतिक शिक्षा काम लाग्नसक्छ । त्यसैगरी अन्य केही नयाँ नैतिक शिक्षा प्रस्तुत गर्दैछु । आशा छ, यिनीहरुले पढाइलाई असल बनाउन सहयोग गर्नेछन् ।

‘जेब्रा क्रसिङबाट बाटो काट्नुहोला’को साटो ‘जेब्रा क्रसिङ्बाट हिँड्नेलाई सित्तैमा अलकत्रा उपलब्ध गराइन्छ’ भन्दा बेश होला । सित्तैमा जे पाए पनि लिने हाम्रो चलनै छ क्यारे । ‘फोहोर नफाल्नुहोला’ भन्नुको साटो ‘आउनोस्, यहाँ तपाईंलाई भेट्न बमका पोकाहरु पर्खिरहेका छन्’ लेख्ने हो भने मात्रै मान्छेले भनेको मान्न सक्छ ।

हैन भने त तपाईंको पढाइ सडाइ मात्र हुन्छ, लडाएँले जितिरहन्छ । बाँकी जिम्मा तपाईंको । कि कसो ?

(नवयुवा मासिक पूर्णाङ्क ७४ बाट)

(Visited 443 times, 1 visits today)

टिप्पणी

comments