Main Menu

इजिप्टमा सङ्कटकालको घोषणा : विस्फोटमा मर्नेहरूको संख्या ४४ पुग्यो

 

middle-east-unrest-egypt-state-of-emergencyचैत्र २९, कायरो । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने सङ्कटकाल लगाएको घोषणा गरेका छन् ।

आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउँदा ४४ जनाको मृत्यु भएपछि उनले संकटकालको घोषणा गरेका हुन् ।

“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट गराइएको थियो ।

उनले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ । सङ्कटकाल घोषणा गर्दै उनले जिहादिष्ट विरुद्धमा पिडादायक र निकै लामो लडाइ लड्ने बताए ।

कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्चमा गराइएको पहिलो विस्फोटनमा परी २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले जानकारी दिए ।

त्यसैगरी अर्को विस्फोटन एलेक्जान्ड्रीयामा रहेको मार्कको चर्चमा भएको थियो । सो विस्फोटनमा परी ४ जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन् । आक्रमणकारीले आत्मघाती हमला गरेको गृहमन्त्रीको भनाइ छ ।

टान्टामा भएको विस्फोटमा कम्तीमा ७८ जना र एलेक्जान्ड्रीयामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले बताए ।

middle-east-unrest-egypt

इजिप्टको सेन्ट जोर्जस चर्चमा भएको आत्मघाती बम विस्फोटपछि जम्मा भएका सर्वसाधारण । तस्बिर : सिएनएन

इजिप्टमा भएको विस्फोटमा परी ठुलो सङ्ख्यामा मानवीय क्षति भएको प्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।

आइएसले सामाजिक सञ्जालबाट वक्तव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको स्पष्ट पारेको छ । साथै आइएसले घटनाको जिम्मेबारी पनि लिइएको जनाएको छ ।

सङ्कटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जीबिना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ । सङ्कटकालको कार्यान्वयनसँगै अधिकारीले बिना पूर्जी मानिसलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् ।

(Visited 122 times, 1 visits today)

टिप्पणी

comments