Main Menu

कि कसो ?

जंगल राज

  • सुरेश किरण

suresh-kiran-jungle-rajनेकपा (एमाले) का अध्यक्ष कमरेड केपी ओली अस्ति थाइल्याण्डको बैंककमा उपचारको लागि जानुभएको थियो । अचेल उहाँले उपचारको लागि दिल्ली जान छोड्नुभएको छ क्या रे । त्यसैले सिधै बैंककतिर जाने गर्नुहुन्छ । तर बैंककमा उहाँको कस्तो उपचार भएछ कुन्नि, नेपाल फर्किँदा उहाँले आफ्नो पार्टीलाई त हात्ती पो देख्नुभएछ । नेपाल फर्किनेबित्तिकै उहाँले भन्नुभयो – एमाले त हात्ती हो । हात्ती दुब्लाएर बाख्रा हुँदैन ।

हो, हात्ती त हात्ती नै हुन्छ । हात्ती दुब्लाए भन्दैमा त्यो बाख्रा, भेंडा वा च्यांग्रा हुन सक्दैन । खसी, बोका त झनै हुन सक्दैन । एमाले हात्ती भएको यो जानकारीबाट थाहा भयो, देश कुन अवस्थामा छ । सत्तापक्षमा ‘शेर’ छ । प्रतिपक्षीमा हात्ती छ । देश त पूरा जंगली युग मै प्रवेश गरिसकेको रहेछ । ‘शेर’ सरकारमा छ । हात्ती प्रतिपक्षीमा छ । शेर जंगलको राजा हो अतः उनी सरकारमा हुनु स्वाभाविकै भयो । नभन्दै प्रतिपक्षी पनि कुनै कमको रहेनछ । हात्ती । एकातिर शेर, अर्कोतिर हात्ती । हामी त लोकतन्त्रमा होइन जंगलतन्त्रमा पो रहेछौँ त ।

शेर र हात्ती एक आपसमा मिल्ने जन्तु होइनन् । शेरले पाए हात्तीलाई लखेट्ने हो । हात्तीले सके शेरलाई लखेट्ने हो । अहिले ‘जंगल’ मा त्यही भइरहेको छ । एकातिर शेरको गर्जन, अर्कोतिर हात्तीको चित्कार । शेर र हात्तीको यो टकरारमा अरु जीवजन्तुहरूले फाइदा लिनु स्वाभाविकै भयो । शेर र हात्तीको बीचमा रहेको ब्वाँसो, फ्याउरो, बिरालो, खरायो, दुम्सी, चितुवा आदि जस्ता जन्तुहरूले अहिले फाइदा उठाइरहेका छन् । आखिर जंगलै त हो, जसले जे गरे पनि रोक्ने कसले ?

भन्न त देशमा जनताको राज आएको भनिन्छ । तर यथार्थमा जनताको राज होइन, जंगलको राज आएको देखाउँदैछ । राज्यको सबैभन्दा ठूलो स्थान भनेकै सत्तापक्ष हो । सत्तापक्ष मै शेर बसेको छ । सत्तापक्षलाई नियन्त्रण गर्ने विपक्षले हो । विपक्षमा हात्ती बसेको छ । शेर र हात्तीले चलाउने यो राजलाई जंगली राज नभने अरु के भन्ने ?

मानिसहरू भन्छन्, देशले प्रगति गरेन । विकास गरेन । वास्तवमा त्यो त स्वाभाविकै हो । मानिसले चलाउने देशमा त आजसम्म प्रगति हुन सकेको छैन भने शेर र हात्तीले चलाउने देशमा कसरी प्रगति हुन्छ ? शेर–हात्ती जस्ता जन्तुहरूलाई विकास के हो त्यो थाहा हुन्छ ?

(Visited 179 times, 1 visits today)

टिप्पणी

comments