Main Menu

कि कसो ?

मुस्कान सहितको भ्रष्टाचार

सुरेश किरण

       नेपालको इतिहास कै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा अहिले चलिरहेको छ । यो यति ठूलो भ्रष्टाचार हो कि यसको आकार देखेर स्वयम् सर्वोच्च अदालतलाई समेत कन्फ्युज भएको छ – यो साँच्चै भ्रष्टाचारै हो कि होइन ? त्यसैले अस्ति सर्वोच्च अदालतले सोध्ने काम पनि गरेको छ, यो कस्तो भ्रष्टाचार हो ? अख्तियारले हेर्न मिल्ने भ्रष्टाचार कि हेर्न नमिल्ने भ्रष्टाचार ?

शायद त्यही भएर पो हो कि यो भ्रष्टाचार प्रकरणमा समातिएका प्रमुख अभियुक्त श्री चुडामणि शर्मा जता देखिए पनि मुसुमुसु हाँसिरहेका हुन्छन् । अदालत लगिए अदालत मै हाँस्ने, प्रहरी चौकी लगिए चौकी मै हाँस्ने, थुनामा राखिए थुना मै हाँस्ने । नेपालको इतिहासमा यसरी पक्राउ पछि पनि हाँसिरहने भ्रष्टाचारी भेटिएको पनि शायद यही पहिलो हुनुपर्छ । नभए त धेरैजसो भ्रष्टाचारीहरू अदालत लगिँदा तौलियाले अनुहार छोपेर जाने गर्छन् । शर्मा त्यसरी गएका छैनन् । उनी त अनुहार देखाएर त्यो पनि मुसुमुसु हाँसेर गएका छन् ।

उनी यसरी हाँस्नुको दुईटा कारण हुनसक्छ । पहिलो, जस्तो कि माथि भनियो, उनले गरेको यो काम भ्रष्टाचारै हो कि होइन अहिले विवादमा छ । शायद त्यसैले हाँसेको हुनुपर्छ । अर्को, सरकारले केही वर्ष अघिदेखि सम्पूर्ण सरकारी कर्मचारीहरूलाई ‘मुस्कान सहितको सेवा’ दिने निर्देशन जारी गरेको थियो । यो शायद त्यसैको असर हुनुपर्छ । अरु कर्मचारीले शायद मुस्कान सहितको सेवा प्रदान गरे पनि होलान् । उहाँले चाहिँ मुस्कान सहित भ्रष्टाचार गर्नुभएको रहेछ । बुझियो नि !

यो बाहेक अर्को कारण पनि हुनसक्छ । जस्तो, अख्तियारले मुद्दा लगाए पनि सर्वोच्चले हराइहाल्छ क्या रे ! अख्तियारले जित्ने कुरै छैन । त्यसैले पनि हाँसेको हुनुपर्छ । अथवा कारण यो पनि हुन सक्छ, केही गरी मुद्दा हारि नै हाले पनि जेल पर्ने त पाँच सात वर्षै न हो । पाँच सात वर्ष जेल बसेपछि तीन अर्ब त पचिहाल्यो ! अनि किन रुनु ? हाँसे भइहाल्यो । वास्तवमा डुबेका कम्पनीलाई उतार्न भनेर सरकारले ऋण फछ्र्यौट आयोग गठन गरेको थियो । यो आयोग मार्फत आयोग अध्यक्ष शर्माज्यूले डुबेका कति कम्पनीलाई उतारे त्यो त थाहा भएन तर देशलाई डुबाउने काम भने मज्जैले गर्नुभएको रहेछ । अब देश डुबाउने अभियुक्तलाई उतार्न को को लाग्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

(Visited 189 times, 1 visits today)

टिप्पणी

comments