Main Menu

कि कसो ?

आहा लोडशेडिङ ?

satirical-loadsheding

  • सुरेश किरण

लोडशेडिङ फर्किने कुराले नगरवासीको अनुहार अहिल्यै अँध्यारो हुन थालेको छ । लोडशेडिङ फर्किहालेको त छैन । तर फर्किने कुराले मात्र पनि नगरवासीको अनुहारमा बत्ति बल्न छोडिसकेको छ ।

लोडशेडिङ फर्किने कुराले यता नगरवासीको अनुहारमा बत्ति निभ्न थालेको छ । ठीक यति नै बेला मेरा छिमेकी हाकुचा साउको घरमा भने अचानक बत्ति बल्न थालेको छ । अस्ति लोडशेडिङ बन्द भएकै दिनदेखि हाकुचा साउको घरमा बत्ति निभ्न थालेको थियो । सबैको घरमा बत्ति बलिरहँदा पनि हाकुचा साउको घरमा बत्ति बलेको थिएन । तर अहिले के भएछ कुन्नि, जसै लोडशेडिङ पुनः फर्किने चर्चा चल्यो, हाकुचा साउको घरमा झिलिमिलि बत्ति थालेको छ ।

कारण के भने, हाकुचा साउ नगर कै एक प्रमुख इन्भर्टर र बेट्री बिक्रेता हुन् । लोडशेडिङ फर्किने चर्चा सँगसँगै नै हाकुचाको घरमा बत्ति पनि झिलिमिलि बल्न थालेको हो । बाटो हिँड्ने कतिजनाले सोधिसक्यो, ‘क्या हो हाकुचा साउ, छोराको बिहे छ कि क्यो हो ? बत्ति त झिलिमिलि बल्या छ ।’
जवाफमा हाकुचा भन्थ्यो, ‘ब्याहा होइन, दशैँ हो दशैँ !’

बटुवाले सोध्थ्यो, ‘दशैं ? त्यो अझै दुई महिना बाँकी छ । कहाँ अहिल्यै दशैँ आउनु !’
हाकुचा भन्थ्यो, ‘त्यो त पात्रोको दशैँ भयो । मेरो दशैँ अहिल्यै हो । पात्रोको दशैँ र मेरो दशैँ मिल्दैन..हा….हा….हा…..’

हाकुचाको खुशीको ठेगानै छैन । हाकुचा मात्र होइन, म त के सुन्दैछु भने अस्ति विद्युत प्राधिकरणलाई एलईडी चिम किन्न नदिने सार्वजनिक लेखा समितिका सबै सदस्यहरू र नुवाकोटमा सोलार प्यानल राख्न नदिने संसदका सबै पदाधिकारीहरूको घरमा पनि अहिले झिलिमिलि बत्ति बल्न थालेको छ रे । अरुका घरमा एलईडी चिम किनेको भए बत्ति बल्थ्यो । लेखा समितिका पदाधिकारीहरूको घरमा चाहिँ एलईडी चिम नकिने भए मात्रै बत्ति बल्ने रहेछ । त्यहाँ त बत्ति बल्ने सिष्टम नै अलग्गै राखिएको रहेछ । लोडशेडिङ भए मात्रै झिलिमिलि बत्ति बल्ने सिष्टम रहेछ त्यहाँ ।
बत्ति बल्ने सिष्टममा यस्तो दुईटा प्रणाली किन ? लोडशेडिङ भए पछि त कि सबै ठाउँमा बल्ने हुनु पर्यो, कि सबै ठाउँमा नबल्ने हुनु पर्यो । बल्ने र नबल्ने बीच अर्को विकल्प त छैन । कि डिस्को लाइट हुनुपर्यो । बलि पनि रहन्छ, नबलि पनि रहन्छ । होइन भने यस्तो दुइटा सिष्टम हुनु भएन । के यसमा चाहिँ सरकारले छानबिन गर्ला ?

  • सुरेश किरण
(Visited 144 times, 1 visits today)

टिप्पणी

comments