Main Menu

माघ ७ गतेभित्र बाँकी सबै चुनाव सम्पन्न गर्नुपर्छ– नारायणकाजी

असार ३१, कीर्तिपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आगामी २०७४ माघ ७ गतेभित्र बाँकी सबै चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीका सदस्य बितेका नवीन महर्जनको सम्झनामा आज कीर्तिपुरमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रकाशले उक्त बिचार व्यक्त गरेका हुन् । उनले भने, “ अहिले यदाकदा हल्ला सुन्न थालिएको छ, व्यवस्थापिकाको अवधि थप्ने, अर्को एक वर्ष बढाउने भनेर कताकता संचार माध्यमहरुमा चर्चा चल्न थालेको देखिन्छ, पार्टीको तर्फबाट म भन्न चाहन्छु, यो कुनै पनि कोणबाट उपयुक्त हुँदैन । र, हामी ०७४ साल मंसिर भित्रै बाँकी रहेका सबै चुनाव सम्पन्न गरेर संविधान क्रियान्वयनको पहिलो चरणको मुख्य कार्यभार पूरा गर्न चाहन्छौं ।”

नेता प्रकाशले संसदमा प्रत्यक्ष निर्वाचित हुने सांसद सङ्ख्या थप्ने हल्लाको पनि कडा विरोध गरेका छन् । उनले भने, “संसदमा प्रत्यक्ष निर्वाचित हुने सांसद सङ्ख्या २ सय ४० पुर्याउने भन्ने कुरा पनि चर्चामा आइरहेको छ । पार्टीको तर्फबाट म यसबारे पनि भन्न चाहन्छु, २ सय ४० बनाउनेतिर हामी जानु हुँदैन । १ सय ६५ को प्रत्यक्ष निर्वाचन, १ सय १० को समानुपातिक गरी संसदमा २ सय ७५ को जुन सङ्ख्या छ, त्यसलाई बदलेर प्रत्यक्षमा २ सय ४० गर्न थालियो भने त्यसले सबैतिर असर गर्छ । समानुपातिक र प्रत्यक्षको अनुपात मिलाउँदा जम्मा सङ्ख्या ४ सयको हाराहारीमा पुग्ने हुन्छ । त्यस्तै अनुपातमा असर हुँदा प्रदेश सभामा पनि सभासदको सङ्ख्या बढ्न जाने हुन्छ । त्यसो नगरी घटाउने हो भने  पनि समानुपातिकतर्फ ३३ प्रतिशत महिलाहरुको सहभागितामा असर पर्छ । यसबाट संविधानको मूल मर्ममाथि नै प्रहार हुने हुन्छ । त्यसकारण प्रत्यक्षतर्फ सङ्ख्या हामी बढाउन दिँदैनौं ।”

राजनीति, समाज सेवा, संगीत, नृत्य, खेलकुद र पत्रकारितालाई एकसाथ अगाडि बढाइरहेका बहुप्रतिभाका धनि बितेका नवीन महर्जन एक इमान्दार र निरन्तर क्रियाशील क्रान्तिकारी भएको कुरालाई इङ्गीत गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता प्रकाशले अहिले आफ्नो पार्टी सहित सिङ्गो राजनीति नै भ्रष्टीकरणको बाटोमा अघि बढेकोले कम्युनिस्ट आन्दोलनलाई नयाँ परिवेशमा पुनर्गठित गर्न थुप्रै नवीनहरु आवश्यक भएको बताए । उनले भने, “ नेपाली राजनीतिमा भ्रष्टीकरण, आदर्शमा स्खलन, सिद्धान्तमा विचलन, मूल्य मान्यताको ह्रासको स्थिति जुन देखा परिरहेछ, त्यसले देशमा यत्रो ठूलो राजनीतिक परिवर्तन पछाडि पनि जनताको जीवनमा, राष्ट्रको जीवनमा, समाजमा गुणात्मक रुपले परिवर्तनको अनुभूति नेपाली जनताले पाउने हो कि होइन भन्ने प्रश्न उठिरहेको बेला छ । नेपालको सामान्य राजनीतिमा मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनमा पनि भ्रष्टीकरणको प्रकृया अगाडि बढिरहेछ । चरम भ्रष्टीकरणको प्रकृया अगाडि बढिरहेछ । मूल्य मान्यता धेरै स्खलित भएको छ । क्रान्तिकारी चरित्रमा धेरै स्खलन भएको छ । हाम्रै पार्टी पनि त्यसको शिकार भएको छ । यस्तो अवस्थामा क. नवीनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा हामीले शंकल्प गर्नुपर्छ कि हाम्रो पार्टीलाई नयाँ ढङ्गले रुपान्तरणको लागि पुनर्गठनको प्रकृयालाई अगाडि बढाउँछौं । त्यसरी मात्रै हामीले क. नवीनप्रति वास्तविक श्रद्धाञ्जली अर्पण गरेका हुनेछौं । र, अरु नयाँ नवीनहरु निर्माणको अभियानमा हामी लागिरहेका हुनेछौं ।”

नेता प्रकाशले नेकपा (माओवादी केन्द्र) क्रान्तिकारी कम्युनिस्टहरुको केन्द्र बन्दै गरेको कुरा व्यक्त गर्दै त्यसको लागि पनि पार्टीलाई नयाँ ढङ्गमा रुपान्तरण एवं पुनर्संगठित गर्नुपर्ने बताए । उनले भने, “ नेपाली क्रान्तिको प्रतिनिधि संस्थाको रुपमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले क्रान्तिकारी भूमिका खेलिरहेको छ । हाम्रो पार्टीले यो सामन्तवादविरोधी क्रान्तिलाई एउटा आधारभूत सफलताको बिन्दुसम्म पुर्याउने काम गर्यो । तर, कम्युनिस्ट आन्दोलनले पनि नयाँ ऐतिहासिक सन्दर्भमा क्रान्तिको नयाँ कार्यभार पूरा गर्न पार्टीलाई पनि सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने नयाँ अभियानमा अगाडि बढाउनु छ । त्यसैले क्रान्तिको कार्यदिशा नयाँ र त्यसलाई क्रियान्वयन गर्ने नेतृत्व सहित क्रियान्वयन गर्ने कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने आवश्यकताको ऐतिहासिक संघारमा सांगठनिक रुपमा हामी छौं । यो पार्टीलाई क्रान्तिको पुनर्गठनको प्रस्थान बिन्दु बनाउनुपर्छ । हामीले यसलाई मुख्य थलो बनाउनुपर्छ । किनभने, नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा हाम्रै पार्टी हो भन्ने कुरा सबैले देख्ने गरी स्थापित भइसकेको छ । हाम्रो पार्टीलाई रुपान्तरण र पुनर्गठनको प्रकृयाबाट अगाडि बढाउनुपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनका सबै क्रान्तिकारीहरुलाई एउटै केन्द्रमा ल्याउने नेपाली कम्युनिस्ट आन्दोलनको अर्को चरणको पुनर्गठनको कार्यभार पूरा गर्नुपर्छ ।”

इसासका कलाकारहरु बितेका नवीन महर्जनको सम्झनामा श्रद्धाञ्जली गीत प्रस्तुत गर्दै ।

नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीको आयोजनामा भएको उक्त श्रद्धाञ्जली सभामा नेकपा (माओवादी केन्द्र) ३ नं. प्रदेशका इञ्चार्ज हितमान शाक्य, सोही पार्टीका काठमाडौं जिल्ला संयोजक दिलीप महर्जन, राराहिल फाउण्डेसनका अध्यक्ष कृष्णबहादुर महर्जन, कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदिप महर्जन र बितेका नवीन महर्जनसंलग्न संस्था कीर्तिपुर जनपोलिक्लिनिकका अध्यक्ष हिराबहादुर महर्जनले पनि श्रद्धाञ्जली शब्दहरु पोखे । बितेका नवीन महर्जनको जीवनीबारे केटाकेटी कालदेखि उनका नजिकका मित्र रहँदै आएका राजेन्द्र महर्जनले विस्तृत चर्चा गरे । त्यस्तै गरी बितेका नवीन महर्जनले काम गर्दै आएको उज्जवल शिशु निकेटनका प्रिन्सिपल दिलमान महर्जनले पनि श्रद्धासुमन वक्तव्य दिए ।

कार्यक्रममा बितेका नवीन महर्जनको सम्झनामा श्रद्धासुमन गीतहरु ईन्द्रेणी साँस्कृतिक समाजका कलाकारहरु वीरप्रसाद भन्सारी, गुजे मालाकार, रानीशोभा महर्जन, मीना महर्जन, दिपा महर्जन र प्रमीला महर्जनले संयुक्त रुपमा प्रस्तुत गरे ।

 

(Visited 183 times, 1 visits today)

टिप्पणी

comments