Main Menu

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

माघ २९, धनगढी

thapa-state-7-speaker-elected

प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गरेकी जेष्ठ सांसद दिव्यश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

जेष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित भएकोमा उनको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिइन् ।

यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराएको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावकले प्रस्ताव पेश गरेपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित गरिएको छ ।

(Visited 123 times, 1 visits today)

टिप्पणी

comments