Main Menu

सबैभन्दा बढी मन्त्री फेरिनेमा पर्यटन मन्त्रालय पहिलो, १ वर्षमा ५ मन्त्री !

  • सिबी अधिकारी

tourism-ministry-minister-changeअसार १७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।

अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।

मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ । चाँडो मन्त्री फेरिँदा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको समग्र विकासमा कस्तो असर पर्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही समग्र पर्यटन क्षेत्रको नीति बनाउने र लागू गर्ने मन्त्री, सचिवदेखि विभागीय प्रमुख फेरबदल भइरहँदा यसले राष्ट्रिय मात्र नभई मन्त्रालयले लिने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत असर परेको बताउनुहुन्छ ।

“म अच्चम्मित छु ।” शाही भन्छन्, “सबैभन्दा चाँडो मन्त्री फेरिने मन्त्रालय पनि पर्यटन नै रहेछ । यसले नेपालको छवि खराब बनाएको छ । एउटा आउँछ, नीति, योजना र कार्यक्रम बनाउँछ, अर्को आयो बुझ्नै समय लाग्छ । बुझे पनि कार्यान्वयन गर्न कठिन हुन्छ,” उनले भने ।

अर्थ, परराष्ट्रपछि, विदेशीको चासो रहने मन्त्रालय पर्यटन नै हो । बजेटको कम आकर्षण भए पनि अन्तर्राष्ट्रिय प्रभाव पार्ने हुँदा दलीय भागबन्डा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमका जहाज खरिदसँग जोडिएको स्वार्थका कारण पनि मन्त्री चाँडो फेरिने गरेको पूर्वमन्त्री शाहीको भनाइ छ ।

नीतिगत निर्णय सरकारले नै गर्ने र त्यसको कार्यान्वयन विभागीय प्रमुखबाट हुनुपर्ने हुँदा फेरबदलको प्रवृत्तिले समग्र विकास प्रभावित हुन्छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थायी सरकार हुनुपर्ने सरोकार भएकाहरु औँल्याउँछन् ।

मन्त्री र विभागीय प्रमुख फेरिँदा पर्यटनसँग सम्बन्धित राष्ट्रिय महत्वका दीर्घकालीन योजना, विकासे गुरुयोजना प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज खरिदसम्म नेतृत्व फेरिँदा असर पुगेको बताइन्छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ राजनीतिक अस्थिरता र सुशासन प्रणालीको स्थायित्व नभएका कारण सरकार मन्त्री फेरबदलले समग्र विकासमा असर पुग्ने बताउँछन् ।

“मन्त्री फेरिए पनि नीति फेरिनु भएन । तर, त्यो हुँदैन,” उनी भन्छन्, “मन्त्री, सचिव फेरिएसँगै नीति कार्यक्रम बदल्दा नीतिगत स्थायित्व हुँदैन । यसले समग्र विकासमा असर पुग्छ ।”

पर्यटन मन्त्रालयको विवरणअनुसार पाँच वर्षमा १२ मन्त्री र एक वर्षमा पाँच मन्त्री फेरिएका छन् । वि.सं. २०७२ देखि २०७३ का अवधिमा पाँच मन्त्री फेरिएका हुन् । सो अवधिमा आनन्द्रप्रसाद पोखरेल, बलबहादुर महत (राज्यमन्त्री), जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ (राज्यमन्त्री), दिलनाथ गिरी पर्यटनमन्त्री बने । सबैभन्दा छोटो अवधि मन्त्री हुनेमा जितेन्द्रनायारण देव हुन् । उनी २०७४ वैशाख २५ गते नियुक्त भई जेठ २४ गतेसम्म झन्डै महिना दिन मन्त्री बने । गिरी २०७३ फागुन २६ गतेदेखि २०७४ वैशाख १९ गतेसम्म पर्यटनमन्त्री बने ।

तीन वर्षमा १० मन्त्री

मन्त्री फेरिँदै एकपछि अर्को कीर्तिमान कायम गर्नेमा पर्यटन मन्त्रालय नै अगाडि छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले आफ्ने तीन वर्षीय अवधिमा १० पर्यटनमन्त्री, ५ सचिव र ६ महानिर्देशक फेरिएको बताए । यो पर्यटनमन्त्री लोकेन्द्र विष्टदेखि पछिल्ला देवसम्मको अवधि हो ।

“नीतिगत निर्णय सरकारले नै गर्ने हो । विभागीय प्रमुख फेरिँदा सबै काम प्रभावित हुन्छ ।” शेर्पा भन्छन्, “पर्यटनको दिगो विकासका लागि स्थायी सरकार हुनुपर्यो । पूर्वाधार तयार गर्ने सरकारको काम हो त्यसमा निजी क्षेत्रले साथ दिने हो ।

पाँच वर्षमा दर्जन मन्त्री

२०६९ देखि २०७३ का अवधिमा १२ पर्यटनमन्त्री बनेका छन् । विष्ट, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, कृपाशुर शेर्पा, पोखरेल, महत (राज्यमन्त्री), शाही, बानियाँ (राज्यमन्त्री), गिरि र देव मन्त्री बने । उनीहरुको अवधि ४ महिनादेखि १ वर्षसम्म रहे ।

पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठको अनुभवमा मन्त्री सचिव फेरिरहँदा संस्थागत संरचनामै असर पुग्ने मात्र नभई समग्र आर्थिक विकासमा घाटा हुन्छ ।

“नेपालको तुलनात्मक लाभका हिसाबले सबैभन्दा महत्वको पर्यटन क्षेत्रमा पर्यटन मन्त्री, सचिव फेरिरहनु भनेको दुर्भाग्य हो ।” श्रेष्ठ भन्छन्, “यसले आर्थिक विकासमा घाटा हुन्छ, नेपालको छविमा समेत असर पुगेको छ ।”

(Visited 150 times, 1 visits today)

टिप्पणी

comments