Main Menu

मेरो युगको राजकुमार सिद्धार्थ

  •   हरिगोविन्द लुइँटेल

 

 

 

 

गाउँमा रोगीहरुलाई देख्छ
टोलमा बृद्धहरुलाई देख्छ
सडकमा लास र मलामीहरुलाई देख्छ
र एक हैन अनेक दिन
मेरो युगको राजकुमार सिद्धार्थ
दुःखी हुन्छ
चिन्तित हुन्छ
विरक्त हुन्छ
र अन्तमा ऊ टुंगोमा पुग्छ
–जीवनको यो रीत ठीक छैन
ऊ निधो गर्छ
–अव जीवनको बाटो नयाँ खोज्नुपर्छ
पुरानोले धानेन
–अव नयाँ धम्मपद लेख्नुपर्छ
–अव नयाँ त्रिपिटक लेख्नुपर्छ ।

उसले सडकमा देखेको रोगी
शरीरको मात्र रोगी थिएन
दृष्टिकोण र चिन्तनको समेत रोगी थियो
टोलमा देखिएको बृद्ध
बिचारको समेत बृद्ध थियो
लास
मान्छेको थिएन
मानवता र पर्यावरणको थियो
तर मलामीहरु आँसुले भिजेका हैन
हाँसोले ढाकिएका थिए ।

त्यसैले सन्दर्भ फरक र जटील छ
यसलाई चिर्ने ठूलो चुनौतिका विरुद्ध
मेरो युगको राजकुमार सिद्धार्थ
जोसिएर अघि बढ्छ, बढ्छ
र झोक्राएर पुनः फर्कन्छ
उत्साहले तात्छ, तात्छ
र दिक्दारीले पुनः सेलाउँछ
ऊ शहरभरि आँखा दौडाउँछ
ज्ञानी मान्छेहरु कलेज, क्लब र चाडबाडहरुमा
तिनै बृद्धता, रोग र मृत्युहरु आपसमा बाँडिरहेको देख्छ
विज्ञानी मान्छेहरु हात हेराउन इन्टरनेटमा
कुनै नामी ज्योतिषको ठेगाना खोजिरहेको भेट्छ
र देख्छ ज्ञानीहरु, विज्ञानीहरु, शहर, गाउँहरु
सवै सवै यथास्थितिमै
खुसी छन्, व्यस्त छन्,
राहुल वा वसुन्धरा मात्र हैन
बस्तीका सारा मानिसहरु सुतिरहेछन्, मस्त छन्
यो देखेर
आ…मलाई मात्रै केको खाँचो बुद्धत्वको ? भावले
मेरो युगको राजकुमार सिद्धार्थको मनलाई घायल पारिरहेको छ
ठूलो तयारी र दरो अठोटको चुनौति तेर्सिरहेको यो बेला
फगत् अलिकति सदिक्षा मात्रै बोकेर भए पनि
अलिकति सपना
र अलिकति महत्वाकांक्षा मात्रै बोकेर भए पनि
मेरो युगको राजकुमार सिद्धार्थ
कयौं रातजस्तै आजको रात पनि
निदाउन नसकेको साँचो हो
छट्पटिएको, हुट्हुटिएको पनि साँचो हो
सुतिरहेका राहुल र वसुन्धरालाई छाडेर
बिरालोको चालले शयनकक्ष बाहिर
बरण्डामा निस्केको पनि साँचो हो
वारी लुम्बिनी छाडेर
पारी बोधगयातिर जाऊँजाऊँ गरेको पनि साँचो हो
महलमा यो कुनादेखि त्यो कुनासम्म
पटकपटक फन्को मारेको पनि साँचो हो ।

र यसपछि,
मेरो युगको राजकुमार सिद्धार्थ
पुनः फर्केर ओछ्यानमा
शिरदेखि पैंतालासम्म
सिरकले ढाकेर सुतेको पनि साँचो हो । 

०००

(यही असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानव्दारा आयोजित यस वर्षको राष्ट्रिय कविता महोत्सवमा अतिथि कविको हैसियतमा वाचित् कविता) 

(Visited 399 times, 1 visits today)

टिप्पणी

comments