Main Menu

अफ्गानिस्तानमा ११ हजार अमेरिकी सेना रहेको पेन्टागनको खुलासा, ४ हजार सेना थप्ने

us-army-afghanistan-11-thousandभदौ १५, वाशिङ्टन । अफ्गानिस्तानमा हाल ११ हजार अमेरिकी सेना तैनाथ रहेको पेन्टागनले जनाएको छ । यो संख्या पछिल्लो पटक आंकलन गरिएको संख्याभन्दा निकै धेरै रहेको बिबिसीले जनाएको छ । पछिल्लोपटक पेन्टागनले अफ्गानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेको आंकलन गरेको थियो ।

अधिकारीहरुका अनुसार अहिलेको आंकलनमा नियमित सेनाका साथसाथै अस्थाई सेनाहरुको संख्या पनि जोडिएको छ ।

तालिबानलाई परास्त गर्न पेन्टागनले अफ्गानिस्तानमा थप ४ हजार सेना पठाउन तयारी गरिरहेको अवस्थामा यो आंकलन बाहिर ल्याइएको हो ।

सेनाको संख्याको आंकलन पारदर्शिता कायम गर्न गरिएको भनिए पनि पेन्टागनले इराक र सिरियामा कतिजना अमेरिकी सेना छन् भन्ने कुरा भने खुलाएको छैन ।

‘यो प्रयास सेनाको संख्या थप गर्नको लागि भएको होइन । यो त रिपोर्टिङ गर्दाका नियमहरुको बारेमा रहेको कन्फ्युजनलाई हटाउन हो,’ अमेरिकी लेफ्टिनेन्ट जेनेरल केलेथ म्याकेन्जीले भने ।

अमेरिकी रक्षा सचिव जिम म्याटिसले यसअघि द्वन्द्व क्षेत्रमा रहेका सेनाहरुको संख्या आंकलन गर्ने विधिप्रति निराशा प्रकट गर्दै आएका थिए । उनले अफ्गानिस्तानमा कति सेना थप गर्ने भन्ने निर्णय त्यहाँ कतिजना सेना छन् भन्ने कुरा यकिन भएपछि मात्र गर्न सकिने बताएका थिए ।

तालिबानले अमेरिकी सेना अफ्गानिस्तानबाट नहटाए अफ्गानिस्तान अमेरिकी सेनाको लागि कब्रस्तान हुने बताएको छ ।

(Visited 115 times, 1 visits today)

टिप्पणी

comments