Main Menu

भिजनरी र कमिटमेन्ट भएको स्वास्थ्यमन्त्री आउनुभएको छ – गगन थापा

साउन १२, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अहिले मुलुकमा अत्यन्त भिजनरी र कमिटमेन्ट भएको स्वास्थ्यमन्त्री आएको बताएका छन् । नेता थापाले उक्त कुरा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा र विशेष अतिथि नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल रहेको एक विशेष कार्यक्रममा आज बताएका हुन् ।

उक्त कार्यक्रम राजधानी काठमाडौंस्थित १ सय २८ वर्ष पुरानो नेपालकै पहिलो अस्पताल वीरअस्पतालको वार्षिक उत्सवको थियो । कार्यक्रममा अतिथिको आसनबाट सम्वोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले थप बताए, “यसअघि मैले जेजे काम अगाडि बढाएँ वास्तवमा ती सबै काम वर्तमान स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले नै सुरु गर्नुभएका कामहरु थिए ।”

यसअघि वार्षिक उत्सव कार्यक्रमलाई उद्घाटन गरेपश्चात प्रमुख अतिथिको आसनबाट बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको संवैधानिक हक भएको बताए । उनले ‘नेपाल सरकारले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हकलाई पूर्ति एवं रक्षा गर्न चाहेको’ कुरा बताए । उनले भने, “गुणस्तरीय उपचारका लागि बिदेशमा जानुपर्ने नेपालीहरुको वाध्यतालाई अन्त्य गरी अब त्यस्तो स्वास्थ्य सेवा नेपालबाटै प्रदान गर्ने काममा सरकार लाग्नेछ ।”

यसै गरी कार्यक्रममा विशेष अतिथि बनेका स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले भने, “नेपालको स्वास्थ्य क्षेत्र बदलिएको विम्व वीरअस्पतालबाट देखिनु पर्दछ । बीरअस्पतालको इतिहासको गाथा गाएर मात्र वर्तमानमा न्याय हुँदैन । त्यसका लागि जनशक्ति, औषधि, चिकित्सा उपकरण, पूर्वाधार र जनताको अपनत्व सँगसँगै विकास गरेर जानुपर्दछ । वीरअस्पतालमा उपचार गर्न आउने जनतालाई कहिल्यै ढोेका बन्द गरिनु हुन्न । अब बिदेशमा होइन, स्वदेशमा नै सबै उपचार गराउन सकिने गरी वीरअस्पताललाई विकास गर्नुपर्दछ ।”

वीरअस्पतालको १ सय २८ औं वार्षिक उत्सव कार्यक्रममा खेलकुदमन्त्री भिमसेनदास प्रधान र पूर्व उद्योगमन्त्री नबिन्द्रराज जोशीले पनि सम्वोधन गरेका थिए ।

 

(Visited 231 times, 1 visits today)

टिप्पणी

comments