Main Menu

जिल्ला जनस्वास्थ्य कार्यालयमा अख्तियारद्वारा छापा

districts-healthpost-raidसाउन १२, राजविराज (सप्तरी) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको एक टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा आज छापा मारी कागजात नियन्त्रणमा लिएको छ । मनोमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकै औषधि जलाइएको समाचार बाहिर आएपछि अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरी कार्यालयका अनुसन्धान अधिकृत विष्णुकुमार फेगुवा लिम्बूको नेतृत्वको टोलीले म्याद बाँकी रहेकै औषधि जलाइएको र सरकारले रोक लगाएको कम्पनीबाट औषधि खरिद गरेको विषयमा जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गर्नुका साथै आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ ।

अनुसन्धान अधिकृत लिम्बूले मनमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकै औषधि जलाइएको सम्बन्धमा अनुसन्धान एंव छानबिनपछि दोषी देखिएमा कारबाही हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले गत शुक्रबार म्याद रहेकै औषधि जलाएका थिए ।

सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्युटिकल्स कम्पनीबाट यहाँको कर्मचारीले गत आवमा औषधि खरिद गरेका थिए । जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरिद गर्नका निम्ति बोलपत्रसमेत गरिसकिएको थियो ।

सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरिद गरेर ठूलो आर्थिक अनियमितता गरिएको अनुमान छ । यता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चौधरीका अनुसार स्टोर किपरले स्टोर सफा गर्दा म्याद गुज्रेको तथा कुहिएको अवस्थामा रहेको औषधि मात्र नष्ट गरिएको दाबी गरे ।

(Visited 128 times, 1 visits today)

टिप्पणी

comments