Main Menu

भूकम्पबारे क्याम्ब्रिजको भविष्यवाणी पूर्ण छ ?

Nepal Earthquake
हालै मात्र अमेरिकाको क्यालिफोर्नियास्थित क्यालिफोर्निया टेक्नोलोजिकल इन्स्टिच्युट, क्याल्टेकका भूगर्भशास्त्री एवं बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर जीन फिलिप एभ्यूआय्कले नेपालमा अझै ठूलो भूकम्पको सम्भावना रहेको कुरा बताएपछि भूकम्प सम्बन्धमा पुनः डरलाग्दो त्रासको मानसिक तरङ्ग फैलिएको छ । गत साउनको २२ गते बिबिसिको अनलाइन सेवा bbc.co.uk मा प्रकाशित समाचार अनुसार भारतीय प्लेटले तिब्बती अर्थात् युरेशियन प्लेटलाई जमिनमुनिबाट प्रतिवर्ष २ सेन्टिमिटरको दरले घचेट्याई रहेकोले निरन्तर ‘विशाल हिमाली दबाव’ अर्थात् Mega Himalayan Thrust, MHT पैदा भइरहने प्राकृतिक प्रक्रिया छ । वैज्ञानिकहरुका अनुसार भारतीय प्लेट र युरेशियन प्लेट जोडिएको ठाउँको जमिनमुनि मुख्य धाँजा, Main fault रहेको छ र त्यही धाँजामा नै निरन्तर विशाल दबाव पैदा भइरहन्छ । त्यही दबावले नै माथिल्लो युरेशियन प्लेटको तीब्बती खण्डलाई प्रतिवर्ष करिब ४८ मिलिमिटर अर्थात् ४.८ सेन्टिमिटर माथि उठाइरहेको भूगर्भविद्हरुको भनाइ छ ।

वैज्ञानिकहरुका अनुसार तल्लो भारतीय प्लेटले दिने विशाल हिमाली दबावको प्रतिक्रिया स्वरुप युरेशिया प्लेटको तिब्बती खण्डले भारतीय प्लेटलाई विपरित दिशाको प्रतिक्रियात्मक दबाव दिएको हुन्छ । ती दुई क्रिया र प्रतिक्रियाको दबावको मात्रा उच्च भएपछि दबाव उच्च तर भूखण्डको गति स्थिर हुन पुग्दछ । यस्तो स्थितिलाई वैज्ञानिकहरु भूखण्डीय क्षेत्र बन्द भएको भन्दछन् । र, त्यस्तो क्षेत्रलाई बन्द क्षेत्र अर्थात् Locked area भनिन्छ । दुई टेक्टोनिक प्लेटहरु जोडिएको मुख्य धाँजामा पैदा हुने यस्तो बन्द क्षेत्रमा अत्यधिक ऊर्जा कैद हुन पुगेको हुन्छ र मुख्य धाँजा फुटेर चर्केपछि नै त्यो कैद ऊर्जा उत्सर्जित हुन पुग्दछ । त्यो उत्सर्जित ऊर्जाले नै शक्तिशाली वा महाभूकम्पको सिर्जना गर्दछ ।

पाकिस्तानदेखि भारत हुँदै नेपाल, भुटान र म्यान्मारसम्म फैलिएको २५ सय किलोमिटर लामो त्यो मुख्य धाँजाको ८ सय किलोमिटर लामो खण्डमाथि नेपाल परेको छ । मुख्य धाँजामा निमार्ण भएको बन्द क्षेत्रमा निरन्तर पर्दै जाने दबावको मात्रा अत्यधिक भएपछि त्यहाँ कैद भएको विशाल मात्राको ऊर्जा उत्सर्जित हुन धाँजा चर्किएर फुट्दछ, जसले शक्तिशाली वा महाभूकम्पको सिर्जना गर्दछ । प्रोफेसर जीन फिलिप एभ्यूआय्कका अनुसार गत वैशाख महिनामा गएका शक्तिशाली भूकम्पहरु नेपाली क्षेत्रमा परेको ८ सय किलोमिटर लामो मुख्य धाँजाको पनि एउटा सानो खण्डमा कैद ऊर्जा मात्र उत्सर्जित भएको छ । भूगर्भविद्हरुका अनुसार विशाल हिमाली दबावमा पर्ने नेपाली भूभागीय क्षेत्र तीन भूखण्डमा बिभाजित छ, पहिलो पूर्वी भूखण्ड, दोश्रो मध्य भूखण्ड र तेश्रो पश्चिमी भूखण्ड । भूगर्भविद्हरुका अनुसार गत वैशाखमा गएका शक्तिशाली भूकम्पहरु मध्य भूखण्डमा पर्ने मुख्य धाँजा चर्किएर फुट्नाले गएका हुन् । अमेरिकी अनुसन्धाता भूगर्भविद्हरुका अनुुसार गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाई गत वैशाख १२ गते गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पको तरङ्ग प्रतिसेकेण्ड २.८ किलोमिटरको गतिमा पूर्वतिरको दिशामा फैलिएको थियो र त्यसले भूखण्डलाई उत्तर–दक्षिणको दिशामा चिप्ल्याइदियो । उनीहरुका अनुसार त्यस शक्तिशाली भूकम्पले लामो समयदेखि जमिनमुनि कैद ऊर्जालाई बन्द धाँजाको क्षेत्रलाई चिरा पारी उत्सर्जित गर्यो । तर, प्रोफेसर जीन फिलिप एभ्यूआय्कका अनुसार बारपाकलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पले हिमालयको सबै क्षेत्रको जमिनमुनि चट्टानलाई फुटाएको नभई केबल सानो खण्डलाई मात्र फुटाएको हो । उनका अनुसार नेपालको पश्चिमी खण्डमा लामो समयदेखि बन्द क्षेत्र निर्माण भइरहेछ । अर्थात्, त्यहाँको जमिनमुनि अत्यधिक ऊर्जा जम्मा भइरहेको छ । प्रोफेसर एभ्यूआय्कका अनुसार नेपालको पश्चिमी क्षेत्रमा सन् १५०५ मा सम्भवतः ८.५ म्याग्निच्युडभन्दा ठूलो भूकम्प गएदेखि अहिलेसम्म अर्को ठूलो भूकम्प गएको छैन, जसले त्यहाँको जमिनमुनि बन्द भएको मुख्य धाँजाको क्षेत्रलाई खुलाओस् । त्यसकारण प्रोफेसर एभ्यूआय्कका अनुसार बारपाकलाई केन्द्रबिन्दु बनाई गएको शक्तिशाली भूकम्पले विशाल हिमाली दबाव धाँजामा निर्माण भएको बन्द क्षेत्रलाई खुलाए पनि त्यो सानो भाग मात्रै हो र अझै त्यस्तो बन्द क्षेत्र बाँकी छ, जसले ठूला भूकम्पहरु सिर्जना गर्न सक्दछ । उनले त्यो बाँकी बन्द क्षेत्र नेपालको पश्चिमी भूखण्ड भएको बताएका छन् । त्यो क्षेत्रमा ठूलो भूकम्प गएमा त्यसले नेपाली भूभाग मात्र नभई नेपालको पश्चिमतिर फैलिँदै गई भारतको नयाँ दिल्लीसम्म नै ठूलो क्षति गर्ने उनी बताउँदछन् । तर, उनी के भन्दछन् भने त्यस्तो समय कहिले आउँछ भन्ने कुरो हामी भन्न सक्दैनौं ।

प्रोफेसर जीन फिलिप एभ्यूआय्क विगत २० वर्षदेखि नेपालमा आई नेपाल सरकारको ‘खानी तथा भूगर्भ विभाग’ सँगको सहकार्यमा नेपाली भूखण्ड र यहाँ हुने भूकम्पसम्बन्धी घटनाहरुको अध्ययन गरिरहेका वैज्ञानिक हुन् । अध्ययनको क्रममा उनले नेपालका बिभिन्न ठाउँहरुमा जिपिएस नाप्ने उपकरणहरु जडान गरेका छन् । जिपिएस उपकरणले भूउपग्रहको सहायतामा जमिनको वास्तविक स्थिति अर्थात् त्यसको हिजोको र आजको स्थितिमा आएको परिवर्तनलाई नाप्ने गर्दछ । जिपिएस नाप अनुसार नै वैज्ञानिकहरुले टेक्टोनिक प्लेट अथवा भूखण्डहरु कति समय अन्तरालमा कति अगाडि सरे भन्ने कुरा पत्ता लगाउँदछन् । त्यस्तै त्यसको नापको आधारमा नै जमिनको उचाइमा के कति परिवर्तन आयो भन्ने कुरा पनि पत्ता लगाइन्छ ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, क्याल्टेकका अर्का वैज्ञानिक जीन पाउल आम्प्यूरोका अनुसार गत वैशाखमा गएका भूकम्पहरुले जमिनको सतहसम्म चिरा नपार्नु अचम्म भएको छ । किनकि, यही क्षेत्रमा गएको वि.सं.१९९० को महाभूकम्पमा जमिनमाथिसम्म धाँजा फाटेको थियो । प्रोफेसर आम्प्यूरो र प्रोफेसर एभ्यूआय्कले नेपालमा गएको भूकम्पको प्रकृतिलाई बुझ्न satellite Synthetic Aperture Radar data उपकरण तथा Back projection तरिका अपनाएका थिए । र, उनीहरुले के नतिजा पाए भने गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा जमिनमुनि १५ किलोमिटर तल फाटेको धाँजाको तल्लो खण्डमा नै उच्च आवृत्तिका तरङ्गहरु केन्द्रित हुन पुगेका थिए । ती उच्च आवृत्तिका तरङ्गहरु माथिसम्म नआउनाले नै सतह माथिको जमिनमा धाँजा फाटेन र सोचिएको भन्दा कम मात्र क्षति हुन पुग्यो, जुन सकारात्मक कुरो रह्यो । यदि ती उच्च आवृत्तिका तरङ्गहरु सतहमाथिसम्म आइपुगेको भए अकल्पनीय क्षति हुने कुरा प्रोफेसर आम्प्यूरो भन्छन् ।

Science Express नामक विज्ञान जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख भए अनुसार गत वैशाखमा गएको शक्तिशाली भूकम्पले त्योसँग जोडिएर रहेको मुख्य धाँजामा बन्द भएर रहेको क्षेत्रमा थप दबाव पर्न गएको छ । वैज्ञानिकहरुले त्यो दबाव नेपालको पश्चिमी खण्डमा रहेको संकेत गरेका छन् । तर, उनीहरुका अनुसार त्यो थप दबावले कहिले भूकम्प सिर्जना गर्दछ भन्ने कुरा स्पष्ट छैन, अर्थात् त्यसको तिथिमिति भन्न सकिने कुरा हुँदैन । अर्को, उनीहरुका अनुसार यस्तो पनि हुन सक्दछ कि दबावमा परेको त्यो खण्ड दुई टेक्टोनिक प्लेटहरु विस्तारै एक अर्कामा छुट्टिँदै जाने गरी एकअर्काको विपरित दिशामा जाने क्रममा दबाव शिथिल हुँदै जाने र भूकम्पको सम्भावना टर्दै जाने । अहिले नै यस्तै हुन्छ भनी भविष्यको कुरो भन्न गाह्रो भएको कुरा अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँदछन् ।
निरन्तर विशाल हिमाली दबावलाई अध्ययन गरिहेको प्रोफेसर जीन फिलिप एभ्यूआय्कको वैज्ञानिक टोलीका अनुसार कहिले भूकम्प जान्छ भन्ने कुरा ठीकठीक तिथिमितिमा भन्नु असम्भव छ । प्रोफेसर एभ्यूआय्क भन्छन्, ‘हामी मानिसहरुलाई तर्साउन चाहन्नौं, तर यो कुरो महत्वपूर्ण छ कि जमिनमुनि धेरै ऊर्जा संकलित भइबसेको जमिनमाथि बसिरहेको यथार्थलाई हेक्का राख्ने सवालमा उनीहरु चनाखो हुनुपर्दछ ।’

प्रोफेसर एभ्यूआय्कको वैज्ञानिक टोलीका अनुसार नेपालको पश्चिम क्षेत्रमा विगत ५ सय वर्षदेखि जमिनमुनिको मुख्य धाँजामा अत्यधिक ऊर्जा संकलित भई बन्द क्षेत्र निर्माण भइरहेकोले त्यहाँ ठूला भूकम्प जाने सम्भावना कायम रहेको र गत वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाई गएको शक्तिशाली भूकम्पले पनि त्यस क्षेत्रमा थप दबाव पैदा गरेको भए पनि भूकम्प अहिले नै जान्छ, भोली नै जान्छ वा कुनै तिथिमितिमा जान्छ भन्न सकिने कुरो होइन । त्यस्तै गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको भोलिपल्ट वैशाख १३ गते अमेरिकी भूगर्भ अध्ययन USGS ले प्रकाशित गरेको विज्ञप्तिअनुसार भूकम्पको भविष्यवाणी असम्भव छ । उक्त विज्ञप्तिमा वैज्ञानिकहरुले अर्को भूकम्प कहिले जान्छ भनी ठोकुवा गर्न नसक्ने उल्लेख छ । तर, सम्भवनाको कुरो भने भन्न सकिने वैज्ञानिकहरु बताउँदछन् । नेपालको पश्चिमी क्षेत्रमा ठूला भूकम्पको सम्भावना सयौं वर्षदेखि रहँदै आएको छ । तर, त्यो कहिले जान्छ भन्ने कुरा कसैले पनि भन्न नसक्ने कुरा वैज्ञानिकहरु बताउँदछन् । अहिले क्याम्ब्रिज विश्वविद्यालय तथा क्याल्टेकका वैज्ञानिकहरुले जुन सम्भावनाका कुरा गरेका छन्, त्यो गलत होइन । तर, उनीहरुले अहिले नै, भोलि नै वा कुनै तिथिमिति तोकेर भूकम्प आउने कुरा गरेका छैनन्, जुन उनीहरु गर्न पनि सक्दैनन् । त्यसैले भर्खरै क्याम्ब्रिजका वैज्ञानिकहरुले नेपालको पश्चिमी क्षेत्रमा ठूला भूकम्प तत्कालै जाँदैछ भनी भविष्यवाणी गरे भनी बजारमा हल्ला चलेको समाचारमा कुनै सत्यता छैन । त्यस्ता समाचारबाट कोही पनि आत्तिनु जरुरी छैन । तर, सतर्कता अपनाउनु भने नितान्त जरुरी छ । किनकि, ठूला भूकम्प अर्को सय वर्षपछि पनि नआउन सक्छ, भोलि वा अहिले नै पनि आउन सक्छ । कुनै न कुनै बेला ठूला भूकम्प आउने भने निश्चित नै छ । त्यसैले अहिलेदेखि नै ठूला भूकम्पबाट जोगिने उपायहरु अबलम्बन गर्नु बुद्धिमानी हुन्छ न कि आत्तिएर बस्नु ।

(Visited 248 times, 1 visits today)

टिप्पणी

comments