Main Menu

पत्रकारको उपचारमा महासंघले जुटायो साढे छ लाख

साउन १२, बागलुङ

‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित पत्रकार विजय रानाको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले रु छ लाख ५० हजार संकलन गरेको छ । शाखाले एक महिना अघिदेखि थालेको ‘विजय राना उपचार सहयोग अभियान’ बाट उक्त रकम उठेको हो ।

संकलित रकम शाखाका अध्यक्ष दिल शिरीषसहितको टोलीले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत् रानालाई प्रदान गरेको छ ।

सो शाखाका कोषाध्यक्षसमेत रहनुभएका २९ वर्षीय रानाको उपचारमा आर्थिक अभाव भएपछि उहाँका शुभेच्छुकहरूले ‘पत्रकार विजय राना बचाउ अभियान’ चलाएका छन् । देश–विदेशमा सञ्चालित अभियानबाट रु १० लाखभन्दा बढी संकलन भइसकेको जनाइएको छ ।

रानाको उपचारमा हालसम्म रु १७ लाख खर्च भइसकेको र थप रु १० लाख खर्च लाग्ने अस्पताल स्रोतले जनाएको छ । रानाको पत्रकारिताबाहेक अन्य कुनै आम्दानीको स्रोत नभएको र परिवारको अवस्था कमजोर भएकाले सहयोग अभियान चलाउनुपरेको शाखाले जनाएको छ ।

अभियानको शुरुमा शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको थियो ।

प्रगतिशील पत्रकार संघ, नेपाल मगर विद्यार्थी संघलगायतका संस्था र भारत, हङकङ, जापानलगायतका देशमा आर्थिक संकलन अभियान चलाइएको छ । हङकङमा संकलित रु एक लाख ५० हजार रानालाई हस्तान्तरण गरिएको अभियानकर्मी टीका रानाले जानकारी दिनुभयो ।

“एउटा पत्रकारको जीवनरक्षा गर्नु हाम्रो दायित्व हो ।” नेपाल पत्रकार महासंघ बागलुङ शाखाले उपचारमा थप रकम चाहिने भएपछि दोस्रो चरणको सहयोग अभियान शुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् पनि सहयोग जुटाउन पहल भइरहेको छ ।

धेरै कम मानिसमा देखापर्ने ‘ए–प्लाष्टिक एनेमिया’ (शरीरले रगत उत्पादन नगर्ने) रोगबाट ग्रसित रानाको अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले उपचार गरिरहनुभएको छ । राना बागलुङबाट प्रकाशित हुने परिसूचन साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

(Visited 78 times, 1 visits today)

टिप्पणी

comments