Main Menu

गोठ छोएको आरोपमा दलितलाई २ हजार जरिवाना

असार १०, बाजुरा । जिल्लाको छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी गोठ छोएको निहुँमा एक दलितलाई २ हजार रकम जरिवाना तिराइएको छ ।

शुक्रबार दिउँसो नेकपा (एमाले)को प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी गोठ अर्थात छाना छोएकामा प्रेम बहादुर विकले गाली खानुपर्यो । अब देउता मान्नुपर्ने भन्दै विकलाई रु. २ हजार जरिवानासमेत तिराइएको स्थानीय वीरबहादुर रावलले बताए ।

विक नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलसँग प्रचारमा हिँडेका थिए । छानाको बाटो भएर करिव २० मिटर टाढा हिँड्दा सिंहले ‘मेरो छाना किन छोइस् ? अब देउता रिसाउछन् पुज्नु पर्यो’ भनेर गाली गरेको पीडित विकले बताए ।

“विकसँग पैसा थिएन, त्यही भएर मैले आफैं पैसा तिरिदिएको हुँ । पैसा नतिरे उनलाई नछोड्ने भए ।” वडा अध्यक्षका उम्मेदवार रावलले भने ।

विकले आफूमाथि भएको जातीय विभेदको घटनाबारे जिल्ला दलित विकास मञ्चमा जानकारी दिएको शङ्कर चदाराले बताए । मञ्चले प्रेस विज्ञप्तिमार्फत खेद व्यक्त गर्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

(Visited 120 times, 1 visits today)

टिप्पणी

comments