Main Menu

शिक्षण अस्पतालमा ३५ केजिको पाठेघर ट्युमरको जटिल शल्यक्रिया सफल

  • आकाश महर्जन/प्रतिभा सुवेदी

35-kg-tumor-successful-surgeryअसार २५, काठमाडौँ । शिक्षण अस्पतालले मुलुकमै पहिलोपटक पाठेघरको ३५ केजि ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पूर्व विभागीय प्रमुख समेत रहेकी प्रा. डा. आश्मा राणाले गत शुक्रबार एक विज्ञप्ति जारी गरी ४६ वर्षीय दिलमाया सार्कीको ३५ केजिको ट्युमरको शल्यक्रिया सफल भएको जानकारी गराएकी थिइन् ।

विगत ६ वर्षदेखि पेट फुल्ने र दिशा–पिसाब गर्न गाह्रो हुने समस्याबाट पीडित सार्कीको गत असार ६ गते शल्यक्रिया गरिएको थियो । विगत १ वर्षदेखि पेट धेरै फुल्न थालेको र ६/७ महिनाअघि देखि त हिँड्दुल गर्न र खाना खान समेत नसक्ने अवस्थामा पुगेपछि उनलाई गत असार २ गते अस्पतालको स्त्री तथा प्रशुती विभागको बहिरङ्ग सेवामा भर्ना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रा.डा. राणको नेतृत्वमा स्त्री तथा प्रशुती विभागकी प्रा. डा. गीता गुरुङ, डा. सुमना मास्के, जी. आइ. सर्जरी विभागका डा. विकल घिमिरे, प्लास्टिक सर्जरी विभागका डा. कृष्ण मानन्धर तथा एनेस्थेसिया विभागका विभागीय प्रमुख डा. अनिल श्रेष्ठ र डा. अमित भट्टराईलगायत जम्मा २४ जना चिकित्सकहरुको संलग्नतामा ६ घण्टा लामो प्रयासपछि सार्कीको जटिल शल्यक्रिया सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

शल्यक्रियापछि विरामीलाई २४ घण्टासम्म कृत्रिम श्वासप्रश्वास (Ventilator) को सहायतामा र २ दिनसम्म रक्तचाप बढाउने औषधी (Inotropes) को सहायतामा सघन उपचार कक्ष (ICU) मा राखेर उपचार गरिएको थियो । शल्यक्रिया सफल भएपछिको १५ औँ दिनमा टाँका निकाली १६ औँ दिनमा विरामीलाई सकुशल डिस्चार्ज गरिएको प्रा. डा. राणा बताउँछिन् ।

‘मासु जाँच गराउँदा Leiomyoma भनिने पाठेघरको मांशपेशीको सामान्य ट्युमर देखिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘पाठेघरको छेउछाउका तन्तु (Broad ligament) बाट पलाएको यति ठूलो ट्युमरको सफल शल्यक्रिया भएको नेपालमै पहिलोपटक हो र विश्वमा नै सम्भवतः पहिलो हुनसक्छ ।’

विरामी दिलमाया कार्कीको आर्थिक अवस्था कमजोर भएको कारण त्रि.वि. शिक्षण अस्पतालले उनको उपचार निःशुल्क गरिदिएको प्रा.डा. राणा बताउँछिन् ।

(Visited 152 times, 1 visits today)

टिप्पणी

comments