Main Menu

हामी जनपक्षीय कार्यक्रमलाई नै प्राथमिकतामा राख्छौं – अर्जुन कक्षपति [अन्तर्वार्ता]

(संघीयता र स्वायत्त स्थानीय तह माओवादी एजेण्डा हुन् । जनयुद्ध र ०६२/६३ को जनआन्दोलनले उठाएको एउटा प्रमुख एजेण्डा राज्यलाई पहिचान सहितको संघात्मक संरचनामा लैजानु थियो । र, संविधानले अहिले संघीयता अन्तर्गत स्थानीय तहहरुको सिर्जना गरेको छ भने सो अनुरुप अहिले दुई चरणको निर्वाचन पनि सम्पन्न भइसकेको छ । तर, आफ्नै एजेण्डामा संरचित स्थानीय तहको निर्वाचनमा अहिलेसम्म माओवादीले ११ प्रतिशतभन्दा बढी सिट जित्न सकेको छैन । अहिले बाँकी भनेको तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत २ नं. प्रदेशमा मात्र चुनाव हुन बाँकी छ । अहिलेसम्म थोरै सङख्यामा माओवादीले बिजय प्राप्त गरेका स्थानीय तहहरुमध्ये प्यूठान नगरपालिका एक हो । संघीय संरचनाअन्तर्गत स्थानीय स्वायत्त शासन संचानलन गर्ने आफ्नो अभिष्ट अनुसार मेयर बनेका प्यूठान नगरपालिकाका मेयर अर्जुन कक्षपति अहिले के गर्दैछन् ? के योजना बनाउँदैछन् ? र, के सोच्दैछन् ? यसबारे मूल्याङ्कन अनलाइनका लागि पत्रकार कमल गिरीले मेयर अर्जुन कक्षपतिसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

arjun-kakshyapati-interviewमूल्याङ्कन – माओवादी केन्द्रबाट उम्मेदवार बनी चुनाव त जित्नुभयो, खासमा अहिले कस्तो योजना बनाउँदै हुनुहुन्छ ?

कक्षपति – हामीले प्रत्येक वडामा बाटोघाटोको व्यवस्था गर्ने योजना बनाउँदैछौं । त्यस्तै गरी निश्चित कृषि पकड क्षेत्र निर्माण गरेर १० वटै वडामा मोडेल कामहरु गर्ने र प्रत्येक वडामा लघु उद्योगहरु स्थापना गरी नमुना उद्योग संचालन गर्ने कार्यक्रम बनाएका छौं ।

मूल्याङ्कन – बाटो र कृषि क्षेत्रका लागि कतिकति रकम छुट्याउनु भएको छ ? तपाईंले बाटोलाई २५–२५ भन्नुभयो, कृषिलाई कसरी छुट्याउनुभयो रकम ?

कक्षपति – हामीले बाटोका लागि प्रत्येक वडामा २५÷२५ लाख र कृषि क्षेत्रको विकासका लागि चाहिँ ५–५ लाख रुपैयाँ छुट्याएका छौं । यी रकमहरुबाट कृषि पकड क्षेत्र पनि बनाउन सकिने भयो र प्रत्येक वडामा मोडेल कामहरु पनि गर्न सकिने भयो । त्यस्तै गरी गरीब र पिछडिएको समुदायका लागि जनता आवासको कार्यक्रम अन्तर्गत प्रत्येक वडामा ५–५ रकम लाख छुट्याउने काम भएको छ ।

मूल्याङ्कन – त्योभित्र के पर्छ ?

कक्षपति – गरीबहरु जो झुपडीमा बसिरहेका छन्, उनीहरुको लागि घरहरु बनाइदिने कार्यक्रम त्यसभित्र पर्दछ ।

मूल्याङ्कन – Individual व्यक्तिहरुलाई ?

कक्षपति – हो, Individual व्यक्तिहरुलाई । जसको रोजगार पनि छैन, जहाँ बुढाबुढी, असाहय, बृद्धहरु बसेका छन्, खरको छानो लगाएर एउटा फोहोरको डुङग्रो जस्तोमा बस्याछन् मान्छेहरु भने तिनीहरुका लागि कुनै पनि किसिमले आवासको व्यवस्था गरिदिने नगरपालिकाको दायित्व हो । त्यो काम हामी गर्दैछौं । त्यस्तै अन्य मोडेल कामहरुमा नदी तथा सहायक नदीहरुमा तटबन्ध निर्माण गर्ने पर्न आउँछ । त्यसको लागि पनि विशेष योजना बनाई अगाडि बढ्ने भन्ने कार्यक्रम रहेको छ । हामीले धेरैजसो कार्यक्रमहरु अलिकति चाँडै नतिजा देखाउने खालको छनौट गरेका छौं । त्यस्ता कामहरुमा नै हामी फोकस गर्दैछौँ ।

अर्को कुरो, हामीले ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ध्यान केन्द्रित गर्दैछौं । त्यस कार्यक्रम अन्तर्गत हामीले वर्षको एकचोटि ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा चेकअप एवं शल्यक्रिया गर्ने योजना बनाएका छौं । स्वास्थ्य क्षेत्रमा चाहिँ यो काम गर्दैछौँ ।

त्यस्तै गरी नगरपालिकाको ५ वर्षे रणनीतिक योजना बनाएर अगाडि बढ्ने पनि हामीले योजना बनाएका छौं । अर्को महत्वपूर्ण कुरो भनेको नगरपालिका भरि नै नापी–नक्सा गरेर सार्वजनिक जग्गाहरु सबै छुट्याउने र संरक्षण पनि गर्नका लागि हामीले प्रत्येक वडामा १-१ लाख रकम विनियोजन गरेका छौं । यसरी हामीले सबै क्षेत्रमा जनमुखी कार्यक्रमलाई नै प्राथमिकता दिएर अगाडि बढ्ने योजना प्रस्तुत गरेका छौं ।

(Visited 218 times, 1 visits today)

टिप्पणी

comments