Main Menu

क्यालिफोर्निया डढेलो – मृत्यु हुनेको संख्या ४० पुग्यो, आगो अझै नियन्त्रणबाहिर

असोज २९, क्यालिफोर्निया

california-fire-death-toll-40क्यालिफोर्नियामा लागेको डढेलोका कारण मर्नेहरुको संख्या ४० पुगेको छ भने सयौँ मानिसहरु अझै हराइरहेका छन् ।

डढेलो सुरु भएको ६ दिनपछि पनि आगो अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । १६ स्थानमा बाँकी डढेलो नियन्त्रणका लागि १० हजार वारुण नियन्त्रकहरुले संघर्ष गरिरहेका छन् ।

क्यालिफोर्नियाका गर्भनर जेरी ब्राउनले डढेलोलाई ‘सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन् ।

डढेलो कसरी सुरु भएको थियो भन्ने कुरा यकीनका साथ अझै थाहा भइसकेको छैन । यद्यपि सुख्खा तेज हावा र वायुमण्डलको उच्च तापक्रमका कारण तीव्र गतिमा फैलिएको आगोका कारण लाखौँ मानिसहरुले आफ्नो वासस्थान छोड्नुपरेको छ ।

सबैभन्दा बढी क्षति पुगेको सान्टा रोजा शहरमा शनिबार मात्रै ३ हजार जना स्थानीयलाई अन्यत्र सारिएको थियो ।

‘आगोले अविश्वसनीय रुपमा क्षति पुर्याएको छ,’ गर्भनर ब्राउनले भने, ‘कसैले यति ठूलो विपद् आउला भनेर सोचेकै थिएन ।’

क्यालिफोर्नियाको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको बताइएको छ । १ लाखभन्दा बढी स्थानीयलाई अन्यत्र सारिसकिएको छ भने बस्तीका बस्ती खरानीमा परिणत भएका छन् ।

वारुण नियन्त्रकहरुले शुक्रबार डढेलोलाई केही नियन्त्रणमा लिने प्रयास गरेका थिए । आगो सल्किएको क्षेत्रबाट दक्षिणमा पर्ने क्षेत्रका केही सुख्खा बोटविरुवा तथा ज्वनशील पदार्थहरु नष्ट गरिएको थियो । तर शनिवार थप सुख्खा तेज हावा आएपछि डढेलो झन् सल्किएको थियो ।

विशाल डढेलोका कारण ८० किलोमिटर टाढाको सान फ्रान्सिकोको आकाशसम्म पनि धुवाँ तथा खरानी फैलिएको बिबिसीले जनाएको छ ।

नापा उपत्यकामा रहेका कम्तीमा १३ वाइन उद्योग पूर्ण रुपमा नष्ट भइसकेको र करोडौँ डलर बराबरको नोक्सानी भइसकेको वाइन उत्पादकहरुले बताएका छन् ।

(Visited 132 times, 1 visits today)

टिप्पणी

comments