Main Menu

संविधान संशोधन प्रक्रियामा सहयोग गर्न काँग्रेसको अपिल

 

congress-appeal-help-constitution-amendसाउन १०, काठमाडौँ । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयकको संशोधन प्रक्रियामा सहयोग गर्न प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई अपिल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा हिजो सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संशोधन विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको हो ।

संसद्मा विचाराधीन संविधान संशोधन विधेयक पूर्वसहमति अनुरुप पेश गरी पारित गर्न पार्टी तयार रहेको जनाउँदै बैठकले नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न काँग्रेस प्रतिबद्ध रहेको र ती सहमतिअनुरुप कार्य गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले सहमति अनुरुप कार्य गर्न सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक अभिभारा पनि काँग्रेसको काँधमा रहेको निष्कर्ष निकाल्दै बैठकले आगामी माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी सफलताका साथ पूरा गर्ने अभियानको नेतृत्व लिन काँग्रेसले दृढ सङ्कल्प पनि गरेको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन सम्पन्न गर्न कानूनी व्यवस्था र शान्ति सुरक्षालगायतका सबै आवश्यक प्रबन्ध गर्न तथा राजनीतिक वातावरण बनाउन सरकारलाई अनुरोध गर्दछ ।”

संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समय सीमाभित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचन गर्नु राष्ट्रिय एजेण्डा भएको पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न हुनु संविधानको कार्यान्वयनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण कार्य भएको छ । यस ऐतिहासिक कार्यको काँग्रेसले नेतृत्व गर्न सफल भएकोमा गर्व गर्दछ ।”

पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन पनि गरेको छ ।

नेपाली जनताले उत्साहपूर्वक भाग लिएको यो निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, निर्वाचन आयोग, पत्रकार, राष्ट्र सेवक कर्मचारी, सबै सुरक्षा निकाय, प्राध्यापक, शिक्षक, वकिल, पर्यवेक्षकलगायत आममतदाता सबैमा पनि नेपाली काँग्रेसले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

उम्मेदवारी चयनमा ढिलाइ हुनु, आन्तरिक द्वन्द्व, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीकै साथीबाट असहयोग र अन्तरघात भएका कारण स्थानीय तहको दुई चरणको निर्वाचनमा आशा गरेअनुसारको पार्टीले परिणाम प्राप्त गर्न नसकेको ठहर पनि बैठकले गरेको छ ।

लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त सबैको जितलाई उच्च सम्मान एवं मतदाताले काँग्रेसलाई दिएको प्रत्येक मतप्रति बैठकले आभार व्यक्त गर्दै निर्वाचनमार्फत् व्यक्त जनमतको कदर गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमी कमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तरघात गर्ने पार्टी सदस्यलाई पार्टीको विधान र नियमावलीबमोजिम आवश्यक कारवाहीका लागि आन्तरिक प्रक्रिया प्रारम्भ गर्ने पनि काँग्रेसले निर्णय गरेको छ ।

बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते काठमाडौँमा सम्पन्न प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासी, नगर सभापति समेतका नेताको भेलाले निकालेको निष्कर्षलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसले पार्टीलाई अग्रता दिलाउन प्रदेश नं २ का पार्टीका सबै निकाय, भ्रातृ संस्था, शुभेच्छुक संस्थासहित पार्टीका सबै सदस्यलाई परिचालन गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सदैव समृद्ध मधेस र अधिकार सम्पन्न मधेसी जनताको पक्षमा रही काम गर्दै आएको र तराई–मधेसका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्पित रहेको तथ्यलाई मध्यनजर गर्दै नेपाली काँग्रेसका पक्षमा मतदान गर्न सबै मतदातामा हार्दिक अपिल गर्ने निर्णय गर्दछ ।”

यस्तै बैठकले हालै सप्तरी, कास्की, सिन्धुपाल्चोकलगायत देशका विभिन्न भू–भागमा गएका बाढी पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितलाई उचित राहत, क्षतिपूर्ति तथा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकले न्यून वर्षाका कारण सुख्खा भई देशका विभिन्न भू–भागका खेतीयोग्य जमीनमा धान खेतीलगायत अन्य कृषिबाली लगाउन नपाएका किसानलाई उचित राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले आमनगारिकका जनजीविकाका सवाल र नेपालीले भोग्नु परेको विविध समस्याप्रति अत्यन्त संवेदनशील भई जनताका हक हितमा कार्य गर्न तथा विकास निर्माणका कार्य द्रुत गतिमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले देशका विभिन्न जिल्लामा हालसालै घटेका महिला तथा बालबालिकाप्रतिको लैङ्गिक हिंसा एंव अमानवीय घटनाको निन्दा गर्दै त्यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउन सकारसँग माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै बैठकले उनको कार्यकालको पूर्ण सफलताको कामना पनि गरेको छ । उनलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न सहयोग गर्ने व्यवस्थापिका–संसद्भित्र रहेका सबै राजनीतिक दललाई बैठकले धन्यवाद व्यक्त गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनको प्रक्रियामा मुलुकका सबै राजनीतिक दलहरु आउनु भनेको लोकतान्त्रिक मूल्य मान्यता र संघीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको बताए ।

काँग्रेसको सिद्धान्त र दर्शनमा सबै राजनीतिक दलहरु आउँदा प्रजातन्त्रको मूल्य मान्यतालाई बल पुगेको कुरा उनले बताएको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिए ।

पार्टी युवालगायत सबै पंक्तिलाई समेटेर लैजान आफू दृढ रहेको बताउँदै सभापति देउवाले आलोपालो गरेर भए पनि सबैलाई अवसर प्रदान गर्ने विश्वास दिलाए ।

स्थानीय तहको पहिलो र दोस्रो चरणमा निर्वाचनको समीक्षा, प्रदेश नं २ को निर्वाचनको तयारी एवं समसामयिक विषयमा केन्द्रित तीन दिनसम्म चलेको उक्त बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महासचिव डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा र दीलेन्द्रप्रसाद बडूलगायत नेताले आ-आफ्नो धारणा राखेका थिए ।

त्यस्तै बैठकले काँग्रेसका नेता एवं पूर्वमन्त्री मार्शल जुलुम शाक्य, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री शिव भुर्तेल, सिन्धुलीका पूर्वमहासमिति सदस्य शोभा कोइराला, काँग्रेस कास्कीका उपसभापति हरिप्रसाद आचार्य, खोटाङका महाधिवेशन प्रतिनिधि अटलेश्वर राई र सिरहाका पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा उनहरुले पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

(Visited 98 times, 1 visits today)

टिप्पणी

comments